हाम्रो घरको गोठमा एउटा गोरु छ
त्यही गोठकै माथि म बस्छु
गाईले जन्माएको त्यो गोरु बाको हो
बाले जन्माएको म चाहिँ एउटा पार्टीको हो
खेत जोत्नु पर्यो भने बाले गोरु फुकाउँछन्
बन्द या हड्ताल गर्नु पर्यो भने पार्टीले मलाई बोलाउँछ
बाले गोरुको काँधमा जुवा बोकाई दिन्छन्
पार्टीले मेरो हातमा कालो झन्डा भिडाई दिन्छ
गोरु आफ्नो पुरै बल लगाएर हलो तान्छ
म आफ्नो पुरै आवाज सुक्ने गरी नारा लाउँछु
नसकी नसकी पनि गोरुले मरी मरी हलो तान्दै थ्यो
अर्थै नबुझी म पनि मरी मरी नारा लाउँदै थिएँ
पछाडिबाट बाले गोरुलाई स्वाट्ट लौरोले हिर्काए
पुलिसको भाटाले यता मेरो खुट्टा भाँचियो
सुम्ला बसेको गोरुलाई बाले जोति सकेपछि घाँस दिन्छन्
कुटिएको मलाई पनि पार्टीले आश दिन्छ
घाँस देखाएर बाले भोलि पनि गोरु जोताउँछन्
आश देखाएर पार्टीले मलाई भोलि पनि हड्तालमा दौडाउँछन्
गोरु लगातार जोतिन्छ
म लगातार कुटिन्छु
गोरु गल्छ, म पनि गल्छु
गोरु ढल्छ, म पनि ढल्छु
बाले अन्ततः खेत जोतेर सक्छन्
पार्टीले अन्ततः आन्दोलन सफल पार्छ
बा बाझो खेत जोतेर खुसी हुन्छन्
पार्टी आफ्नो माग पूरा भएर खुसी हुन्छ
गोरु अब फेरि जोतिनु नपरेर दंग पर्छ
म परिवर्तन हुन्छ भनेर दंग पर्छु
दिन बित्छ, महिना बित्छ
गोरुले जोतेको बारीमा अन्न फल्छ
मैले गरेको आन्दोलनले पार्टीमा भोट फल्छ
फलेको अन्न हालेर बाले ठूलो डेक्चीमा खोले पकाउँछन्
मेरो भोट मिसाएर पार्टीले चुनाव जित्छ
गोरुलाई सुकेको घाँस हाल्दिएर बाले त्यो खोले,
नजिकैको दूध दिने गाईलाई दिन्छन्
घर नजिकैको रोडमा गुडिरहेको पार्टीको नेताको गाडीले
मेरै मुखमा हिलो छ्यापेर जान्छ।