महेशलाई सबेरै शौचालय जान मन लाग्यो। सहयोगका लागि श्रीमती शिलालाई बोलायो। उनी आइनन्। फेरि चर्को आवाजले बोलायो। अत्तोपत्तो छैन। नबोलाउँदा पनि पटक पटक चर्पी जाने कि बारे सोध्ने शिला आज कता लागिछन्! कतै उनलाई बिसन्चो त भएन भन्ने उस्लाई लाग्यो।
उठेर हिड्ने सामर्थ्य ऊसँग थिएन। एकछिन बिस्तारामै बस्यो। उनको भेउ नपाएपछि उसमा छटपटी बढ्यो। तैपनि घ्रसँदै कोठाको ढोकासम्म पुग्यो। उनलाई देखेन। के भएको हो उस्ले ठम्माउनै सकेन।
हत्तपत्त बुबाआमालाई बोलायो। आमा आइपुग्नु भयो। उहाँ पनि शिलाबारे अनविज्ञ हुनु हुँदो रहेछ। बाहिर बतै जाँदा केही दुर्घटना त भएन भन्ने उसलाई आशंका लाग्यो। उसको होस हवास उड्यो।
हत्तपत्त मोबाइल फोन तान्यो। उनको नम्बर डायल गर्यो। फोन उठेन। अब त निश्चय नै दुर्घटना नै भयो कि भन्ने लाग्यो। जिन्दगीलाई धिक्कार ठान्यो। ऊ हिँड्न सक्ने अवस्थामा थिएन। गणतान्त्रिक आन्दोलनको घाइते। जिउँदो सहिद। त्यसैले आमालाई उनका बारे यताउता बुझ्न भन्यो। आमा पनि बुहारीलाई खोज्न सम्भावित ठाउँहरुतिर लाग्नुभो।
यसो बिस्तारामा पल्टन लाग्दा सिरानीमुनी एउटा कागज भेट्यो। उस्ले पढ्न के तानेको थियो सुरुमै अप्रत्यासित शब्द देख्यो। मर्महात हुँदै पढ्दै गयो। 'मलाई माफ गर महेश... तिमीलाई अस्वीकार गर्ने चाहना हैन तर...'
उस्लाई आकाश खसेझैँ भयो। दिन होकी रात पत्तो भएन। एकपटक बलिन्धारा आँसु झार्दै रोयो। कसैको मन बुझ्न सकिँदो रहेनछ भन्ने लाग्यो।
'तिम्रो मन त ढुंगाको रहेछ। मैले ठानेको थिएँ तिमी सुगन्ध दिने फूल हौ। तर तिमी त काँडा रहेछौ। मैले तिमी हाँसो रोदनको जीवनसाथी ठानेँ, तिमी त सौन्दर्य, धन र योवनको भोको दैत्य रहेछौ।
मैले त तिमीलाई जीवनदिने बुटी सम्झेको थिएँ, तिमी त विष रहेछौ। छोटो साथ दिएझैँ गर्यौ। मिठो माया दिएको नाटक मञ्चन पनि गर्यौ। अनि मलाई बिरानो बनाइगयौँ। तिम्रो कुन्ठीत उद्धेश्य के हो मैले बुझ्न सकिनँ। तिमीलाई यत्रा वर्ष चिन्न सकिनँ' यो अभिव्यक्तिसँगै सुस्केरा हाल्यो।
फेरि सम्हालियो। पत्र त पढ्नै बाँकी छ। उनका मर्मस्पर्षी शब्दहरु पढ्न थाल्यो। यथार्थपरक व्यङ्ग्य मिश्रित अभिव्यक्तिहरु थिए त्यहाँ। उनले उसलाई हिँड्ने दिनसम्म पनि उचो हाइट भएको व्यक्ति ठानेकी रहिछन्।
उनले लेखेकी थिइन् 'तिमी देशका सपूत हौ। कुनै दिन राज्य संचालनका ठेकेदारहरुको सुद्धी फिर्नेछ। अनि तिमीजस्ताको सम्मान हुनेछ। तथापि त्यतिन्जेल समेत म यहाँ बस्दा तिमीलाई थप आर्थिक पर्नेछ। त्यसैले बाध्यतावस म तिमीबाट टाढा हुँदैछु। भौतिक रुपमा टाढा भएपनि म जीवनभर भावनामा तिमीसँगै रहने वाचा गर्दछु।'
अझै उसको मनै कुँडिने गरी उनले थपिन् 'मलाई तिमी जस्तो योद्धा, जिउँदो सहिदको श्रीमती हुँ भन्दा गर्व अनुभूति भइरहेको छ। बाचुन्जेल भइरहने छ। चिरकालसम्म भइरहने छ। तिमी विविध रुपमा अशक्त छौ। अन्तिम समयसम्म तिमीसँगै रहेर तिम्रो सेवा गरौँला भन्ने इच्छा गरिबीले पूरा हुन दिएन। त्यो सबै अब सपनामात्र रह्यो।'
आन्दोलनको माहौल स्मरण गर्दै उनले लेख्छिन् 'महेश, मलाई राम्रोसँग ज्ञात छ कि तिमी कति जुझारु युवा थियौ। आन्दोलनको अग्रभागमा रहेर भिडेका थियौँ। कतिपय भिडिओ क्लिपमा तिम्रो तातो रगतको पराक्रम अझै रहेका छन्। त्यसैले पश्चगमनलाई ठेगान लाउने तिम्रो चाहना पूरा भयो।
तर तिम्रो र मेरो जीवन भने ध्वस्त नै भयो। दलहरुले तिमीलाई प्रयोग गर्ने साधनमात्र बनाए। गणतन्त्रपछि देशका सबै ठूला दलहरु सरकारमा गए। तर तिमी जस्ता अशक्तहरुको आवाज कसैबाट सुन्ने प्रयास गरिएन। नेताहरुको नीति प्रयोग गर्यो, जब काम नलाग्ने भयो अनि कहीँ कतै मिल्काइदियो।'
उनले थपेकी थिइन् 'म तिमीलाई मेरो प्राण पखेरु रहेसम्म भावनात्मक रुपमा माया प्रेम गरिरहेको हुनेछु। म तिम्रो कारण प्रताडित हुनु कहिल्यै परेन बरु हाम्रो गरिबीले हामीलाई परालको आगोमा कहिलेकाहीँ धकेलेकै हो। एउटै विस्तारा प्रयोग गरेपछि ठेस त लागिहाल्छ। बस् यस्तै रुपमा लिनु हामीबीचका सामान्य असमझ्दारीहरुलाई।'
उनीहरुको गरिबीको प्रतिबिम्बस्वरुप उसले थपिन् 'सायद तिमीलाई थाहा नहुन सक्छ कि म कति दिन तिमीलाई खाना ख्वाएर भोकै बसेकी छु। भोकै रात कटाएकी छु। तिमी अपांग, अशक्त, घाइते भएका कारण तिम्रो भोक मार्नु मेरो पहिलो चाहना हुन्थ्यो।'
'महेश तिमीलाई बेलाबेलामा चिढाउने काम गरेँ हुँला। तर त्यो सब हाम्रो जीवनस्तर माथि उठ्न सक्छ कि भन्ने हेतुले मात्र थियो। महिला भएका कारण केही इच्छाहरु त जबरजस्त पलाउँथे। त्यसैले मैले तिमीलाई कहिलेकाहीँ मनका इच्छा पोख्थेँ।
मेरो को नै थियो र तिमीबाहेक सुखदुःख बाड्ने? माइतबाट हिँडेकी, उपल्लो जातको घरमा छिरेकी। परिवार, संस्कार र जातीय मान्यतामा आघात पुर्याएकी।'
'महेश मैले तिमीसँग केही गुनासो गरेँ होला। तर सम्भव हुनसक्नेसम्म मात्र गरेँ। तिम्रो नपुसंकताका विषयमा त प्रश्न गरिनँ। मैले सहर बजारमा गएर बसौँ, जागिर खोजौँ, व्यावसाय गरौँ, आधुनिक जीवनशैली अवलम्बन गरौँ भनेर भन्ने गर्थेँ। महिला न हुँ। कहिलेकाहीँ भावनामा बग्दा ती कुराहरु आँउथे। तर तिमीले त्यसैको परिणामस्वरुप तिमीलाई त्यागेँ भन्ने कहिल्यै नसोच्नु।'
भावनामा डुबेर उनले लेख्छिन् 'मेरो मुटु छ। भावना छ। मुटु हराएको छैन। मेरो मुटु यान्त्रिक हैन महेश। मानवीय भावनाहरु, सम्बन्धहरु, जीवन र मृत्यु मैले राम्रोसँग अनुभूत गरेको छु। आजका मानवीय सम्बन्धहरु भावनाका आधारमा नभएर नाफाघाटाका आधारमा निर्धारण हुने गरेका छन्।
प्रत्येक मानिसको मुटुले पहिला अर्कोसँग विकास हुने सम्बन्धको फाइदाको पाटो हेर्छ। अरुमाथि दया राखेर मात्र किमार्थ सम्बन्ध विकास गर्दैन। आफू घाटामा गएर कहिल्यै अरुमाथि करुणा राख्दैन।
कतिपय परिवारमा धन सम्पत्तिमा भएको लफडा आदिका कारण एउटै मुटु भनी जोडिएका लोग्नेस्वास्नीका सम्बन्धहरु टुटेका छन्। तथापि मैले तिमीसँग कहिल्यै नाफाघाटा र धनसम्पत्तिका सवालमा प्रश्न उठाइनँ। केवल तिम्रो दयनीय अवस्था देखेर म करुणा व्यक्त गर्थेँ। बस।'
उनले अझै चसक्क मन घोच्ने वाकांश थपिन् 'जतिसुकै कष्ट भएपनि जीवनभर तिमी हाँसेको हेर्ने मेरो इच्छा सदा टिक्न सकेन।'
यति पढेर सक्दा उसका आँखा थप खुले कि उनले वास्तवमा माया गर्दिरहेछिन् भनेर। पत्रमा अगाडि लेखिएको थियो 'मैले शारीरिक सम्बन्धलाई तिलाञ्जली दिएँ। कामवासनामा लम्पट हुने चाहना पूरै त्यागेँ। तिमीबाट असम्भव कुराहरुलाई कहिल्यै महत्व दिइनँ। न त परपुरुषसँग सहवासको प्रयत्न नै गरेँ। तिमी अपांग भएकै कारण म चित्त बुझाएर अर्को जुनिमा त्यो सब उपभोग गर्ने आशमा बसेँ।'
महेशलाई त्याग्नुको कारण बारे उनले थपिन् 'तर जैविक मन वा बास्ना थामिए पनि भोकमरीले पेटको आन्द्रा नै सुक्न थालेपछि म के गरु? मरु कि बाँचू? त्यसैले म यो निर्णय लिनपुगेँ।'
उसलाई महशुस हुनथाल्यो कि साँच्चै देशको जिउँदो सहिद भएकै कारण उनले उसलाई त्यागी र राजनीतिबाट धेरै टाढा रहेको पल्लो गाँउको एक अरबको लाउरेसँग नयाँ वैवाहिक सम्बन्ध गाँसेकी रहिछन्। त्यो युवा केही कमाउने तर मध्यम परिवारको रहेछ।
पत्र पूरा वाचन गरिसकेपछि उसलाई लाग्यो 'मैले सोचेँ कि म म्याद गुज्रेको औषधि न हुँ। उनले खाँदा पनि असर नखाँदा पनि। त्यसैले विकल्प रोज्नु स्वाभाविक हो। प्राकृतिक हो। परपुरुषसँग विवाह गरेको भएपनि अब उप्रान्त उनलाई दोषी ठान्ने छैने। देश र समाजले मन नपराएको ऐजेरु न हुँ म।'
उसले यथार्थ वकाल्दै भन्यो 'धत् मेरो समेतको कमजोरीका कारण मैले यो पारिवारिक वियोग सामना गर्नु परेको रहेछ। उसलाई अर्कोसँगगई भनेर दोष लगाउनु अन्याय नै हुने रहेछ।'
महेश वास्तविकताभन्दा पर कहिल्यै पुगेन। त्यसैले उसले सोच्यो 'विवाहपछि पुरुष र महिला एकै रथका दुई पाङ्ग्रामा परिणत हुन्छन्। त्यो रथ कति ठाउँमा बिग्रन्छ? कति दूरी यात्रा तय गर्छ? कति पटक दुर्घटनामा पर्छ? कुन पाङ्ग्रा पहिला बिग्रन्छ? कुन पछि?
त्यसैगरी रथ कहाँ गएर कतिखेर रोकिन्छ? अनि कहिले चल्नै नसक्ने भएर लिलाममा जान्छ? यी सब कुराहरुको पूर्वानुमान कसैलाई हुँदैन। वैवाहिक जीवनको यही अनिश्चयको शिकार म बनेँ। किनकि त्यो रथको बिग्रिएको पाङ्ग्रा म भएँ। रथ रोकियो। अनि सही सलामत भएको अर्को पाङ्ग्रा अर्थात् उनी अर्को रथमा दोस्रो पाङ्ग्रा बनेर गइन्। यो कुनै अन्यथा हैन।'
राजनीतिज्ञहरुले धोका दिएकै थिए। बाआमा स्वर्गबास भइसके। दिदी आफ्नो घरतिर व्यस्त। पत्नीले छाडेर गएपछि त उसलाई साहरा दिने कोही रहेन। ऊ वियोगको जीवन बाच्न बाध्य भयो त्यसपछिका दिनहरुमा।