ख्याल गर्नुहोस् है जनता!
राजनीति गर्नेहरू हात्तीहरू हुन्
देखाउँछन् एउटा, चपाउँछन् अर्कैले
अनि तपाईं हामीले नपत्याउञ्जेलसम्म
कसैले थाहा पाएकै छैन झैं
चपाइरहछन् .. चपाइरहन्छन् !
ख्याल गर्नुहोस् है जनता!
राजनीति गर्नेहरू जुकाहरू हुन्
चुस्छन् चुस्छन् र अझै चुस्छन्
रगत आउन नछोडुञ्जेल
देश खोक्रो नहुञ्जेल
पुस्तौं पुस्तालाइ पुग्ने गरेर
नघाउञ्जेल उसैगरी चुसिरहन्छन्
ख्याल गर्नुहोस् है जनता!
राजनीति गर्नेहरू छेपाराहरू हुन्
आ-आफ्ना स्वार्थ बटुलेर
कहिले सत्तामा हुँदा त
कहिले प्रतिपक्षी हुँदा
कसैले सदन तताउँछन्
त कसैले सडक तताउँछन्
र, परिस्थिति पढेर
कुर्सीकै लागि
बारम्बार रूप फेरिरहन्छन्
बारम्बार रंग फेरिरहन्छन्
ख्याल गर्नुहोस् है जनता!
राजनीति गर्नेहरू
सिकारमा निस्केका चिलहरू हुन्
आफूलाई अनुकूल नभए
सिकार आफ्नो पोल्टामा नपरे
लडिरहन्छन् भिडिरहन्छन्
र, जमिनमा हार्नेजस्तो भए
आकाशमा जान्छन्
आकाशमा असुरक्षित भए
जमिनमा ओर्लिन्छन्
तर, सिकार गरेरै छाड्छन्
ढिलो चाँडो सिध्याएरै छाड्छन्
ख्याल गर्नुहोस् है जनता!
राजनीति गर्नेहरू स्वार्थीहरू हुन्
तपाईंलाई त्यसै मेवा दिँदैनन्
स्वार्थबिना
ऊनीहरू सेवा दिँदैनन्!!