आज घाम लागेन। रेखाले छोरी करिश्मा र माधुरीलाई पातपतिङ्गर खोजेर ल्याउन पठाई।
जाँगरिला छोरीहरूले बोरामा पातपतिङ्गर मात्र होइन स-साना छेस्का पनि ल्याए।
रेखाले झुपडीको प्लास्टिकको छानो कसकास गरी। राति हावा छिर्यो भने सासू जुगुरीलाई गाह्रो हुन्छ। काखको छोरो जुपिटर झनै नाजुक छ। कमरेड थोरै बतासले छोयो कि खोक्न थाल्छ। सुगनाले भनेर गएको छ - आज साँझ अबेर कमरेडहरू आउँछन्। पार्टीको बैठक छ आज। रेखालाई कमरेडहरूको कुरा सुन्न निकै आनन्द लाग्छ। अचेल ऊ पनि कुरा बुझ्ने भएकी छ।
झमक्क साँझ परेपछि सुगना रिक्सा लिएर आइपुग्यो।
झुपडीभित्रको कुनामा रिक्सा थन्क्याएर एक लोटा चिसो पानी ठाडो घाँटी लाएर कोक्ल्याक कोक्ल्याक आवाज निकाल्दै एक सासमा पियो।
रेखाले भनी - किन चिसो पानी पिएको यस्तो जाडोमा ?
सुगना - मेरो सानो कमरेड जुपिटरलाई सम्हालेर राख, आमालाई तातो खान देऊ, न्यानो राख। छोरीहरूको ख्याल गर बस काफी छ। यो सुगना 'लोदरबाबु'लाई ठेगान नलगाई मर्दैन। लोदरबाबुले दयाको भिख मागेको हेर्न आतुर छन् यी आँखा।
यो हो पश्चिम नेपालको केन्द्र नेपालगन्ज नगरी।
यहाँ कमसेकम पच्चीस जिल्लाबाट आएका मानिस स्थायी रूपमा बस्छन्। कोही चार पुस्ताअघि आए , कोही बीचबीचमा आए र कोही अझै आउँदै छन्। पश्चिम पहाडका भाटा खाइने डरले भागेका र भाटा हानेर भागेका सबैलाई शरण दिएको छ नेपालगन्जले।
भाग्ने र भगाउने दुबै अटाएका छन् यहाँ।
सुगना यहाँ आएर बस्न थालेको दश वर्ष पुग्यो।
छोरीहरू, आमा र पत्नी जुगुरीलाई सँगै लिएर आएको थियो ऊ।
छोरो जगनु यहीँ जन्म्यो। सात वर्षको छोरो जगनु अचेल कमरेड जुपिटर भएको छ।
सुगना जमिन्दारको घरमा जन्म्यो। बाबु बजारु जमिनदारको इमान्दार कमैया थियो, आमा जुगुरी बुक्रेनी। जुगुरीलाई सुत्केरी बेथाले च्यापिसकेको थियो। जमिनदारका सुत्केरी छोरी बुहारीलाई स्याहारसुसार गर्ने र शिशुहरूलाई सेकताप गरेर हुर्काउने जुगुरीलाई बेथा लाग्दा कसैले वास्ता गरेन।
बजारु जुगुरीलाई धैर्य गर्न सम्झाउँदै थियो। त्यसै बखतमा जमिनदारको आवाज आयो , बजारु ! बजारु पत्नीलाई अलपत्र छाडेर आदेश पालना गर्न गयो। साँझ झमक्क परेपछि बजारु आइपुग्दा जुगुरीले शिशुलाई टालोले बेरेर दूध चुसाइरहेकी थिइन्।
सहयोग गर्ने कोही थिएन, जुगुरीले सबै कुराको व्यवस्थापन आफैं गरिन्। सम्पत्ति र सुविधा नहुनेका लागि जुन नियम थियो त्यसको उचित पालना भयो। सुत्केरीले बगेको रगत र सालनालको थान्को लाएर लिपपोत समेत आफैं गरिसकेकी थिइन्।
बजारुले सोध्यो - का हुइल ? छावा कि छाई ? जुगुरीले मुसुक्क हाँस्दै भनेकी थिइन् - छावा।
बजारुले भन्यो - आज मैले मालिकको बच्चाको लागि सुगा समातेर ल्याएको छु। हाम्रो छोराको नाम सुगना भयो।
आज दुई प्राणी जमिनदारको पिन्जरामा आए, एउटा सुगा र अर्को मानव शिशु। सुगाको पिन्जरा सानो हुनेछ, तर उसले सीताराम गाएर खान पाउनेछ। मानव शिशुको पिन्जरा ठूलो आकारको हुनेछ, उसले हड्डी घोट्दै पसिना बगाएर खानेछ। मानव भएकै नाताले उसले अमानवीय ताडना समेत व्यहोर्नेछ।
सुगना सुगाजस्तै सुन्दर थियो र आवाज पनि सुगाको जस्तै मधुर।
पसिना बगाउने उमेर नहुँदासम्म सुगना सुगाको पिन्जरा वरिपरि खेल्न पायो। उनीहरू दुबै सँगसँगै सीताराम गाउँथे। सुगना पाँच वर्षको पुग्दा सुगा बूढो भएर मर्यो। सुगनाले जमिनदारको बाख्रा चराउने नोकरी पायो। गाउँमा ऊजस्ता बालमजदूर अरू पनि थिए।
छ/सात वर्षका ती अकिन्चन बालकहरू पाको मानिसले जस्तै पक्का ड्युटी गर्थे। जीवन भोग्न र चिन्न लामो समय लाग्ने सम्पत्ति र सुविधा हुनेलाई हो। कमैयाको बच्चा त पाँच वर्षको उमेरमै वयस्क नोकर हुन योग्य हुन्थ्यो।
सुगना दश वर्षको हुँदा भैंसी चराउने भैंसवार भयो, चौध वर्षको हुँदा लडिया हाँक्ने लडिवान। सुगनाको पूरा खान्की पाउने कमैयामा पदोन्नति भयो।
छोरीहरूले आगो बाले। रेखाले सुगनातिर हेरी।
सुगनाले रिक्सामा राखेर ल्याएको थैलोबाट चामल, चिनी, खुर्सानी र बन्दागोभी निकालेर दियो। सुगना दुई छाकलाई पुग्ने रासनमात्र किन्न सक्छ। राम्रो आम्दानी भएको दिन सेतो गोभी र यदाकदा ब्रोइलरको आधा केजी मासु पनि आउँछ, तर आम्दानी कम भएको दिनमा बजारको सबभन्दा सस्तो चामल मात्र। तरकारी नआएको दिन उनीहरू खुर्सानीको झोलसँग भात खान्छन्।
आमा जुगुरीलाई पाल्न सजिलो छ। उनी खुर्सानीको झोल पकाएको दिन झन् खुसी हुन्छिन्। छोरो जुपिटर बरु मिठौरे छ। सहरी हावाले छोएको छ कमरेडलाई।
राति अबेर तीन जना कमरेडहरू आए। छोरीहरू र आमा एउटा कुनामा डल्लो परेर कमरेडहरूलाई बस्ने ठाउँ खाली गरिदिए।
तीन जनामध्ये कमरेड कर्नाल बाँकेका यादव, हिमालचुली सुर्खेती मगर र कमरेड नेपालु बर्दियाली चौधरी हुन्। सुगनाको कमरेडी नाम आवेग हो। कमरेडहरूले रेखालाई कमरेड प्रतिज्ञा नामले सम्बोधन गर्छन्।
आफ्नो कमरेडी नाम सुन्दा उनीहरू खुसीले उन्मादी हुन्छन्। शरीरमा जोसिलो रगत प्रवाहित भएको अनुभव हुन्छ।
उनीहरूको काम अपरिचित कमरेडहरूले दिएका सामान, झोला र चिठीहरू अर्को अज्ञात कमरेडकहाँ पास गर्नु हो।
उनीहरू नियत गरिएको स्थानमा गएर कमरेडी संकेतको आधारमा प्रेषित सामान र सन्देश बुझाउँछन्। क्रान्तिको दुनियाँमा प्रश्न, तर्क र निधिखुदी चल्दैन, सबै काम यन्त्रवत हुन्छ।
आजको मिटिङको खासै एजेण्डा छैन। कुराकानीको सुरूआत कमरेड प्रतिज्ञाले गरी।
प्रतिज्ञा - क्रान्ति कहिले पूरा होला ?
हिमालचुली - खै ! धेरै कुरा त थाहा छैन। एक दिन मैले कमरेड कोलम्बसको भाषण सुन्ने मौका पाएको थिएँ। उहाँको भनाइ थियो - हामी जति धेरै परिश्रम गर्छौं, त्यति नै छिटो मुक्त हुनेछौं। शोषक र सामन्तहरू हाम्रो नाम सुनेर काँपे जस्तै दुश्मनसमेत जुन दिन थरथरी काँप्दै भाग्नेछ त्यसै दिन मुक्ति मिल्नेछ।
तर क्रान्तिमा क्रान्तिविरोधी सामन्ती तत्व घुस्ने सम्भावना पनि छ। त्यस्ता तत्वबाट क्रान्तिलाई हानी हुनसक्छ। कमरेडहरू सदा सजग रहनुहोला।
प्रतिज्ञा - क्रान्तिपछि सामन्तीहरू कहाँ जालान् ?
हिमालचुली - उनीहरू कोही गाउँमा हलो जोत्न जानेछन् र कोही यी यस्तै झुपडीमा बसाइ सर्नेछन्।
प्रतिज्ञा - त्यसो गर्दा कसरी समानता भयो ? त्यो त बदला लिए जस्तो भएन र ?
कर्नाल - क्रान्ति दयालु हुँदैन कमरेड !
यी भिन्न जातिका र भिन्न मातृभाषा बोल्ने राष्ट्रवादी र परिश्रमी मजदूरहरूमा सुखद भविष्यको रुमानी कल्पना छ। न जातपातको भेद, न शोषण, न कोही गरिब, न कोही धनी। सारा मानव जाति सुन्दर फूलको एउटै सुगन्धमय माला बन्नेछ। बसीबसी खानेका दिन जानेछन्, परिश्रमको फल मीठो हुनेछ। एउटा रोमान्चक र तिलस्मी सपना।
कमरेडहरूले एक एक कप कालो चिया खाए। मिटिङको दिन उनीहरू एक बोतल रक्सी पनि राख्छन्। त्यो रक्सी खानका लागि होइन, कदाचित प्रहरी आयो र सोधपुछ गर्यो भने रिक्सावानहरू रक्सी पिउँदै रहेछन् भन्ने ठानेर जान्छ।
आमा जुगुरीलाई यिनीहरू किन आउँछन् र के कुरा गरेर जान्छन् भन्ने पत्तो नै हुँदैन। आजको मिटिङ सकिएपछि उनले सुगनालाई सोधिन् - ऊ मनै हुक्र करिस्माके भोजके बात करे आइल हो?
सुगना - नाही दाई और डोस्रै काम हो।
आमा - हेर् सुगना! बाबा होक लरकन के ख्याल करे परठ। गाउँमा होइटो टो करिस्मा अब तक थरुवा ले सेकल हुईठ। सहरम आपन मन के थरुवा पाईना मुस्किल बा।
सुगना - रुक ना दाई ! करिस्मा अभीन १५ बरस के हुइटा। हटार नाई हो।
सुगना र रेखाको भेट ताराताल बजारमा भएको थियो। सुन्दरी रेखा र सुन्दर सुगना नजिक हुँदै गए। एक दिन उसले रेखालाई घर लिएर गयो।
भोलिपल्ट बिहान सबेरै कमैयाको झुपडीबाट सुन्दरी निस्केको देखेर जमिनदारको छोरो लोकेन्द्र झसङ्ग भएको थियो। रेखा उसले धेरैपटक फकाउँदा नटेर्ने केटी हो। रेखा लोकेन्द्रलाई देखेर थर्र काँपी।
आफूलाई अनेक प्रलोभन दिएर यौवनसँग खेल्न खोज्ने गुण्डाको नोकरकहाँ पोइल आएकी थिई रेखा।
लोकेन्द्र जमिनदारको बिग्रेको छोरो थियो। उसको कामै जुवा खेल्ने, जाँडरक्सी खाने, केटी फकाउने, थर्काउने र गुण्डागर्दी गर्ने हुन्थ्यो। जमिनदार यो कुलङ्गार छोरोसँग हैरान थियो। बाबुले नै उसको नाम लोकेन्द्रबाट लोदरमा परिणत गरिदिएको थियो।
आज माघे झरी लागिरह्यो। सुगना झुपडीबाट बाहिर निस्कनै सकेन। झरीको मन्द प्रहारले प्लास्टिकको छानोले गीत गाइरहेको प्रतीत हुन्थ्यो। डोरीको खाटियामा कुक्रुक्क परेर सुतेको सुगना अतीतमा पुग्यो।
सुगना दिनभरि बाख्रा हेरी थाकेर घर फर्कन्थ्यो। ऊभन्दा तीन महिनाले जेठो लोकेन्द्र सानै बालकमा गनिन्थ्यो, तर ऊ वयस्क गोठालो।
गर्मीयाममा बासी भात खाएपछि लोकेन्द्रलाई पङ्खा हम्कने ड्युटीमा खटिन्थ्यो ऊ। सुगना लोकेन्द्रलाई लामखुट्टेले नटोकोस् भनेर निकै होसियार हुन्थ्यो। त्यही बखतमा जोगनाथ गुरूले लोकेन्द्रलाई कखरा सिकाउँथे। लोकेन्द्रले त कति बुझ्थ्यो थाहा छैन, तर सुगनाले लोकेन्द्रलाई लक्षित गरेर पढाएका अक्षर चिनेर साक्षर भयो। एक अत्याधुनिक एकलव्य बन्यो सुगना।
सात वर्षको हुँदा सुगनाले लोकेन्द्रलाई बोकेर डुलाउँथ्यो। लोकेन्द्र दूध र मसिनो चामलको भात खाएर सुत्थ्यो, सुगना खुर्सानीको झोल र मोटो चामलको भात। जमिनदारको काम सकेर आएपछि आमाले तेल तताएर सुगनाको खुट्टा घसिदिन्थिन्।
लोकेन्द्रले पाउने लाडप्यार सार्वजनिक थियो, सुगनाले पाउने लाडप्यार गोप्य। उसमा लोकेन्द्रप्रति कुनै द्वेष र ईर्ष्या थिएन। ऊ यी सारा क्रियाकलापलाई सहज रूपमा लिन्थ्यो। उसलाई थाहा थियो, लोकेन्द्र सेवा पाउन र ऊ सेवा गर्न जन्मेको हो।
विवाह भएपछि पनि लोदरले रेखाको पिछा गरिरह्यो। उसले रेखा जस्ता धेरै युवतीलाई कसैलाई विवाह गर्छु भन्दै फकाएर, कसैलाई थर्काएर र कतिलाई एक्लै भएको मौका पारेर गर्न नहुने गरेको थियो।
गाउँका युवकहरू लोदरलाई उसले नसुन्ने गरी 'लोदरे हण्टर' भन्ने गर्दथे।
समग्र समाज नै उसबाट पीडित थियो, तर लोदरसँग भिड्ने हिम्मत कसैको थिएन। उसले पैसा र गुण्डागिरीको भरमा पुलिस प्रशासनमा पहुँच बनाएको थियो।
सुगना खुजुनी बुजुनीको समयमा लोदरबाबुको घर छाडेर अर्कै जमिनदारकहाँ सरेर गयो। लोदरले मरिसकेको बाबु बजारुको नामका तमसुक देखाएर सुगनाको सम्पत्तिको नाममा रहेको दुई कठ्ठा जमिन हडपेर कब्जा गर्यो।
हरेक कुराको सीमा हुन्छ। एक दिन सुगना र लोदरबीच मारपिट भयो। लोदरको दाहिने हातको माझीऔंलो काटिएर झर्यो। लोदर पुलिसमा उजुरी हालेर अस्पताल गएको थाहा पाएपछि सुगना सपरिवार नेपालगन्जतिर भागेको थियो। समयक्रममा सुगनाले थाहा पायो, लोदरका बाबुआमा मरे रे। लोदरबाबुले सम्पत्ति सक्नै लाग्यो रे। सुगनालाई विस्तारै विश्वास हुन थालेको थियो, सायद भेट्टायो भने पनि लोदरले केही नगर्ला। सायद पुलिसले पनि नसमाउला।
कमरेडहरूको संगत र क्रान्तिबारेको चर्चाले सुगनालाई चार जनाको अगाडि बोल्न र तर्क गर्न सक्ने बनायो। उसलाई कार्ल मार्क्स, लेनिन र माओबारे धेरै कुरा थाहा भयो।
अब सुगनाभित्र जमिनदारको कमैयागिरीलाई आफ्नो तकदिरको खेल सम्झने चेतना बिदा भएर विद्रोही चेतको विकास हुन थालेको थियो।
मानवले मानवमाथि गरेको अत्याचारको इतिहास थाहा पाउँदा ऊ स्तब्ध भयो। आफ्ना पूर्खाले कसरी सम्पत्ति गुमाए र कसरी त्यही सम्पत्ति कब्जा गर्नेको चाकर भएर जीवन बिताउन विवश भए भन्ने थाहा पाउँदा उसको हृदय विचलित भएको थियो।
अब अन्याय र शोषणको अन्त्य हुनुपर्छ। अब एउटा बालकले आफ्नै उमेरको अर्को बालकलाई पङ्खा हम्किने काम कहिल्यै गर्नुपर्ने छैन।
महिलाको इज्जतमाथि कसैले खेलबाड गर्ने छैन। अब नातावाद र परिवारवादको अन्त्य हुनेछ।
समाज सबै प्रकारका छुवाछूत र विभेदबाट मुक्त हुनेछ। योग्यता अनुरूपको काम र आवश्यकता अनुरूपको सुविधा पाइनेछ।
कोही बसीबसी खाने र कोही अहोरात्र श्रम गरेर पनि पेटभरि खान नपाउने जमाना सदाकालका लागि बिदा हुनेछ।
सुगनाले क्रान्तिका सर्वोच्च नेताको नाम मात्र सुनेको थियो। सर्वोच्च नेताबारे निधिखुदी गर्नु र धेरै थाहा पाउन खोज्नुको कुनै प्रयोजन थिएन। सुगनाजस्तो कमरेडले थाहा पाउन र सोधखोज गर्न सक्ने कमरेड कोलम्बस हुन्।
कमरेड कोलम्बस कहाँ जन्मे, उनका बाबुआमा को हुन्, सुगना र उसका सहकर्मी कमरेडहरूलाई थाहा थिएन। उनीहरूलाई त यति मात्र थाहा थियो, कमरेड कोलम्बस सानै उमेरदेखि अन्यायविरूद्ध लड्दै आएका होनहार नेता हुन्।
उनले गरिब र निमुखाको सेवा गर्दा सम्पत्ति गुमाए , परिवार तितरवितर भयो , जीवनमा धेरै दु:ख पाए। ग्रामीण महिलाहरूको इज्जत बचाउन खोज्दा कमरेड कोलम्बसले गुण्डाहरूबाट कुटिनु पर्यो।
नक्कली तमसुक च्यात्ने अभियान चलाउँदा भागाभाग हुनुपर्यो। किन्तु उनी कहिल्यै विचलित भएनन्।
सुगनाले कोलम्बसलाई देख्ने मौका नपाए पनि उनको लागि काम गरेको छ। उसलाई विश्वास छ, सायद कोलम्बस पनि कमरेड आवेगको नामसँग परिचित छन्। सुगनाको मनमा कोलम्बसको छविचित्र कोरिएको छ।
एउटा प्रज्वल आभाले युक्त जब्बर व्यक्तित्व। क्रान्ति हाँक्ने अटल खुबी भएको एउटा अदम्य किल्ला। सुगनालाई कमरेड कोलम्बस भन्ने नामप्रति नै श्रद्धा र भरोसा लागेर आउँछ।
उनको भाषण सुनेर धन्य धन्य हुने समयको व्यग्र प्रतीक्षामा छ सुगना। एक दिन त्यो घडी पनि आयो। कमरेड कर्नाल, हिमालचुली, नेपालु, आवेग र कमरेड प्रतिज्ञा अज्ञात स्थानमा पुगे। सभाको भव्य तयारी भइरहेको थियो। किशोर र युवा कमरेडहरू अवर्णनीय उत्साहका साथ उपस्थित थिए। जोसिला र क्रान्तिका लागि ज्यान दिन तयार युवाहरूबीच भविष्यका सपनाबारे लोमहर्षक चर्चा भइरहेको थियो। एउटा सुन्दर संसारको निर्माण गर्ने मीठो सपना।
सुगना बडो उत्साहित छ आज। आज उसले कमरेड कोलम्बसलाई सुन्नेछ। सायद उसका र कोलम्बसका आँखा जुध्नेछन्। सायद उसलाई हेर्दै मुस्कुराउँदै मुठ्ठी कसेको हात उठ्नेछ न्यानो अभिवादनमा।
सायद उसले कमरेड कोलम्बससँग कसिलो हात मिलाउने अवसर पाउनेछ। सुगना पुलकित भएर थचक्क बस्यो। भावातिरेकमा उसका तिघ्राले आफ्नै शरीर धान्न सकेनन्।
अन्ततः त्यो समय आइपुग्यो । कमरेड कोलम्बस मन्चमा उपस्थित भए। सबै जना समवेत उठेर कमरेडलाई न्यानो र जोसिलो अभिवादन गरे। कमरेडले धेरै बेरसम्म मुठ्ठी कसिएको हात उठाएर कृतज्ञतापूर्ण अभिवादन गरिरहे। कमरेडले आसन ग्रहण गरेपछि अनुशासित युवाहरू बसे। भाषण सुरू भयो।
कमरेड कोलम्बसले उपस्थित सबैलाई भावुक सम्बोधन गरे। उनले क्रान्तिको अगाडि बाबुआमा, जन्मठाउँ, नाम र ठेगानाको कुनै महत्व नहुने बताए।
उनले भनेका थिए, हामी सबै नेपाली हौं, हाम्रो ठेगाना नेपाल हो। मेरो जीवन नाफाको जीवन हो। सामन्तहरूको आक्रमण झेल्दै यहाँसम्मको यात्रा तय गरेको छु। जीवन कहाँ पुगेर समाप्त हुन्छ, थाहा छैन, तर जबसम्म जीवित रहनेछु, अन्याय र शोषणको विरूद्धमा लडिरहने छु।
उनले आफ्नो दाहिने हात उठाएर देखाउँदै भने, यी हेर्नुहोस् मेरो यो हातको माझी औंलो छैन। मेरो औंलो एकजना सामन्तीसँग भिडन्त गर्दा काटिएको हो। मेरो शरीरभरि घाउका खतहरू छन्। यो ज्यान नेपाली दिदीबहिनीको इज्जत बचाउँदा घायल र अपांग भयो, तथापि मलाई गर्व छ।
मलाई कसैप्रति कुनै गुनासो छैन, बरू जति गर्नुपर्ने हो त्यति गर्न सकिएन कि जस्तो लाग्छ। परन्तु जब नेपालीका दु:खका दिन समाप्त हुन धेरै समय बाँकी छैन भन्ने सोच्दछु, मलाई सुखद अनुभूति हुन्छ।
कमरेड कोलम्बसको भाषणशैलीले सबैलाई मुग्ध पारिरहेको थियो।
उपस्थित सबैले विस्तारै लामो सास फेर्दै कोलम्बसलाई सुनिरहेका थिए।
तर यसैबीचमा कमरेड आवेग र प्रतिज्ञा जुरुक्क उठेर हिँडे। कमरेड कर्नाल , हिमालचुली र नेपालु उठेर उनीहरूको पछि लागे।
हिमालचुली - कमरेडहरू किन उठेर हिँडेको ? यो त अनुशासनहीनता हो।
सुगना - प्यारो कमरेड ! आज मेरो सपनासँगै क्रान्ति पनि भंग भयो। मैले एक झलक दर्शन पाउन व्यग्र भएर प्रतीक्षा गरेको श्रद्धेय कमरेड कोलम्बस त उही लोदरबाबु पो रहेछ।
स्तब्ध हिमालचुली केही बोल्न खोज्यो, तर बोली फुटेन। हिमालचुलीले पालैपालो सुगना, रेखा र कोलम्बसलाई हेरिरह्यो। हतप्रभ कर्नाल र नेपालु यता जानु कि उताको अवस्थामा उभिइरहे।
कमरेड आवेग र प्रतिज्ञा जुन बाटोबाट आएका थिए , सोही बाटो हुँदै सरासर गइरहे।