मुटुभरि देशको माया
निधारमा जन्मभूमिको टीका
सिउँदोमा लालीगुँरास
शिरमा सगरमाथा
केचनाकवलमा पाउ राखी उभिँदा
मेरो सुन्दरतामा
रावण मोहित भई
कालापानीबाट अपहरण गरी
मेरो शरीरको स्वाधिनतामा रजाइँ गर्न लाग्दा
देशले मागे आफ्नो रगत बली चढाऊ भन्ने मेरा राम
आज मेरो गाँस र मिठो सासका लागि
अरबको मरुभूमिमा खरबको रगत र पसिनाले सिंचित गरेका छन्।
भू-स्वर्ग मेरो घर भन्दै गर्दा
हिमनदी, झरना र सदावहार वनको
आनन्द लिँदापनि किन किन
मेरो हृदयमा कहिलेकाहीँ जनयुद्ध, मधेस आन्दोलनका टाटा दुख्छन्
अनि शितयुद्ध नहोस् भनि पुकारा गर्दछु।
भन्न त भनिरहेछु
ममा जडीबुटी भण्डार छ
तर मेरो मुटुका टुक्रालाई कोरोनाले च्याप्दा
विदेशीले बनाएको भ्याक्सिनको आशमा
जुकरवर्गले बनाइदिएको फेसबुक भित्तामा
मेरा औँला घिसारिरहेकी छु।
मृत्युपछि रिपोर्ट आएको अनि
एम्बुलेन्सअघि शवबाहन देखेकी छु।
बग्दैन पानी नदीमा
मानिसको रगत बग्दछ भन्दा
अनुहारमा चमक ल्याउन
शान्तिपूर्ण मुलुक भन्न नथाक्ने मेरा ओठ
पोहोर छोरी निर्मला
अहिले भागरथीमा
पापीको कुदृष्टि पर्दा
छोरी भई जन्मिनु अभिसाप हो भनिरहेका थिए।
तर आज छोरा प्रेम कायम राख्न खोजेको बेला
मेरो काख रित्तिदा
भेरीमा अस्मिता बग्यो वा विभेद वा असमानता
बुझ्न नसकी नदीमा सफा पानी बगोस्
चुरोटका खिल्लीसँग न्याय नसाटियोस्
छाला, लिंग, जातीय विभेदका काला बादल नलागोस्
भनी सामाजिक कलंक विरुद्धको आशा नियाली बसेकी छु।