'काका तपाईंको फोन आएको छ।'
'उठाउन, म सर्टमा आइरन गर्दै छु।'
शृंखलाले फोन उठाउँछे, 'नानी, काका हुनुहुन्न? फोन दिन मिल्छ? इमर्जेन्सी कल आएको छ भनेर देऊ न ल।'
'काका इमर्जेन्सी रे।'
'खै ले त।'
'हेलो, किसु सञ्चै छौ? म घर आउने भन्या लिन आऊ न है?'
'अहो लाज लाग्दैन तलाईं? कहिल्यै मेरो घर चाहिँदैन जस्तो गरेर म बिरामी भएको मौका पारी यत्रा दिन माइतै रमिता गरेर बस्ने अनि लिन बोलाउने? राजा रामजस्तो होइन म बुझिस्, पोइला गएकी श्रीमती ल्याएर गृहिणी बनाउने। मेरो खानदान कस्तो छ? थाहा छैन तलाईं?'
सीताको हातबाट बोल्दै गरेको मोबाइल भुइँमा खस्छ। आँखाअगाडि कालो पर्दा लाग्छ। सपनाजस्तो ठान्छिन्। कोठामा पसेर सिरानीले डाँकोलाई दबाएर कुँडिएको मनको ताप हल्का बनाउँछिन्। निकै सुशील अनि सहनशील स्वाभावकी सीता वास्तवमै सीताभन्दा कम थिइनन्। उनको एउटै कमजोरी वा सबल पक्ष भनौं, सदैव मुस्कानले आफूलाई सजाउने, नहाँसी बोल्न नसक्ने। उनको यही बानीले सबैखाले मानिस उनीसँग नजिकिन्थे।
किसु गाउँको सहकारीमा काम गर्थे। वर्षको अन्त्यमा हुने साधारणसभाको सांस्कृतिक कार्यक्रममा सीताको नृत्यबाट उनी निकै प्रभावित भए। त्यही दिनबाट किसु सीताको मायामा परेका थिए। गाउँमा किस्ता उठाउन कहिल्यै जान नमान्ने मान्छे उनको मायाले गर्दा सबभन्दा पहिला सुटबुट लाएर पाइला सारिहाल्थे।
गाउँ जाने आउने क्रममा उनी सीतासँग निकै नजिक हुन थाले। ऐना हेर्दै मुस्कुराउँथे। कहिले ठाडो सिउँदो गरेर कपाल मिलाउँथे त कहिले आफ्नो जीउ दराजको ऐनामा तन्किई तन्किई हेर्थे। एक्लै मुस्कुराउनु, मीठा प्रेम गीत गुनगुनाउनुजस्ता प्रेमका लक्षण देखिन थालेका थिए किसुमा।
सीता आफ्नी फुपूको घर बसेर पढ्दै थिइन्। भर्खरै ब्याचलर फस्ट इअर पढ्दै गरेकी सीता किसुसँगको प्रेममा अझिल्न पुगिन्। समय बित्दै जाँदा उनीहरूको प्रेममा रङ थपिँदै गयो।
एकदिन सीताले किसुलाई भेट्न बोलाइन्। उजेली भञ्ज्याङमा सीता किसुलाई कुरेर बसिरहेकी थिइन्। किसुले बाइक नजिकै लगेर रोके।
'यो भञ्ज्याङमा पनि के भेट्न बोलाएकी लाटी? जाऊँ हिँड तल बजारको रेस्टुरेन्टमा। बसेर कफी खाँदै गफ गरौंला।'
'किसु कफी खाने समय छैन। गाउँबाट काका लिन आउनुभएको छ। अब घर जाने रे। आमा बिरामी हुनुहुन्छ रे। खै उतै पढ्ने कुरा गर्दै हुनुहुन्छ। हाम्रो भेट यतिमै सीमित होला जस्तो छ किसु।'
'के कुरा गरेकी तिमीले? म घरमा कुरा गरेर तिम्रो हात माग्न आइहाल्छु। तिमी बिनाको मेरो जीवन फिक्का बन्छ सीता।'
किसुले घरमा कुरा गर्छन्। केटीको घर, बुवाआमा, सबैको नालीबेली बुझिन्छ। किसुकी दिदी चिनुको गाउँमै सीताको घर थियो।
दिदीले किसुकी आमालाई सबै कुरा सुनाइन्, 'आमा केटीको बाउ छैनन्। बितेको धेरै भयो। खै त्यस्तो घर के बिहे गर्ने हो? दाजुभाइ पनि छैनन्। त्यही एउटी छोरी मात्रै हो। आमा पनि रोगी छन्। भाइले दुःख पाउला। आमा मिलेसम्म भाइलाई अर्कै केटी हेरौं भो।'
आमाले भनिन्, 'खै तेरो भाइलाई तैं सम्झा। त्यही केटी भनेर झुत्ती लाएको छ। के-के गरेर मेरो छोरालाई फसाइछ कुन्नि?'
आमा-दिदीले खुबै सम्झाउन खोजे, किसुले कसैको सुनेनन्। सीतासँग बिहे पक्का भयो।
सीता आमाको प्यारो काख छोडेर कर्मघर आएकी थिइन्। उनलाई घरको चलन अनि हरेक वस्तु बिराना लागेका थिए। माइती र आमाको सम्झनामा दिन बितिरहेका थिए। यत्तिकैमा एकदिन किसु निकै बिरामी परे। सीताले रातभर जागेर उनको निकै ख्याल राखिन्।
भोलिपल्ट किसुको आमा भन्छिन्, 'सीता माइतमा आमा निकै बिरामी हुनुभाछ रे। यहाँ त हामी छौं किसुको ख्याल राख्ने। उहाँ आमा एक्लै हुनुन्छ। तिमी आजै जाऊ। फेरि किसुलाई नसुनाऊ है, पिर मान्छ उसले।'
'हस् आमा' भन्दै सीता आफ्नो लुगाफाटो मिलाउँछिन्। किसु निदाइरहेका थिए। उनको अनुहारमा हेरेर बरर आँसु झार्दै सीता माइत जान निस्किन्छिन्।
किसु उठ्छन् अनि सोध्छन्, 'आमा सीता खै?'
'सीता त माइत गई बाबु! किसु यस्तो बिरामी छ, नजा, पछि जालिस् भनेको मानिन। तँलाई खुब माया गर्दी रैछे है,' आमा उनीहरूको किसु र सीताको मायामा आगो झोस्छिन्।
किसु निन्याउरो मुख लगाउँछन्। सीतालाई फोन गर्छन्। तर फोन जहिले पनि बिजी भन्छ। आफ्नी दिदीलाई फोन गर्छन्।
'बाबु सीता त खै यही गाउँको दाइसँग हिँडेको दुई दिन भयो। अझै घर आएकी छैन। आजभोलि त मेरो घर पनि खासै आउँदिन। त्यसको चाला ठीक लागेको छैन बाबु मलाई त,' दिदी आगोमा घिउ थप्छिन्।
किसुलाई निकै रिस उठ्छ। फोन काटिदिन्छन्। अनि आफ्नो फोन स्वीच अफ गरेर अफिस जान्छन्। तीन दिनपछि बेलुका सीताले आफ्नी आमाको फोनबाट किसुलाई फोन गर्छिन्। सीताले किसुलाई लिन बोलाउँछिन्। तर किसुको मनमा उनीप्रति घृणा जागिसकेको थियो। नानाथरीका कुरा सुनाएर फोन काटिदिन्छन्।
यसरी खटपट हुँदाहँदै दिन कटिरहेको थियो। गाउँमा महिलाहरू सीता र किसुको खासखुस कुरा गर्न थालेका थिए। कतिले त किसुलाई अर्को बिहे गर्न उक्साउँथे। घरमा आमा र दिदीले पनि सीतालाई 'डिभोर्स दे' भनेर आजित पारेका थिए।
केही समयपछि किसु आफ्नो ससुराली गाउँको नजिकैको स्कुल पुग्छन्। निकै सुन्दर वस्तीमा रहेको त्यो स्कुल–क्यान्टिनमा चिया खान बस्छन्। चिया खाँदै गर्दा एउटी सानी बच्ची चार खुट्टाले हिँडेर उनको नजिक आउँछिन्।
'ल यो नानी कति हिँड्न सकेकी हो। तिम्रो ममी बुबु खुवाउन आउने बेला भो। ल सानु, मेरो हाक्का आऊ,' क्यान्टिनकी साहुनी भन्छिन्।
किसुले सोध्छन्, 'यी बच्चा तपाईंको होइन र?'
'होइन, बिचरी हाम्रो एक जना म्याम हुनुहुन्छ। बिहे भएको छ महिनाबाटै बुढोले केही वास्ता गरेनछन्। झगडा भाको पनि होइन रहेछ। आमा बिरामी छन् भनी सासूले बुढो बिरामी भएका बेला माइत पठाको रे! उहाँ माइत आइपुग्दा आमालाई बिसेक भइसकेको थियो। बरू आफैं भोलिपल्टबाट बिरामी भएर धेरै दिनसम्म थलिनुभयो। धन्न मेरा बुढाले समयमै अस्पताल पुर्याउनुभयो र बच्नुभयो।'
उनले अझै विस्तार लाइन्, 'अस्पतालबाट आएपछि आफ्नो पेटमा बच्चा भएको खुसीको कुरा सुनाउन बुढोलाई फोन गरेको, नानाथरी भनेर फोन राखेछन्। त्यसपछि के छ, कसो छ, केही सोधखोज भएनछ। बिचरी यस्ती सानी बच्चा लिएर यो स्कुल पढाउनुहुन्छ। पेट पाल्नै पर्यो। छोरी मान्छेको भाग्य के हो के? गतिलो बुढो परेन भने जिन्दगीभर रुनुपर्ने। यो बच्चीको पनि अपराध नै भयो कठै! हामी त भर्खर यो गाउँमा आएका हौं। उहाँकी आमा पनि छोरीको हालत देखेर साह्रै दुःखी हुनु भाछ।'
किसुलाई करेन्ट लागेजस्तो हुन्छ। साहुनीका कुराले ती म्यामको नाम उनले सोध्न सकेनन्। बच्चीलाई छुन खोज्छन् तर उनको हात काम्छ। उनको मनले आफ्नो गल्ती स्वीकारिसकेको थियो।
उनले मोबाइलमा सीताको नम्बर चेक गर्छन्, नम्बर ब्लक लिस्टमा थियो। त्यसैले उताबाट सीताले सम्पर्क गर्न खोज्दा सधैं बिजी हुन्थ्यो। किसुले अब आफू र सीताबीच फाटो ल्याउने आफ्नै आमा र दिदीको षड्यन्त्र राम्रोसँग बुझे।
उनीहरूले 'त्यो केटी बिहे नगर, लाहुरेकी छोरीसँग धूमधाम गर्ने हो' भनी लाख बिन्ती बिसाउँदा पनि उनले सीतालाई नै आफ्नो रोजाइमा राख्नुको बदला थियो सायद।
अब भने आफ्नो परिवारलाई कसरी बचाउने भन्ने पाठ किसुले बुझेका थिए। आमालाई खुसी राख्न आफ्नी श्रीमतीमाथि अन्याय हुन नदिनु र श्रीमतीलाई खुसी राख्न आमाको अपमान हुन नदिनु एक विवेकशील पुरुषको उत्तरदायित्व हो।
किसुले सीतालाई फोन गर्छन्।
'सीता सञ्चै छौ? मिल्छ भने मलाई माफ गरिदेऊ। साँच्चै म त रामजस्तो भएछु। अरूको कुरा सुनेर आफ्नै प्रेमलाई बलि दिने। आफ्नो प्रेममा विश्वास गर्न नसक्नु मेरो कमजोरी थियो। म तिमीलाई लिन आउँछु।'
सीता आफ्नो पेटमा जलिरहेको आगो मुस्कानको माधुर्यले निभाउँदै भन्छिन्, 'म रामजस्तो होइन, विवेकशील मान्छे पति भएकोमा खुसी छु।'
जसले जस्तोसुकै महाभारत रचे पनि नारीलाई श्रीमानको साथ मिल्छ भने सबै पात्र गौण बन्छन्। सीताको जीवन पनि किसुको साथले सुन्दर बन्दै जान्छ।