तीन वर्ष कोरियामा मेसिन जस्तै जिन्दगी बिताएर नेपाल फर्किँदै थिएँ। जहाजको झ्यालबाट देखिने बादलका थुम्काहरू। आकाशभन्दा विशाल समुन्द्र। मनभरि प्रियसीको याद। आँखाभरि आमाको सपना। छातीभरि देश। कतिबेला नेपाल पुगिएला भन्ने छटपटी भइरह्यो।
कोरिया एयरलाइन्सको विमान बेलुका सात बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। गोडाले नेपाल टेक्नेबित्तिकै मेरा खुसीका आँसु वर्षिए। शरीर जति टाढा भएपनि यो मन सधैँ सधैँ नेपालमै हुने रहेछ, मैले त्यतिबेला अझै गहिरोसँग महशुस गरेँ।
साथीहरू रिसिभ गर्न आउँछु भनेका थिए, आइपुगेका रहेनछन्। म विमानस्थल बाहिरको दृश्यमा हराउन थालेँ। देशको वर्तमान समस्या। युवाको कहाली लाग्दो दैनिकी। शिरमा रातो सिन्दुर सजाएर श्रीमानलाई बिदाइ गर्न आएकी महिलाको कथा।
वैदेशिक रोजगारीमा ज्यान गुमाउनेलाई रिसिभ गर्न आएका आफन्तको अनुहार। अहो! कस्तो दर्दनाक दृश्य विमानस्थल वरिपरि। यो देशको सिंगो अवस्था हेर्न विमालस्थल पुगे हुने रहेछ। त्यही दृश्यमा म हराउँदै हराउँदै आँखा टम्म भएको समेत पत्तो पाइनँ।
केटाहरू आइपुगे। मलाई देख्ने वित्तिकै भने, 'हिरो कोरियाबाट आएको छ। आज त दह्रो पार्टी दिने होला नि।'
म मुस्कुराएँ मात्रै। क्या सजिलै भने कोरियाबाट आयो। सबैले मेरो आवरण मात्रै बुझे र चिने। मेरो मनको दर्दनाक अवस्थाले कसैले चिनेनन्। अझ भनौँ चिन्ने प्रयास गरेनन्।
हुन त यिनीहरूको दैनिकी यसैगरी चलिरहेको छ। विदेशबाट आउने जाने साथीहरूलाई पुर्याउन लिन गएर आफ्नो गुजारा चलाउँछन्। म राजधानीमा नौलो र नयाँ थिएँ। यताको बारेमा केही थाहा थिएन। उनीहरूले नै ट्याक्सी बोलाए।
'आज त ठमेल जाने हो,' रविले भन्यो।
'मोज गर्नुपर्छ केटा हो,' रमेशले कुरा थप्यो।
मैले चुपचाप उनीहरूको कुरामा सहमति जनाएँ।
बाटोमा हाम्रो घरदेशदेखि परदेशसम्मका अलिअलि कुरा भए। गौशाला, चाबहिल, वसुन्धारा हुँदै ट्याक्सी ठमेल तिर बतासियो।
ठमेलको डान्सबार अगाडि ट्याक्सी रोकियो। अहो! रातमा यहाँको भीड! अर्धनग्न जोडीको हर्कत। जूनको चेहेराभन्दा उज्यालो बत्ती। सबैतिर झकिझकाउ मण्डपमा बसेकी दुलही जस्तै देखिन्थ्यो ठमेल।
केटाहरूले दुई फुल रेड लेवल, मेनुमा भएका सबै खाले महंगा आइटम के के अर्डर गरे। मलाई खास खान मन थिएन। उनीहरूलाई साथ दिनका लागि एउटा बियर मगाएँ। तीन वर्षपछि बाल्यकालका साथीहरूसँग परदेशको कठिन दिन बिताएर आफ्नै देशमा खुसीको चिर्यस गरेँ।
उनीहरूलाई नशा चढिरहेको थियो। अर्धनग्न युवतीहरू उध्रेको चोली छ है तैपनि लाइन्छ भन्ने गीतमा डान्स गरिरहेका थिए। केटाहरू पनि डान्स गर्न थाले। मलाई किन किन यहाँको माहोल मन परेन। तत्कालै निस्कने पनि सम्भावना थिएन। जेनतेन समय कटाउनै पर्थ्यो।
गीतको चर्को स्वरले कान खाइरहेको थियो। हल्का बियर खाँदै मोबाइलमा रमाउन थालेँ। आकाश कालोनिलो थियो। बेस्सरी पानी दर्कन थाल्यो।
एउटी युवती मेरो अगाडि आएर बसी। ऊ त्यस्तै तीस पैतीस वर्ष जतिकी देखिन्थी। भद्दा मेकअप। आँखै कालो हुनेगरी लगाएको आइलाइनर। ओठमा लिपिस्टिक माथि लाइनर लगाएकी थिई। कस्ती नसुहाउँदी। उसले मेरो परिचय मागी। म केही बोलिनँ। हालखबर सोध्न थाली। ऊ चिनेको जसरी कुरा गर्छे। तर यो सहरमा म बिरानो छु।
ऊ रेडियो नेपालको समाचार जसरी बोलिरहेकी थिई। म मोबाइलको दुनियाँमा व्यस्त थिएँ। उसको खास मतलब गरिनँ।
उसले मेरो हात चपक्क समाती। म झसंग भएँ। कस्तो हर्कत हो यो अपरिचित माथि?
झनक्क रिस उठेको थियो तर आफूलाई सम्हालेँ।
'के हो ब्रो, एक्लै एक्लै बियर खाने?'
उसको क्रियाकलाप र प्रश्नले म अवाक् भएँ। बोतलमा बाँकी रहेको बियर राखिदिएँ। उसले बियर पिउन सुरु गरी। मैले पनि हल्का हल्का पिइरहेँ।
बियरको मात चढ्दै गएछ क्यारे। उसले बेलाबेलामा अश्लील शब्द बोल्थी। पहिल्यैदेखि केटीमान्छेलाई सम्मान गर्ने मेरो बानी थियो। उनीहरू कमजोर भएको हेर्न चाहन्नथेँ। उसले बियरसँगै हुक्काको लामो सर्को तानी, म भने मोबाइलमै व्यस्त थिएँ।
कति मोबाइलमात्र खेलाइराको, मेरो मोबाइल तान्न पो थाली। उसको भाषा र हर्कतबाट थाहा भयो, उही सही नियतकी केटी होइन। जसरी मलाई समय कटाउनु थियो, एकछिन उसैसँग कुरा गरेर समय बिताउने सोचेँ।
उसले एउटा बियर सकेर अर्को मगाई। मैले कुनै प्रतिवाद गरिनँ। उसको हालत देखेर मनमा कुराहरू खेले। ऊ रहरमा होली कि बाध्यतामा? खुसीमा छे कि पीडामा? उसको विगत र वास्तविकता जान्न मन लाग्यो। मैले धेरै अनुरोध गरेपछि उसले लर्बराउँदै आफ्नो कहानी सुरु गरी।
हाम्रो पहाड घर बाग्लुङ बुर्तीवाङ। बाबा व्यापारी हुनुहुन्थ्यो। आमामाथि घरको काम, गाईवस्तु, मेलापात र बालबच्चाको जिम्मेवारी थियो। आमाको आँसु र पसिना हेर्दै मेरो बाल्यकाल बित्यो।
यो पुरुषप्रधान नेपाली समाज। वर्षौदेखि गाडिएको पितृसत्ताको जरो आज पनि उस्तै छ। सामाजिक संजाल र सभा सम्मेलनमा अधिकारका चर्को नारा घन्किए पनि वास्तविकतामा आजसम्म अधिकांश महिलाको पीडा र दैनिकी दर्दनाक छ।
बाबाआमाले छोराको चाह गर्दागर्दै म, उषा, किरण, रमा, कौशिला र पार्वती जन्मिसकेका थियौँ। बाबा व्यापारी भएको कारण समाजमा उहाँको राम्रै प्रतिष्ठा थियो। बुढेशकालमा उहाँको व्यापार सम्हाल्न पनि छोरा चाहिन्छ भनेर समाजका मानिसले बाबालाई सुझाव दिइरहन्थे।
कहिलेकाहीँ म छिमेकका ठूला मान्छे र बाबाको संवाद सुन्थेँ। कतिले त बाबालाई अर्को विवाह गर्न सुझावसम्म दिन भ्याउँथे। त्यस्ता संवादले मेरो मुटु चिरिन्थ्यो।
म घरमा आएर आमालाई सबै कुरा सुनाउँथेँ। आमाले हामी जन्मेपछि घर उज्यालो भएको बताउनु हुन्थ्यो। म कसको कुरा सही हो, कसको गलत छुट्याउन सक्दैनथेँ। धेरै समय विरोधाभाषमा बाँचिरहेँ। आमाले हामी छोरीहरूलाई अथाह माया गर्नु हुन्थ्यो। त्यसो त बाबाको मायामा पनि कुनै शंका थिएन।
घरमा पाहुना आउँदा खाली छोराको प्रश्न उठ्थ्यो। मलाई देखेपछि गाला सुमसुम्याउँदै 'कस्तो बाबुको जस्तै अनुहार रैछ नानुको त, छोरा हुँदाहुँदै छोरी भैछिन क्यारे' भन्थे।
छोरा शब्द सुन्नासाथ म नमज्जासँग टुट्थेँ। यो कुरा मैले आजसम्म पनि बुझेको छैन, बाउ र आमाको मिश्रणबाट जन्मेको बच्चा बाउ या आमाजस्तो देखिनुलाई जेण्डरसँग कसरी जोड्छन् मान्छेहरू?
मैले बाबा आमालाई चिनेसम्म उहाँहरूलाई आफू छोरीहरूको मात्र अभिभावक हुनुमा त्यति हिनताबोध थाहा पाइनँ। बिडम्बना! समाजले औंल्याइदियो।
अचेल मलाई लाग्छ आफ्नो कसैको व्यक्तिगत कुरा परिवारलाई भन्दा बढी समाजलाई बढी चासो हुने रहेछ। लाहुर जानलाई नभए पनि दागवती दिएर बैतर्नी तार्नलाई एउटा छोरो त चाहिन्छ भन्ने समाजको धारणा थियो।
सभा सम्मेलन, टोलछिमेकको बैठक, भेलामा बाबा समाजको त्यही सवालको शिकार हुनुभयो। प्रायः सधैँजसो उहाँमाथि यस्तै प्रश्न उठिरहन्थे। समाजको कटाक्षसमा बाबा मात्रै होइन, आमाको कोख पनि अछुतो रहेन।
म त्यतिबेला सानै भए पनि धेरै कुरा बुझ्थेँ। समाजको यतना। आमाको अमिलो मन। बाबाको दुःखको भाषा। बहिनीहरूको निर्दोष अनुहारको बानी मलाई परिसकेको थियो।
मैले आमा र बाबाको प्रेम अथाह देखेको थिएँ। यति चोखो र निश्चल प्रेम एउटा छोराका लागि छुटाउन खोज्ने समाजको वास्तविक रूप मैले जानिनँ।
समाजको कचकच सहन नसेकेर बाबालाई बुटवल झर्न मन लागेछ। आमासँग बसाइसराईको सल्लाह गर्दा उहाँले मान्नु भएन। समस्यादेखि भागेर समाधान हुन्न भन्ने आमाको धारणा थियो।
आफन्त र समाजको लागि छोरो जन्माउनु पर्ने बाध्यतामा परेपछि आमा सातौँ पटक गर्भवती हुनुभयो। छिमेकको कुरा काट्ने प्रवृत्ति केही समयका लागि बन्द भए।
दिनप्रति दिन आमाको पेट बढ्दै गयो। धेरै नसके पनि घरका स-साना काममा म उहाँलाई सघाउँथेँ। उहाँको पेट फेरिए पनि उहाँको दैनिकी फेरिएन। आमाको भारी पेट देखेर छिमेकीहरू कुरा गर्थे, 'कति ठूलो पेट! मुखमा पनि कालो पोतो लागेछ। यसपालि त पक्कै छोरो पाउँछे।'
छोरो शब्द सुन्नासाथ आमाको अनुहार उज्यालो हुन्थ्यो। सोच्नु हुन्थ्यो होला, अब समाजको कटु वचन सुन्न पर्दैन। तर यथार्थ कल्पनाभन्दा फरक भैदियो। आमाले सातौँ सन्तानको रूपमा छोरीको जन्म दिनुभयो।
त्यसपछि छिमेकका सबै मान्छेले आमामाथि सहानुभूति प्रकट गरे। कसैकसैले त टिकाटिप्पणीसम्म गर्न भ्याए। सुत्केरी आमाको गलेको शरीर थियो। मन गलाउनेको पनि कमी भएन।
मरेपछि पिण्ड पानीको आश गर्ने नेपाली समाजको सदस्यमा बाबा पनि थपिनुभयो। छोरा पाउने जिम्मा महिलाको मात्र भएजस्तै पुरातनावादी सोचबाट उहाँ पनि मुक्त हुन सक्नु भएन। बाबा दोस्रो विवाहको निर्णयमा पुग्नु भएछ।
छोरा कसरी जन्मन्छ भन्ने थाहा नुहुने मान्छेले छोराको चाहना कसरी गरेको होला? पुरातनवादी सोच, समाजको दवाव र पितृसत्ता र अर्धज्ञानको उपजको शिकार उहाँ पनि बन्नुभयो।
बाबाको विवाहको समाचार घर, छिमेक, समाज हुँदै आफन्तसम्म पुग्यो। सबैले खुसियाली प्रकट गरे। तर आमाको मनभित्र कस्तो ज्वालामुखी लुकेको थियो कसैले अनुमानसम्म गर्न सकेनन् र चाहेनन् पनि।
घरमा कान्छी आमाको प्रवेश भयो। मेरी आमाको ओछ्यान, सिउँदो अङ्गालो सबै खोसियो। तर उहाँले बाबा र परिवारको मुस्कान खोस्ने प्रयास कहिल्यै गर्नु भएन।
समयको रफ्तार रोकिएन। कान्छी आमा गर्भवती हुनुभयो। तर आमाले बाबासँग झगडा र गुनासो गरेको मैले कहिल्यै सुनिनँ। आफ्नो कर्तव्य र कामलाई प्राथमिकता दिइरहनु भयो। सधैँ आफ्नो श्रीमानको खुसीको कामना गरिरहनु भयो।
ऋतुहरू फेरिए। बाबा र कान्छी आमाको प्रेम चरम उत्कर्षमा पुग्यो। तर आमाको दुख र पीडा कहिल्यै फेरिएन। मलाई लाग्यो, संसारमा सदाबहार रहने भनेको मेरी आमाको दुःख मात्रै रहेछ।
बिहे गरेको एक वर्ष बितेको थिएन, सानीआमाले जुम्ल्याहा छोरी जन्माउनु भयो। त्यो खबर टोल समाज सबैतिर फैलियो। सबैले सानीआमालाई विचराको दर्जामा राखेर हेरे।
त्यसपछि बाबाको अनुहार घाम नलागेको दिन जस्तै देखिन्थे। छोरा जन्माउन ल्याएकी श्रीमतीबाट जुम्ल्याहा छोरी जन्मिदा बाबाको मन कति ठाउँमा भाँचियो होला? मैले अनुमान गर्न सकिनँ।
हरेक दिन नयाँ भयो। हरेक महिना फेरिए। मौसम बद्लियो। तर मेरो गाउँका मान्छेको मानसिकता फेरिएन। सानीआमाप्रति पनि उनीहरूको नजर बिग्रदै गएको मैले महशुस गरेँ।
समाज, आफन्त, घर सबैको बचन बाबामाथि पर्यो। पारिवारिक समस्याबाट उहाँमाथि उठ्न सक्नु भएन। व्यापार नमज्जासँग बिग्रियो। घरमा दिनहुँ जस्तो झगडा भएर बस्ने अवस्था नरहेपछि आमाले हामी सात दिदी बहिनी लिएर घर छोड्ने निर्णय लिनुभयो।
त्यसबेलाको उहाँको हिम्मत देखेर म अहिले छक्क पर्छु। कुन मुटु र हिम्मतले आमाले त्यो निर्णय गर्नु भएको थियो होला?
आमाको साथमा हामी सात छोरी बुटवल झर्यौं। आमा दैनिक ज्याला मजदुरी गर्नु हुन्थ्यो। उहाँको हातगोडा पटपट फुटेका थिए। तर फुटेको आफ्नो मन हामीलाई कहिल्यै देखाउनु भएन।
सानी बहिनी बाहेक हामी सबैलाई स्कुल भर्ना गरिदिनु भयो। म आमाको दुख सम्झी सम्झी पढ्थ्यौँ। मनमा पीडाको महासागर भएपनि पढ्नमा म निकै अब्बल थिएँ। यसो भनौँ, काँडाबीचमा फुलेको सुन्दर गुलाब थिएँ म।
मेरो एसएलसीमा राम्रै प्रतिशत आयो। आमाले खुसी भएर मलाई आशीर्वाद दिनुभयो। खुसीको पलमा उहाँसँग अँगालो मारेर म धेरैबेर रोइरहेँ।
आकाशमा गड्याङ गरेर बिजुली चम्कियो। बाहिरको वर्षातको तत्कालै रोकिने सम्भावना थिएन। लैजाऊ घुमाउन मलाई ठमेल बजार... रूप खोज्ने आँखाहरू धेरैधेरै आउँछन् गीतको कक्टेल कानमा गुन्जिरह्यो।
उसले अर्को पनि बोतल रित्याइसकेकी थिई। उसको स्वर झन् लर्बराउँदै गयो। तर पनि आफ्नो कहानी अगाडि बढाई।
साथीहरू सबै आफ्नो पढाइ र भविष्यको योजना सुनाउँथे। मेरो त वर्तमान नै अँध्यारो थियो। तर पनि आँखामा सपना र मनमा हिम्मतको कमी हुन दिइनँ। पढेर ठूलो मान्छे बन्छु भन्ने दृढ अठोट थियो। सबै समस्यालाई एकातिर पन्छाएर राजधानी आउने निर्णय गरेँ। आमाले पनि नाई भन्नु भएन।
हिँड्ने बेलामा सबै बहिनीहरू न्याउरिएका थिए। मुखले जा भनेपनि आमाको आँखाले मेरो बिदाइ स्वीकारेको थिएन। आफ्नो भविष्यको लागि आमाको दुःख र बहिनीको मायाको पर्वाह नगरी राजधानी आएँ। मेरो दृष्टिकोणमा राजधानी र स्वर्ग उस्तै थिए। त्यतिबेला लाग्यो, म स्वर्गको एक टुक्रामा आइपुगेँ। राजधानीमा हाम्रो साहरा कोही थिएन, मालती फूपू बाहेक। म उहाँसँग नै बस्न थालेँ।
केही दिन त मलाई निकै नरमाइलो लाग्यो। सडक किनारका गरिब, दुखी र बेसाहारा सबै देख्दा म नराम्रोसँग चुडिन्थेँ। मलाई थाहा थिएन, स्वर्गमा पनि समस्या हुन्छ, अभाव, गरिबी र दर्दनाक जीवनशैली हुन्छ।
एसएससीमा राम्रो डिभिजन थियो। काम गर्दै पढ्दै गर्छु भन्ने सोचले धेरै अफिसमा अनुरोध गर्दै पुग्थेँ। सबैले मेरो मार्कसिटमा भन्दा शिरदेखि पाउसम्म आँखा लगाउँथे। यौन पिपासु नजरले मेरो हात समाउँदै मेरो जवानीलाई आँखै आँखाले बलात्कार गर्दै दिदी कफी र खाजाको अफर गर्थे।
दिदीको सहयोगमा आरआरमा पत्रकारितामा भर्ना भएँ। जागिरको कुनै टुङ्गो थिएन। काठमाडौँको सहरभरि बिजुलीको पोलमा कर्मचारी आवश्यकता भनेर टाँसेको पोष्टरको नम्बरमा फोन लगाउँथे। तर त्यहाँ पनि स्वार्थ मिसिएका हुँदा रहेछन्।
स्वर्गमा पनि भगावान् हुँदा रहेनछन् भन्ने मेरो त्यसबेलाको मानसिकता थियो। मलाई राजधानी निर्दयी र राक्षसी लाग्यो। राजधानीमा मानवता भेटिदो रहनेछ। गाउँमा काँडा बिझे जसरी यहाँ पाइलैपिच्छे फूल बिझ्दो रहेछ। म फूलको दुखाइमा धेरै पटक दुखिरहेँ।
दिदीलाई सबै दुखेसो सुनाएँ। उहाँले जागिरभन्दा फुटपाथमा तरकारी बेच्ने सल्लाह दिनुभयो। मलाई बेठीक लागेन। बिहान र साँझ कालमाटीको चोकमा तरकारी व्यापार सुरु गरेँ।
तरकारी बेच्दा पनि निकै गाह्रो हुँदो रहेछ। मनिसहरू मलाई यसरी हेर्थे कि मानौँ, मैले तरकारी होइन जवानी बेचिरहेको छु। ठूला ठूला रेष्टुरेन्टमा बसेर खाजा खाँदा हजारौँ रुपैयाँ सकिएको पत्तो नपाउने मान्छेहरू मसँग पाँच/दस रुपैयाँको बार्गेनिङ गर्थे।
ठूला मानिसको असली रूप मैले फुटपाथबाट देखेँ। धेरै लोग्नेमान्छेले तरकारीभन्दा बढी मेरो जवानीमा आँखा लगाउँथे। म सकेसम्म आफूलाई जोगाउन प्रयास गरिरहन्थेँ। गुराँसको जस्तो रूप पाएर पनि काँडाको जस्तो नियति भोग्नु मेरो बाध्यता थियो।
तरकारी व्यापार गर्दै मेरो प्लस टु सकियो। नियमित कलेज जान नपाएपनि मैले कलेज टप गरेछु। दिदी मेरो प्रगतिमा धेरै खुसी देखिनु भयो। तत्कालै आमालाई फोन गरेँ। उहाँले मलाई अगामी दिनमा सफलताको कामना गरिरहनु भयो।
कलेज टप गरेपछि ममा थप उर्जा थपियो। तरकारी व्यापार छोडेर म मालती दिदीको चिनेको मानिसको सहकारीमा काम गर्न थालेँ।
मलाई कुनै पनि काम ठूलो सानो लाग्दैनथ्यो। हरेक कामलाई माया गर्थेँ। अफिसबाट मलाई दैनिक बचतमा खटाइयो। म कालीमाटी, कलंकी र थापाथालीको एरियामा दैनिक बचत उठाउँथेँ।
बजारमा हिँड्दा मेरै धेरै थरीका मान्छेसँग संगत हुन्थ्यो। म सबैसँग आफ्नै तरिकाको व्यवहार गर्थेँ। अफिस जोइन गरेको दुई महिनामै मैले धेरै प्रगति गरेछु। दैनिक बचत अरूको भन्दा दोब्बर उठाउँथेँ।
विस्तारै खुसीका दिन सुरु हुँदै थिए। सम्झेँ, अब मैले मैले दुख्नु पर्दैन। मेरा पीडाका दिनहरू सकिए।
तर ईश्वरले खुसी देख्न नसक्दो रहेछ। एकसाँझ बहिनीले आमा बिमारी भएको खबर सुनाई। आमालाई फोन गरेर सोध्दा केही भएको छैन, तिमी आफ्नो काम गर भन्नु भयो। तर आमाको कुरा मेरो मनले पत्याइनँ। म तत्कालै अफिसमा बिदा मागेर बुटवल गएँ।
पहिलाको भन्दा आमा अलि कमजोर हुनु भएछ। बुढी जस्तै देखिनु भएछ। दुखले आमालाई कति चाँडै बुढी देखाइदियो। उहाँको हालत देखेर मुटु छियाछिया भयो।
माईली बहिनीलाई अरू बहिनीको ख्याल राख्नु भनेर आमालाई लिएर काठमाडौँ आएँ। चेक गराउँदा थाहा भयो, उहाँको पाठेघरमा क्यान्सर भएछ। तत्कालै अप्रेसन गर्नुपर्ने देखियो।
म खबर सुनेर छाँगाबाट खसेजस्तै भएँ। आमाको म बाहेक अरू कुनै साहरा थिएन। प्राणभन्दा प्यारी आमाको वियोग म सहन सक्दैनथेँ। जसरी पनि उहाँलाई बचाउनु थियो। बहिनीहरूको जिम्मेवारी पनि ममाथि थपियो।
अफिसमा एक महिनाको तलब लिन बाँकी थियो। दिदीलाई आमाको जिम्मा लगाएर अफिस गएँ। अफिसमा त अर्को कम्पनीको बोर्ड टाँसिएको रहेछ। यताउति सोधेपछि थाहा पाएँ, सहकारी त अन्तै सरिसकेछ। धेरै दिनसम्म खोज्ने प्रयास गरिरहेँ। तर असफलता मात्रै हात पर्यो।
हाकिमको नम्बरमा फोन गरेँ। स्वीच अफ रहेछ। दिदीले पनि खोज्ने प्रयास गर्नुभयो। तर सक्नु भएन। संसारमा हराउने खोज्न सकिन्छ तर लुकेकालाई नसकिँदो रहेछ।
म बाध्यताको परिबन्धमा नमज्जासँग फसेँ। उठ्ने कुनै संकेत थिएन। त्यसपछि जागिरका धेरै ठाउँमा भौतारिएँ। कसैले एकरात सँगै बस्न आग्रह गर्थे, कसैले घुम्न जान।
आमाको अवस्था झनझन बिग्रदै गयो। मिल्ने भए म आफैलाई बेचेर आमालाई बचाउँथेँ। मैले धेरैसँग जागिरको भीख मागेँ। तर कसैबाट पनि पाइनँ।
म पैसाको बन्दोबस्त गर्दै थिएँ। आमालाई व्यथाले च्याप्यो। एम्बुलेन्समा राखेर अस्पताल लैजाने पैसासम्म भएन। पीडा नै पीडामा छट्पटाएर आमाको मृत्यु भएको यही आँखाले देख्न पर्यो।
उसले रुमालले आँसु पुछी। आमाको मृत्युपछि काजक्रिया मैले नै गरेँ। सबै बहिनीहरूलाई काठमाडौँ ल्याएँ। जिउने कुनै आधार थिएन। जागिरको सम्भावना पनि कतै नभेटिएपछि शरीर बेच्ने निर्णयमा पुगेँ।
एक महिनाको तलब एक रातमै उठ्थ्यो। बहिनीहरूलाई राम्रो शिक्षादिक्षा दिएँ। माईली बहिनी अमेरिका छ। कान्छी जापान। अरू सबैको बन्दोबस्त छ म बाहेक। उनीहरू काखभरी बच्चा च्यापेर भेट्न आउँछन्, मेरो मन चसक्क हुन्छ।
मेरा पनि रहर छन्, सपना छन्। श्रीमान्, परिवार र छोराछोरी होस्। हरेक रात श्रीमानको अँगालोमा सुरक्षित निदाउने चाहना मेरा कल्पनामा सीमित छन्। बच्चा अँगालेर निदाउने रातमा अपरिचित मान्छेको अँगालोमा निदाउनुपर्छ।
छि! यस्तो जिन्दगीमा बाँचेर पनि के जिउँदो हुनुको घमण्ड गर्नु? यो संसारमा मेरो कुनै अस्तित्व छैन। कस्तो नियति आफ्नो परिचय गुमाएर पनि बाँच्नुपर्यो। रातभरि बलियो पुरुष च्यापेर बिहानमा रित्तो मन लिएर कोठा फर्कन्छु। संसारमा बाध्यता जस्तो ठूलो कुरा केही नहुँदो रहेछ।
नेपाली समाज हरेक मान्छेलाई आफ्नै किसिमले जज गर्छ। कसैले सानो गल्ती गरेमा उसलाई सम्झाउने हैन खण्डन गर्न तिर लाग्छन्। कसैको दुखमा साथ हैन खिल्ली उडाउँछन्। यहाँ आएपछि मलाई समयले दुख र संघर्ष गर्न सिकायो। पछि थाहा भयो यो सहरमा इमान्दारिताको काम रहेनछ।
सुरुसुरुमा म निकै रुन्थेँ, कराउँथे आफैसँग रिसाउँथे। तर अहिले सबै कुरा सामान्य लाग्छ। यो मेरो काम हो, मैले आफ्नो धर्म निभाउनु पर्छ।
अचेलका प्रेम मलाई प्रेम जस्ता लाग्दैनन्। सबै स्वार्थका निमित्त रिलेशनमा बसेको देख्छ। नत्र अंगालोभरिकी श्रीमती छोडेर एक घन्टाको स्वार्थी प्रेममा किन फस्छन् मान्छेहरू? सात फन्का लगाएर सँगै मर्ने बाँच्ने कसम खाएर ल्याएकी श्रीमतीलाई एक्लै छोडेर वेश्यालय धाउने पुरुषहरू खुसी छन् भनेर मैले कसरी अनुमान लगाउनु?
यहाँ हरेक मनिसहरू प्रेमहीन सम्बन्धमा बाँचिरहेका छन्। सहरका ठूला मान्छेभित्रको कुरुपता मैले हरेक रात देखिरहेछु। मलाई वेश्या सम्बोधन साह्रै तुच्छ लाग्छ। रातभरि वेश्यासँग सुतेर घर फर्कने पुरुष कसरी चोखा हुन्छन्? म आफ्नै मनसँग बारम्बार यही प्रश्न गरिरहन्छु।
आफ्नो शरीर बेचेर कमाउनु जस्तो नमज्जा केही हुँदो रहेनछ। जब हामी बाहिर आफ्नो शरीरको बार्गेनिङ गरिरहेका हुन्छौँ, भित्र शरीरमा आगोको ज्वाला दन्किरहेको हुन्छ। रहर र सपनाहरू पलभरमा खरानी भएर सकिन्छन्। धेरै पटक मैले यो पेशा छोड्ने निर्णय गरिसकेँ। तर आफ्नो कहालीलाग्दो भविष्य सम्झन्छु।
मेरो जिन्दगी र मैनबती उस्तै लाग्छ। आफू मरेर अरूलाई खुसी र उज्यालो दिनुपनि जिन्दगी रहेछ। आफू निभेपनि बहिनीहरूको उज्यालो भविष्य सम्झन्छु, मलाई निकै गर्व लाग्छ।
यो संसारमा जन्मिएर पनि आफ्नो पहिचान र हैसियत केही छैन। कतिन्जेल बाँच्नु? यस्तो पहिचान बिनाको जिन्दगी। यहाँ रात बिताउन उसको जात, धर्म, अनुहार, उमेर, हैसियत केही नचाहिने तर विवाहको लागि सबै चाहिने रहेछ। म हरेक रात सबैको सपनाको रानी बन्छु भने हरेक दिन वेश्या र समाजको घृणित पात्र बन्छु।
झ्यालको पर्दाबाट बाहिरको दृश्य नियालेँ। बाहिर झमझम पानी परिरहेकै थियो। बाहिरको मौसमले भन्दा भित्रको मौसमले मलाई छपक्कै रुझायो। ऊ भन्दै गइ।
मैले कसैलाई पनि यी कुरा थाहा दिएकी छैन। थाहा दिएँ भने उनीहरूको मप्रतिको धारणा कस्तो होला? यो पेशमा दश प्रतिशत मान्छे मात्रै रहरले लागेका होलान्। अरू त मजस्तै बाध्यतामा फसेका हुन्छन्।
कुनै रात आनन्दले निदाउन पाइँदैन। आफ्नो थकाइ मेट्न पाइँदैन। ग्राहक जतिसुकै मोटे होस्, गन्हाउने, फोहोरी, रोगी र हिंस्रक होस्, यी सबै कुराको सामना गर्नुपर्छ। सरकारले यो देशमा एउटा सिस्टम र हामीजस्तो तल्लो वर्गका मानिसलाई गरिखाने वातावरण सिर्जना गरिदिएको भए आज यो दिन आउने थिएन। हाम्रो बाध्यतामाथि मिडिया, पुलिस, आमनागरिक सबैले प्रहार गर्छन्।
घडी हेरेँ। बिहानको पौने तीन भएछ। सँगै आएका साथीको अत्तोपत्तो थिएन। आकाशमा बिजुली उस्तै चम्किएको थियो। उसका कुरा सुनेर म विक्षिप्त भएँ। कता कता म पनि ऊ जस्तै लाग्यो।
म पनि भर्खर विदेशमा जवानी बेचेर आएको, ऊ नेपालमा जवानी बेच्दै गरेकी। कता कता हाम्रो बाध्यता एउटै लाग्यो। यहीँ देशका नारी हुन् कोही रानी बनेर रत्नपार्क र रानी पोखरीको नाममा परिचित छन्।
तर यही देशका केही नारी त्यही रत्नपार्कको छेउमा बसेर एक छाक खानकै लागि कुनै विकल्प नपाएर आफ्नै शरीरको बार्गेनिङ गर्दै अपरिचितसँग आफ्नो भविष्य, सपना र रहरहरू मारेर बन्द कोठामा रात बिताउन बाध्य छन्। पीडित र तल्लो वर्गको नारीको पीडा न त उहिलेको नारायणहिटीले बुझ्यो न त अहिलेको शितल निवासले?