लिस्बोनमा अझै घाम खुलेर लागेको छैन। मनसुनी झरीले निथ्रुकै भिजाएको छ। संयोग भनौँ या मन मनको कनेक्सन जस्तै मौसमको पनि कनेक्सन उस्तै छ।
हिउँदे झरीले काठमाडौँलाई भिजायो भन्ने सुनेँ। शिवपुरी, फुल्चोकी डाँडा, चन्द्रागीरीमा हिउँले मुस्कान छरिरहेको तस्बिर तिम्रो इन्स्टाग्राममा देखेँ। हिमाली बस्तीहरु त सेताम्मे भए होलान् है?
लिस्बोनमा पल पल बहने बतासको स्वरूप अर्कै छ। गतिहरू मन्द मन्द छन्। तर यो युरोपको वातावरणमा तिम्रो चुम्बनको आवाजलाई जित्ने हावा बहेकै छैनन्। तिम्रो मुस्कान जस्तो कुनै फूल फुलेकै छैनन्। तिम्रो स्पर्शको न्यानो आभाषले अझै पनि म भित्र सागरका छालहरू तीव्र गतिमा दौडिरहेका छन्।
फेसबुकले पुरानो स्टाटसलाई मेमोरी ब्याकमा देखाइरहेको थियो। जसमा लेखिएको थियो-
'तिमी लाङटाङ जानुअघि जाँदैछु भनेर मेसेजसम्म गर्न सकिनौँ है। तिमी के गर्दै छ्यौ मेरी माया? हम्म्म!
सायद एमएस्सीको थेसिस रिसर्च। उसो त राम्रो भनूँ या नराम्रो, तिम्रो त खाली हुँदा, साथीसँगै हुँदा फोन नगर्ने बानी छ। उता निकुञ्जमा पनि चरीहरूले भाका फेरेर गाउन थालेका होलान्।
तिमी त चरीहरूले गीत गाउँदै आकाशमा उन्मुक्त उडेको हेरेर कति रमाइरहेकी छौ हौली। यहाँ सहरमा त त्यहाँ निकुञ्जमा जस्तो चरीले बिहानी बोकेर आउन्न मेरी माया।
तिमीसँगै चरीको चिरचिर मिस गरिरहेको छु। लाङटाङ हिमालको सिरेटोले हिर्काउँदा अस्वस्थ हौली। न्यानो बनेर बस ल माया। जगलभरि फुलेका फूलसँग मलाई दाज्दै हौली हैँ? मेरो माया तिमी आउँदा अंगालोभरि फूल लिएर आऊ ल।'
दुई दिनपछि फोन आयो।
'हेल्लो! म मौसमी बोलेको। थाहा छ रिसाएको छौँ होला। सरी ल, खबर नगरी आएँ। थाहा छ तिमीलाई?'
'अहँ, भन न के हो?' ठुस्किएको स्वरमा भनेँ।
'कस्ता डरलाग्दा कच्ची मोटर बाटो भिर, जंगल, अप्ठ्यारो बाटो रहेछ नि? न त फोन नेट्वर्क राम्रोसँग टिप्छ नेटको त कुरै छाडम्। बिहान सन्ध्याले स्टाटस बारे भनेकी थिइन्। मैले त हेर्न नि पाएको छैन। म काठमाडौँमै हुर्किएको भएर होला है? यहाँको मौसम, प्रकृतिसँगै डर, खुसी, एक्लोपन सबै एकैपटक भैरहेको छ।'
'उम्, सायद! कहाँ बसिरहेकी छौ नि?'
'रेशमी र म छौँ। लजमा बसेका छौँ। बिहानदेखिनै प्रत्येक घरमा जानुपर्छ। आफू पुग्दा कोही काममा, कोही खेतबारी, कोही खर्क गोठ गैसकेका हुन्छन्। घरमा मान्छे भेट्न मुस्किल छ। गाह्रो हुने रहेछ। हिजो बुढी आमालाई पकाउन हेल्प गरेको नि। घरमा एक्लै हुनुहुँदो रहेछ। छोराछोरी कोही सहर कोही विदेश।
आगो फुक्न नजानेर बासको ढुंग्रीबाट आएको धुँवाले आँसु कति धेरै आयो। तिमीले गिफ्ट दिएको पर्पल स्विटरमा खरानीको दाग बेस्सरी बसेको छ। आँसुको दाग अझै छ। त्यो पिरो धुँवा भुलेर शेर्पिनी बुढी आमाको बिलौना सुनेर सम्झाउँदै बिताएँ नि।'
मान्छेको भावना बुझ्ने छिन् जस्तो पहिले लागेको थिएन। 'आफ्नो ख्याल गर, टाइममा खाऊ, चिसोबाट सेफ हौ ल' रिस भित्र भित्रै दबाएर भनेँ।
'सुन न, म एक महिना यही बस्नु पर्ने भयो। तिमी आउन मिल्छ?'
लोट्री परेको भान भयो। तर पनि भनेँ 'प्राक्टिकल तिम्रो अनि म किन नि?'
'तिमी आउँदा हेल्प हुन्छ नि। रफ तिमी लेख, म फेयर गर्छु नि। सँगै सँगै हिँडम्ला। जिन्दगी नि सँग सँगै बिताउनु छ। एक महिनासम्म म कसरी बसूँ। उकुसमुकुस हुन्छ। छट्पटी हुन्छ।'
'रेशमी छिन् नि?'
'उनको अलग मेरो अलग हुन्छ। रिसर्च अलग, थेसिस अलग।'
'म आएपछि लेख्ने र हिड्ने मात्रै कि?'
'अरु के चाहियो त?'
'तिमीलाई थाहा छदै छ नि।'
'बिहेअघि नो चान्स।'
'रुम त एउटै हुन्छ नि?'
उम्, बेड नि एउटै हुन सक्छ तर सबै आफ्टर म्यारिज। आइ ट्रस्ट यू डियर लभ।'
'हेल्लो!' बोल्दा बोल्दै फोन कट्छ। ट्राई गरेँ फोन स्विच्डअफ भन्यो। सोचेँ, ब्याट्री सकियो होला। फोन हप्तौँ लागेन। साथीहरुसँग कन्ट्याक गरेँ। पछि सुनेँ घर आइसकिन् भन्ने।
भेट्ने बुझ्न खोजेँ तर सकिँदै सकिएन। पछि 'ह्याप्पी म्यारिड लाइफ डियर मौसमी' भनेर सन्ध्याले फेसबुकमा राखेपछि आकाश खसे जस्तो भयो, धर्ती फाटे जस्तो भयो।
अनि मैले डायरीको चेपमा फूलको थुंगा थपक्क राखेर लेख्न सुरु गरेँ-
तल देउरालीसम्म पुर्याउन आएकी तिमीले छुट्टिने बेला आफ्नै शिरमा सिउरेको फूल निकालेर उपहार दिएकी थियौ। आज पनि प्रत्येक दिन डायरी पल्टाउँदा त्यही फूल सुस्तरी छाम्छु। सुकिसकेको छ थुंगा तर पनि छाम्छु।
डायरीको चेपमा राख्दा राख्दै रंगहरू उडिसकेका छन्। तर त्यो सुकेको फूलले हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्दैन नि। कुनै शंकाको बतासले नझार्ने तिम्रो प्यारको थुंगा त मनमा फुलिसकेको छ उहिल्यै। कुनै भ्रमको असिनाले नझार्ने डालीमा झुलिसकेकी छ्यौ तिमी। त्यसैले आँगनभरि झरेका फूलहरू छामेर नरूनु है तिमी।
जुन देउरालीमा तिमीले फक्रेको फूल दिएर बिदाइ गरेकी थियौ, ऊ फर्केन आजसम्म भनेर उदास उदास नहुनु।