बादल रोए पानी पर्ने, मन रोए आँसु,
कर्कलाको पात माथि म कसरी हाँसू?
खित्का छोडी हाँसू भने तल दररर,
हल्लिएर खस्ने डरले मनै थररर।
बोल्छु एक्लै एक्लै बोल्छु, आफैसँग ऐना हेरी,
लाग्छ डर साथ दिने, ऐना पनि फुट्ला फेरि।
झरी लागे भेल बग्ने, खडेरीमा बगर,
प्यास मेट्ने चाहनामा हिँडे लखर लखर,
तिर्खाएको यो प्यसीले पानी नपाउँला कि,
कहिले डर सताउँछ भेलले बगाउँला कि?
बोल्छु एक्लै एक्लै बोल्छु, आफैसँग ऐना हेरी,
लाग्छ डर साथ दिने, ऐना पनि फुट्ला फेरि।
पिर लिँदा पिरै बढ्ने, खुसी हुँदा रहर,
पिलाएको माया तर, फैलिएछ जहर,
भन्नु केही छैन यहाँ, विषै ओकल्नेलाई,
राम राम भन्दै हरे! भिरमा धकेल्नेलाई।