धिक्कार छ!
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ अनियमितता भएको ठहर,
नागरिक अभियन्ताले सडकबाट गर्नुपर्छ,
तर, यही काम गर्न खटिएका ती कर्मचारीलाई,
जनताले कर तिरी तिरी पाल्नुपर्छ।
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ, बलात्कृत चेलीका लागि न्याय माग्न,
जनता माइतीघरमा पुग्नुपर्छ।
तर, न्याय दिन अदालतमा बसेका कर्मचारीलाई,
जनताले कर तिरी तिरी पाल्नुपर्छ,
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई!
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ, लुट्न नपाएको नेताको एउटा झुण्डलाई,
सडकमा जनता आफैले सुरक्षा दिनुपर्छ र,
लुट्न पाइरहेको अर्को झुण्डलाई,
कर, रेमिट्यान्स र भन्सारको खजाना,
खुवाइ खुवाइ पाल्नुपर्दछ,
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ उनैको सत्तास्वार्थकै लागि मात्र,
गरिब जनताले आफ्नै टाउको अनि
गरिबकै ट्याक्सी फुटाउनु पर्दछ।
धिक्कार छ
अझै पनि यस्तो व्यवस्थालाई।
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ आफ्नो कामको ज्याला माग्न,
प्रदर्शनमा उत्रिनु पर्दछ,
यदि मालिकको पहुँच माथिसम्म रहेछ भने त,
तिनै किसान र मजदुरहरूले,
उपहारस्वरुप लाठी, फोहोरा, गोली सहनुपर्दछ।
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ, बहाना बनाई बनाई आफैलाई लुट्नेलाई,
कहिले प्रतिपक्ष त कहिले सरकार मानेर,
उनैको प्रदर्शनकारी बन्नुपर्छ।
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई।
धिक्कार छ,
अझै पनि यस्तो व्यवस्थालाई,
जहाँ, प्रकृतिको अपार सम्पदा हुँदा हुँदै,
जहाँ, वीर अनि मेहनती जनता हुँदा हुँदै,
देशको गरिबी र जनताको बाध्यताताई,
माग्ने भाँडो बनाएर,
कहिले आफैले पालेका कर्मचारीबाट त,
कहिले आफैले छानेका प्रतिनिधिबाटै,
पटक पटक ठगिनु र लुटिनुपर्छ।
त्यसैले,
धिक्कार छ,
अझै पनि यस्तो शासन व्यवस्थालाई,
अनि अझै पनि नचेतिएको हाम्रो चेतनालाई।