म सोच्दछु यो सेतो चिसो मैदानमा उभिएर
किन बासना छैन
जिवन्तता किन छैन
झ्यालको एैनाबाट चियाउँछु
अनि गमक्क न्यानो पारेर
लड्बडिन पुग्छु
हाँस्छु नाँच्छु चिच्याउँछु
कठ्याङ्गरेको हातले कोर्छु
सपनाका रहरहरु
सुन्दरताका कथाहरु
तिमीसँगका अमिट यादहरु
म सोच्छु अनि
जति नै मेहेनत गरे नि
कुनै अर्थ हुन्न
हिउँ न हो, छिनमै पग्लिजान्छ
काश, सबै पग्लि जाने भए
भुल्न नसकेका सम्झनाहरु तिर्सनाहरु
तिमी भन्छौ कति भाग्यमानी
म भन्छु ,सायद यस्तै रहोस्
पूर्वमा तिमी , पश्चिममा म
मन मात्र न हो समिप
तिमी जीवन कोर्दै गर्दा
रहरको फूल फकर्दै थियो ममा
तिमी त फसल उमार्दै थियौ नि
त्यहीँ हिउँमाथि कति अभाब
कति कष्ट हूदॊ हो
हेर न , समय कति टाढा पुगिसकेछ
चाहेर नि देख्न सकिन्न
तस्बीरमै सहि बरु
मुस्कान त देख्न सकिन्छ
म सोच्छु फेरि
हिउँको फूल बनाउँदै गर्दा
तिम्रो नै नाम लेख्छु किन
तिम्रो नै भाव पलाउँछ किन
कति फरक छ यो र त्यो हिउँ
तिमी अट्टहासले हाँसेर बढ्छौ
चिसोमा नि न्यानोपन जगाउँछौ
त्यहीँ चिसो हिउँको पानीले प्राण दिन्छौ
माया त लाग्छ नि अपार
मनमा तिम्रै याद
र त यति मुस्कान छ अधरभरि
जीवनको सुन्दरता छ
म सोच्छु फेरि
हिमालको हिउँ छुँदा तिमीले
मनमा कुन आकृति बन्छ होला?
कुन लय कोरिन्छ होला?
कस्तो कला कुँदिन्छ होला?
घामका किरण जब सेताम्य हिउँमा झर्छ
तब त्यसले दिने मिराज
अनि पारिलॊ ताप
साँची कस्तो अद्भूत हुदॊ हो !
हिउँको फूल फुल्दा
लाग्छ रंगबिना पनि कति सुन्दर
कति रमणीय ,कति निश्चल
बिना सुबाश अनि सुगन्ध
के तिमीले त्यस्तो फूलको अर्थ बुझेका छौ ?
सेतो अनि कालॊ मात्र हुँदा
श्यामस्वेत जस्तै लाग्छ संसार
र पनि कति सुन्दर
औंलाहरु चिसो हुँदा पनि
हिउँले कोर्न मन लाग्छ
सुनौला यादहरु
म सोच्छु फेरि पनि
तिमीले खेलेको हिउँ पनि यस्तै थियो?
कि फगत हिउँ मात्र थियो ?
म सोच्छु फेरि
आखिर जीवन मात्र त कहाँ फुल्नु र
निर्झिव हिउँ पनि त फुल्दो रहेछ
ढकमक अनि चहकिलो
ढल्दै गरेको सन्ध्यालाई नि मात दिई
उजेलीको रंग पोत्दॊ रहेछ
म सोच्छु फेरि
यही उजेली भए नि अलिकति
तिमीलाई पठाईदिउँ, है ?
तिमिसम्म पुग्दा चिसो हुँदैं जान्छ होला
कडा ढुंगा बन्छ होला सायद
तिमी त्यहीबाट सिर्जना उमार्नु
सिर्जनाको फूल त कहिले नि
झर्दैन, ओइलाउदैन ,मर्दैन नि
अर्को पालि आउँदाखेरि
सँगैं जानुपर्छ हिमालमा
अनि हिउँको फूल रोप्नुपर्छ ल?