स्निग्ध मुहार त्यो हिमालको आज कहीँ कतै हराएको छ
मन लोलाएर होला
फेदमा बग्ने नदी पनि किन हो सुस्ताएको छ।
मैले कति हेरे रंगी-बिरंगी फूलहरू
ती रमाएका थिए असाध्यै पखेराहरुमा
मैले कति खेलेँ हिमालका छायाहरुसँग
ती पुलकित हुँदै मुस्कुराएका थिए पानीका तरंगहरुसँग
धमिलो आकाश भएर होला
उज्यालो कण प्रभातको आज कहीं कतै हराएको छ
अभिमानका प्रयत्नहरू जेलिएर होला
धरतीको आँखा खोइ किन हो आज कहीं कतै निस्ताएको छ।
मैले कति चुमेँ उत्साहका सपनाहरू
ती हौसिएका थिए असाध्यै गोधूलिका उत्सर्गहरुमा
मैले कति बिराएँ आशाका खेतहरू
ती अंकुरिएका थिए रमाउँदै विश्वासका गह्राहरुमा
तर आज,
मन गलेको छ- क्षितिजमा हाँसोको कुनै आभा छैन
उज्यालो रुग्ण छ- गोधूलिमा कुनै रौनकको नशा छैन
मुना चाउरिएको छ- गह्राहरुमा शीतको कुनै मुस्कुराहट छैन।
म भन्छु-
जरा लुटिएको छ सपनाको
जीवन लुटिएको छ आस्थाको
हाँगा-बिँगाहरू घाइते छन् विश्वासको
पखेराहरू चिथोरिएका छन् भरोसाको
धमिलिएका छन् तरंगहरू उत्साहको।
सायद! मेरो चोटले नै होला
स्निग्ध मुहार त्यो हिमालको आज कहीं कतै हराएको
सायद! मेरो स्वार्थले नै होला
उज्यालो कण प्रभातको आज कहीं कतै बिलाएको
सायद, मेरो अभिमानले नै होला
धरतीको आँखा आज कहीं कतै निस्ताएको।