कविता
कुहिरोको कम्बल घम्लंग ओढेको
शिशिरको निस्पट्ट अँध्यारो रात
जंगल पनि सुनसान छ
कीरा फट्याङ्ग्रा समेत चुपचाप लागेर सुतेका छन्
अग्ला सालका रूखमाथिबाट चन्द्रमा चियाइरहेछ
त्यसको प्रतिबिम्बले टलक्क टल्किने हिमशिखर आज निस्तेज छ
सालको पात झम्लंग झरेको आवाजले झस्किएर बिउझन्छु
म कठ्याङ्ग्रिएको रहेछु
हिउँदमा कल कल बग्ने शितल नदी आज कर्कश गान गाइरहेछ
डराएर काम्छु
अध्यारोमा छाम-छुम गर्छु
तिमी छैनौ
मुटु पनि खाली छ
के तिमीलाई थाहा छ?
तिम्रो मुटुको न्यानो स्पर्श नपाए त
रगत जमेर म पनि मर्छु नि!