बिहानको बिनासित्तिको पैदलयात्री थिएँ म, घरबाट केही परको दूरीसम्म दिनहुँ आँखा लगाउन पाएको थिएँ।
बिहान हिँड्दा पैतालाको गन्तव्य घर हुन्थ्यो। अंग्रेजी पात्रोमा मे महिनाका दिनहरू पल्टेर आराम गर्दैथे।
अरू रात सुनसान थिए मेरा लागि आज भने शरीरका हरेक अंग उकुसमुकुस गर्दैथे।
आफ्नै मुटुको आवाजले सुत्न सकिरहेको थिइनँ। घडी बिग्रेको हुनुपर्छ त्यो काँटाको आवाज आइरहेको थिएन।
यो बेग्लै जादू थियो, मध्यरातमा म आफ्नो मन्द मुस्कानलाई निमन्त्रणा दिँदै त पक्कै थिइनँ तर बारम्बार मुस्कान ओठमा हाबी हुँदैथ्यो।
बाह्य शक्ति हुनुपर्छ मेरो बदनलाई कुत्कुत्याउने। यादका त्यान्द्रा तुन्द्री जोडिएर पन्छिन नसक्नेगरिको वनलहरा हुँदैथे।
मैले सिँचाइ गरिदिएँ, उनीहरू बढ्दै गए। यो कस्तो छट्पटी थियो जसमा म छट्पटाउँदा पनि प्रफुल्लित थिएँ। यो कस्तो शक्तिशाली चाहना थियो जसको अगाडि मेरा बच्चैदेखिका चाहना देखिन छोडेका थिए?
त्यो बिहानीको चियाको चुस्कीभन्दा उनको उपस्थिति मेरो लागि मीठो भएको थियो। उनको घर छेउबाट हिँड्दा पैतालाको गति सीमित हुन्थ्यो तर मुटुले असीमित गति छोप्न थालेको थियो।
त्यति उज्याली त हैनन् उनी तर जसै मेरा आँखा उनीतिर जान्थे तब खै के परावर्तन हुन्थ्यो उताबाट, मेरा आँखाले निहुँरिएर बाटो नाप्न थाल्थे।
उनका घरका हरेक व्यक्ति मलाई फिजिक्सका न्यूमेरिकलजस्तै लाग्थे अनि म ती हिसाब सामना गर्नु नपरोस् भन्ने विद्यार्थी।
आज पनि उनले मलाई नै हेरिन। म त्यस्तो सिकार पनि हैन जो आफूतिर आइरहेको तीर देख्न नसकूँ।
उनी त्यस्तो सिकारी पनि हैनन्, जो सिकारलाई नलाग्ने गरी तीर छोडून्।
६:३० को समय मेरा लागि मौन हुन्थ्यो किनकी म उनको घर छेउको बाटो हिँड्थें सायद उनको मोबाइलमा पनि त्यै समयमा जनाउ घन्टी बज्दो हो उनी तीर चलाउन निन्द्रामै भएका कमजोर आँखा लिएर निस्किन्थिन्।
म कमजोर साबित हुन्थें, त्यही माथि मुस्कानको दोस्रो तीरले झनै राहत दिन्थ्यो।
कहिलेकाहीँ उनले राखेको फिरादी मुस्कानको प्रतिउत्तर मेरो मुस्कान हुन्थ्यो। घर चिन्दथें, थर चिन्दथें तर उनको नाम थाहा थिएन। थाहा पाउनु पनि थिएन। मलाई दसैंको दिनभन्दा दसैं पर्खिएका महिना प्रिय लाग्थें।
म उनलाई हेरेरै चित्त बुझाउन चाहन्थें। बोल्न मन नभएको पनि हैन। जसोतसो गरेर नाम थाहा पाइयो। फेसबुकलाई धन्यवाद दिएँ।
साथीलाई नास्ता खुवाउने सम्झौता गरें। उसको मोबाइलबाट सोझै बैनी लेखेर म्यासेज गरेछु सायद खाली मनको कुनामा प्रेमका लागी ऐंजेरू पलाएको हुँदो हो।
उसले कसैको म्यासेजको उत्तर नै दिइन। ऊ बाहिरबाट गाउँमा आएकी चरी थिई। चमेरासँग के दोस्ती गर्थी र? म पुन: त्यो बाटो चहार्न थालें।
हामी चमेराको समूह हिँड्न थाल्यो। ऊ एक्ली थिई, हाम्रो हुलमा आकर्षित भई। बोल्ने मौका यही थियो।
कुनै बेलुकी मैले उसलाई म्यासेज गरें, झट्ट उत्तर आयो।
मन नै सिरिंग हुँदो रहेछ। पहिलोपल्ट केटीको लामो म्यासेजको स्वाद म्यासेन्जरले लिन पाएर होला ऊ कामिरहथ्यो।
जसै उनको म्यासेज आउँथ्यो मेरो मुस्कानको साक्षी मोबाइल स्क्रिन हुने गर्दथ्यो। कहिलेकाहीँ आमा पनि। हामी राम्रो साथी बनिसकेका थियौं।
म साथित्वको नातामा सन्तुष्ट थिइनँ तर ऊ मलाई मात्र साथी मान्छु भन्थी।
यो मध्यम घाउमा मलम लगाउने केही मेरा साथी थिए।
नानाथरिका प्रेम कथा सुनाउँथे 'हरेक नाता साथीबाटै सुरू हुन्छ' उनीहरू मलाई मख्ख बनाइदिन्थे। म पनि हतार नगरी बिस्तारै बोल्दै गएँ।
मेरा आँखालाई रातभर ननिदाउने बानी पर्न थालेको थियो। मलाई साथ दिन मेरा साथीहरू पनि अनलाइन नै बसेका हुन्थे।
मोबाइलको ब्याट्री भोकाइरहन्थ्यो। नाकको टुप्पाले छुँदाखेरी जब उनको फोटो जुम हुन्थ्यो तब भ्रमबाट छुट्ने गर्थें। हामीबीच फराकिला कुरा हुन थालेका थिए।
अब भने ऊ पनि मप्रति आकर्षित छे झैं लाग्थ्यो।
'माया कस्तो हुन्छ? मन पराएको कसरी थाहा हुन्छ? साथी र प्रेमिकामा के ठूलो?' ऊ यस्ता प्रश्नमा अल्झिन थालेकी थिई।
मैले पनि संकेत बुझिसकेको थिएँ। लगभग २० दिनको मित्रतापछि हामी भेट्ने निर्णय गर्यौं।
आज भेट्ने दिन मलाई दसैंझैं लाग्दैथ्यो। म नुहाएर दराजमा भएको सबभन्दा राम्रो कपडा खोज्न थालें।
पर्फ्युमको कक्टेल शरीरका हरेक ठाउँमा छर्कें। र, उसलाई भेट्न गएँ।
हामीलाई लोकल रेस्टुरेन्टमा भेट्नु थियो। म आधा घण्टा अगाडि नै त्यहाँ पुगें। केहीबेरमा उसलाई देखें।
स्वर्गकी अप्सरा मलाई भेट्न भू-लोक आएको प्रतीत भयो। हाम्रो पहिलो भेट थियो, हात मिलायौं। नैतिकता कायम नै रह्यो।
आज उसलाई र मलाइ दुबैलाई मनको कुरा भन्नुथ्यो।
तिमी पहिले सुनाऊ1 भनेर उसले मलाई कर गर्न थाली।
मैले पनि घोकेका सायरीसँगै प्रेम प्रस्ताव राखिदिएँ।
ऊ खित्का छाडेर हाँसी। हामी निकट भैसकेका थियौं ऊ नलजाउनु स्वभाविक थियो।
‘आज अप्रिल फर्स्ट हो, बेवकुफ बनाउने दिन मलाई थाहा छ। सक्दैनौ तिम्ले मलाइ झुक्याउन’, लल। दरो हाँसो लाग्यो।
‘हाई लेभलको फूल बनाउन खोज्या थियौ कठै।’, ऊ मात्र हाँसिरही।
मनभित्र पहिरो गयो तर बाहिर भावुक हुनु मूर्खता थियो। म रोदन मिसिएको हाँसो हाँसिरहें।
‘उम्म बरू सुन मैले सुनाउने कुरा’ ऊ थप्दै गई।
‘तिमी जस्तो मिल्ने साथी कोही छैन मेरो, तिम्लाई आफ्नो ठान्छु त्यसैले भन्दैछु, म र तिम्रो साथी सन्तोष अस्तिबाट रिलेसनमा छौं। कसैलाई सुनाउँदैनौं तिमी मलाई थाहा छ।’
उसको यो कुरा 'अप्रिल फूल' बनाउनका लागि थिएन। सन्तोष मेरो त्यो साथी थियो, जसले उसलाई आफ्नो बनाउने मेरो सपनामा रातभर अनलाई बसेर मलाई तरिका सिकाउने गर्थ्यो।
‘विज्ञानलाई 'अप्रिल फूल' बनाउन यो दिन झुक्याएर थपेको, यो सबै सपना हो भनिदिनुस् भगवान्’ मनमनै म भगवानसँग प्राथना गर्दै थिएँ।
‘जुन फूल मैले चाहेको थिएँ...’ काउन्टरमा राखेको स्पिकरमा नारायण गोपालको यो गीत बजिरहेको थियो।