धेरै वर्षपछि आज
एउटा पुरानो सुटकेसबाट
फुकाउँदैछु
लेख्दै लुकाउँदै गरेका आधा अधुरा प्रेमपत्रहरु।
पत्रहरु पल्टाउँदै जाँदा
मेरो दिमागमा दुईवटा प्रश्नहरु नचिरहेका छन्
प्रश्न १: यी पत्रहरुलाई मैले किन लुकाएँ?
प्रश्न २: यी पत्रहरु किन आधा अधुरा छन्?
कारणहरु धेरै हुन सक्छन्
तर म अब खोतल्न चाहान्न
यी पत्रहरु आधा नै रहे
र कहिल्यै पूरा हुने छैनन्
सत्य यही हो
यिनीहरु सधैँ यही सुटकेसभित्र थन्किने छन्।
अब कल्पेर के फाइदा?
यी पत्रहरु पूरा भैदिएको भए?
यिनीहरु जहाँ पुग्नु पर्ने हो, त्यहाँ पुगिदिएको भए?
कतै केरिएका, कतै रगतको दाग लागेका
यी पत्रहरु
कुनै दिन
चढेर जानेछन्
थोत्रो सुटकेस सँगसँगै
सिठ्ठी बजाउँदै आउने फोहरको गाडीमा
यिनीहरुको भविष्य
अब जल्नुमात्र हो।
फोहर जलाउने कुनै व्यक्तिले
पक्कै सुटकेस खोली हेर्ला
भित्र यी चिठीहरु देखेर
दुई/चार लाइन पढिहेर्ला
र हाँस्ला मेरा अधुरै रहेका प्रेमहरुमाथि
र खिसीटिउरीमा जलाइदेला मेरो प्रेमको दस्तावेज
वा सम्झेला आफ्नै अधुरो प्रेमकाहानी
र निराशामा जलाइदेला मेरा निराश आशाहरु।
होइन होइन...
यी पत्रहरुको भविष्य यस्तो हुनु हुँदैन
कुनै अन्जान ठाउँमा
कुनै अन्जान व्यक्तिको हातबाट
दागबत्ती पाए भने
मेरा शब्दहरु भड्किनेछन, रुमल्लिने छन्।
त्यसैले अब
मेरा यी आधा अधुरा प्रेमपत्रहरुको दाहसंस्कार
स्वयं मैले नै गर्नुपर्ने छ।
यिनीहरुलाई मैले नै मुक्ति दिनुपर्ने छ।