मैले त छोडिसके नि
पत्रिका पढ्न अनि समाचार सुन्न
सक्छौ भने तिमी पनि
नजरअन्दाज गर्न सिक समाचार
हरेक दिन एउटै तर
फरक फरक उमेर अवस्थाका
बालिका अनि महिलामाथि घट्ने
ती दर्दनाक पीडाका ठेलीहरु कति पढ्नु?
हर रोज म रडियो बजाउँछु
शुभप्रभात सँगै सुरु गरे पनि
त्यो समाचारले शुभ कहिले बोलेन
सधैँ सधैँ चित्कार बोलिरह्यो
कहिले निर्दोश बालिकाको छ्ट्पटी
कहिले पीडित चेलीको रोदन
कहिले लाचार आमाको कोख
र धेरैजसो त न्याय रोइरह्यो
मेरा आँखाहरुबाट रगतका
बलिन्द्र धारा छुट्दैछ्न्
कानहरुमा विवश नारीको
असह्य चित्कार गुन्जिदैछ
भो अब त सहनै सक्दिनँ म
सहनशीलताको बाँध फुटिसक्यो
धैर्यताले सीमा नाघिसक्यो
कानुनबाट विश्वास उडिसक्यो
त्यसैले म तबसम्म समाचार हेर्दिनँ
जबसम्म बलात्कारी, हत्यारा अनि
रक्षकको खोल ओढेका भक्षकहरु
कानुनको दायराभित्र थुनिदैनन्,
पीडितले न्याय पाएको
शब्द अनि तस्बिर
पत्रिकामा छापिदैनन्
रडियोमा गुन्जिदैनन्।