बनाउनु भनेको अरूले लाएको पर्खालमा छानो हाल्नु मात्रै हैन,
पुरानो संरचना ध्वस्त गरेर नवनिर्माण पनि गर्नु हो
ए धर्तीपुत्रीहरू
फेसन बजारका गल्लीहरू सँगै
श्रम बजार र शिक्षा बजारका चोकहरूमा
ब्यागमा लिपिस्टिक र पाउडरको समाज शास्र हैन
चक्कु, लाइटर र नेलकटरका सौन्दर्यशास्त्र बोक्ने गर
स्कुले झोलाहरूमा छुरा र ब्लेडहरू बोक्ने गर
बा-आमालाई गाली गर्लान्
बरू स्याउ नास्पाती सँगै राख्ने गर
यो कुरा ख्याल गर्नु-
तिम्रो देशको कानुनले तिमीलाई बन्दुक भिर्न हो बन्देज लाएको
बारूद बोक्न हो बर्जित गरेको
घरेलु हतियार बोक्न निषेध गरेको छैन।
तिमीहरूसँग फुटकर पैसा नहुन पनि सक्छ
तर तिमीहरू स्कुल त गइरहेका छौ नि?
तिम्रा स्कुलका ल्याबहरू चियाउनु
विज्ञान सरलाई, अम्ल कहाँ भनेर सोध्नु
एसिड खै भनेर नसोध्नु,
आधुनिक समाजले अर्को बिम्ब निर्माण गरेको छ
अम्ल भनेको प्राक्टिकलमा प्रयोग गरिने बस्तु हो
एसिड भनेको अपराधीको अस्त्र हो!
बजारमा तिमीहरूले खल्ती सहितका थुन्चोली र कच्छाहरू माग गर्नु
जहाँ भाचिएका स-साना ब्लेडहरू राख्न सकियोस्
पितृसत्ताको दलनमा पिल्सिएर
कहिलेसम्म मातिएको अभिनय गर्छौ
आँसुको अल्कोहलले?
योनिको पहिचान दिएर जन्माएकोमा
कहिलेसम्म आमाहरूलाई धिक्कार्छौ?
तिम्रा नारीवादी आदर्शको साँपलाई
अरू बढी कब्जा गरिरहेछ पितृसत्ताको गरूडले
मञ्चमा माइक हैन, नीति लेख्ने कलम समाऊ
खबरदारीका औंला हैन, नियन्त्रणका पञ्जा फैलाऊ
कानुनको नुनलाई चर्को बनाऊ
बर्दीको खुनलाई तातो बनाऊ
जबसम्म कानुनले खुट्टा कपाउँछ
तबसम्म जन्मिन्छन् अपराधी
अझ न्यायको छडी कमलो भयो भने-
सप्रमाण अपराधी करार भएका अभियुक्तमा पनि
कहिले बाको अनुहार देखिन्छ
कहिले दाइको माया भेटिन्छ
कहिले भाइको चञ्चलता लेखिन्छ
र सुक्न पुग्छ संविधानका धारामा पानी
बा र दाइहरूको टिठ लाग्दो अनुहार हेरेर
कहिलेसम्म भाग्छौ पुरूष संरक्षित सेल्टरहरूमा?
कस हात, उठाऊ मुठी र बढ अघि
आफ्नो बाटो खन्ने आफैले हो
ए नारी हो,
बलात्कार भएर मारिनुभन्दा
लडेर प्राण आहुती गर्नु उत्तम हुन्छ
आफ्नो मृत्युको फैसला आफै गर
समाजले कोरेको लक्ष्मण रेखामा
यसैगरी चुपचाप हिडीरह्यौं भने-
हिजो निर्मलाको प्राण रेटियो
आज भागरथीको घाँटी निमोठियो
भोलि तिम्रो पालो!
(भागरथी भट्टको न्यायको लागि समर्पित।)