आफ्नो सपना साकार पार्न सरला सहर पसिन्। गाउँबाट टाढा एक्लै शसरमा बसेर आफ्नो खर्च चलाउन एक जना चिनेको मान्छेको कारखानामा काम गर्दै संघर्षका साथ उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी थिइन्। सहरमा एक्लै बसेकी छोरी के कस्ता काम पो गर्छे भन्दै गाउँमा कुरा काट्नेहरूको कमी थिएन।
सुन्दर तथा यौवनले भरपुर उनलाई सहरमा एक्लै बस्न साँच्चै गाह्रो थियो। गाडीमा होस् या बाटो,कलेजमा होस् या काम गर्ने ठाउँमा उनको योवनलाई देखेर लालयित नहुने कमै भेटिन्थे।
कलेजमा फेक आई लभ यू भन्नेहरूले पनि उनलाई धेरै नै सताइरहेका हुन्थे। लामो बाटो पार गरी छुट्टीमा घर जाँदा पनि उनले कहिले चिनेकाबाट त कहिले अन्जानबाटै गाडीको एउटै सिटमा बस्दा दुर्व्यवहारको सिकार हुनुपथ्र्यो।
जवान छोरीले अब बिहे गर्नुपर्छ भन्दै उनका घरबाट आउने गरेको दबाव र गिद्धे नजरबाट बच्न पनि उनले बिहे गर्ने निधो गरिन्।
दुर्गम गाउँमा पढेर पनि त्यतिबेला एसएलसीमा राम्रो अंक ल्याएर पास भएकी उनले उचित वातावरण नमिल्दा आफूले सोचे जति प्रगति गर्न पाएकी थिइनन्।
कारखानामा काम गर्दैगर्दा गाउँकै एक जना जात मिल्नेसँग उनको बिहे भयो। उनका श्रीमान सानोतिनो जागिर गर्थे। दुई चार दिन बिहेको रमाइलो पनि नगरी बिहान-बेलुकी घर तथा दिउँसो कारखानाको कामले उनलाई थिच्यो।
आफ्नो उच्च शिक्षा हासिल गर्ने सपनालाई तिलान्जली दिनुपर्यो। दिनभरि कारखानाको कडा ड्युटीसँगै उनले एक दुईचोटि लोक सेवाको परीक्षा नदिएकी पनि होइनन्। तर दिनभरि अफिसको काम, बिहान बेलुकी घरको कामले राम्रोसँग तयारी गर्न नपाएपछि लोक सेवा पास गर्न सजिलो कहाँ थियो र! उनका लागि।
बिहे भएको एक वर्ष मात्र पुगेको थियो। गाउँमा रहेका परिवारले सन्तानको लागि दबाव दिन थाले। नभन्दै अर्को वर्ष शल्यक्रियामार्फत् पहिलो सन्तानको रूपमा सरलाले छोरी जन्माइन्।
पहिलो सन्तान नै छोरी जन्मिएकोमा उनको परिवार खुसी नभए पनि धेरै दुखी पनि थिएन। कारण त्यसपछि छोरा पाउने आशाहरू जीवितै थिए। मुश्किलले बिदा पाउने कारखानाबाट आफूले पाएको दुई महिना सुत्केरी बिदा उनले पलपल साचेर रमाइलो गरी छोरीसँग बिताइन्।
दुई महिना बिदा सकिनै लागेको थियो। उनी राम्ररी तङ्ग्रिन सकेकी थिइनन्। बेलाबेलामा पेट चिरेको घाउ चर्याउने गथ्र्यो।
अर्कोतिर आफूले छोडेर काममा जाँदा घरमा छोरीलाई हेरिदिने कोही थिएन। गाउँबाट पनि कोही आउने भएनन्। गाउँको काम छोडेर छोरी हेर्न के आउँथे र! सायद छोरा भएको भए हाम्फालेर आउँथे होलान्।
सरला ठूलो धर्मसंकटमा परिन्। सहरमा बसेर श्रीमानको कमाइले मात्र घर खर्च चलाउन असम्भव जस्तै थियो। उनले जागिर छोडनुभन्दा पनि छोरी हेर्नको लागि माइतीबाट आफ्नी आमालाई बोलाउने सोचिन्।
श्रीमानको स्वीकृति पाएपछि उनकी आमा तीन दिन लगाएर छोरीलाई अप्ठ्यारो परेको बेला गाउँको सबै काम छोडेर सहर पसिन्।
एकातिर आमाको न्यानो माया, अर्कोतिर काम छोड्नु नपर्दा सरला खुसी थिइन्। दिनहरू बित्दै गए। उनकी छोरी पनि एक वर्षकी भइन्। उनले कारखानाबाट उम्केर केही गर्न सकिराखेकी थिइनन्।
दुई वर्ष घरमा बसेर उच्च शिक्षा पढ्ने वा लोक सेवा भिड्ने उनको सोच थियो। घर व्यवहारमा फस्दै गर्दा उनले आफ्ना इच्छाहरू मार्नुपर्यो। आफूसँगै काम गर्ने कतिपय साथीहरूले पाँच हजारको जागिर छोडेर दुई वर्षमै धेरै प्रगति गरेको देख्दा उनको मन कुँडिन्थ्यो।
उनका कुनै साथीहरू अफिसर भएर भेट्न आउँथे भने कोही उच्च शिक्षा पूरा गरेर माथिल्लो कक्षा, क्याम्पसतिर पढाउन थालेका थिए।
कोही भने उच्च शिक्षा पढ्न भन्दै विदेशतिर लागेर उतै घरजम गरेर बसिसकेका थिए।
सरलालाई भने आफूले गरेको जागिरले मुश्किलले भाडा तिर्न र आफ्नो खाजा खर्च मात्रै चल्थ्यो। घर व्यवहारमा फसेर केही गर्न नसकेकोमा उनी बेलाबेला चिन्तित हुन्थिन्। उनको पीडा न कसैले बुझ्थे न नै बुझ्न चाहन्थे।
एकातिर छोरी हुर्किंदै थिइन्। छोरी साढे दुई वर्षकी भएपछि नर्सरीमा भर्ना गरेर उनकी आमा गाउँ फर्किन्। अर्कोतिर फेरि उनका घरपरिवारबाट अर्को सन्तानको रूपमा छोरा जन्माउनुपर्ने दबाव आउन थाल्यो। सरलालाई भने तुरून्तै अर्को सन्तान जन्माउने रहर थिएन।
पहिलो सन्तान हुर्काउन नै उनलाई धेरै कठिन भएको थियो। अफिस जाँदा आफूसँगै छोरीलाई पनि डोर्याउँदै, बोक्दै स्कुल छोड्ने गर्थिन्। उनकी छोरी चार वर्ष मात्र के पुगेकी थिइन् अचानक उनले मुटु हल्लाउने खबर सुनिन्। उनले अर्को सन्तानको रूपमा तुरून्तै छोरा नजन्माउने हो भने घरका सदस्यहरूले उनका श्रीमानको दोस्रो बिहे गरिदिने रे !
अहिले जस्तो दोस्रो बिहे गर्न नपाउने नियम कानुन त्यतिखेर बनेका थिएनन् वा बने पनि त्यति सारो लागू भएको कहीँ पनि देखिँदैनथ्यो। पुरूषहरूले सजिलैसँग आफूले चाहे जति बिहे गर्न सक्थे।
सरलामाथि पहाड खस्यो। यो संकबाट उम्किन तथा छोरीलाई पनि खेल्न साथी चाहिएकोले उनले दोस्रो सन्तान जन्माउने निधो गरिन्।
जब उनी दुई महिनाकी गर्भवती भइन्, उनलाई एक किसिमको चिन्ताले सताउन थाल्यो।
यदि फेरि पनि छोरी जन्मिइन् भने उनले तेस्रो सन्तान पनि जन्माउनु पर्नेछ, हैन भने उनका श्रीमानले दोस्रो बिहे गर्नेछन्।
पहिलो सन्तान शल्यक्रियामार्फत् जन्माएकोले दुईभन्दा बढी सन्तान जन्माउनु स्वास्थ्यको दृष्टिकोणले एकदमै जोखिम हुने कुरा डाक्टरले पहिले नै भनिसकेका थिए।
उनका श्रीमानले छोरा नै चाहिन्छ भन्ने दबाव नदिए पनि बुढेसकालको सहारा एउटा छोरा जन्मिन पाए हुन्थ्यो भन्ने उनको पनि इच्छा थियो।
श्रीमान–श्रीमतीकै सल्लाहमा एकदिन उनीहरू गर्भ जाँच गराउन गए। गर्भ जाँच गराउनु गैरकानुनी मानिन्छ। तर भने जति पैसा दिए सजिलै जाँच्न मिल्दो रहेछ। यो देखेर उनीहरू छक्क परे। सोचे- पैसा हुनेलाई कानुनले छेक्दो रहेनछ!
गर्भ जाँच भए पनि गर्भमा छोरी रहेको थाहा पाएपछि भने उनीहरू खिन्न भए। दोस्रो पनि छोरी जन्मिएपछि घरसमाजले कुरा काट्ने, छोरीकी आमा भनेर मुखामुख गर्ने, हेप्ने गरेको सरलाले पहिले पनि धेरै जनाको दोस्रो तथा तेस्रो पनि छोरी जन्मिँदा देखेकी थिइन्।
जीवनमा के बन्ने सपना थियो कता आएर अल्झियो भन्दै सरला निकै निराश भइन्। आफूभन्दा पढ्नमा निकै कमजोर सँगैका साथीहरूको व्यापार, व्यवसाय, जागिरमा भएको प्रगति देख्दा आफूले दु:ख गरी पढेकोमा उनी पछुताउँछिन्। बरू नपढेको भए यसरी पछुताएर जिन्दगी जिउनु पर्दैनथ्यो जस्तो लाग्न थाल्छ उनलाई।
गर्भावस्थाको अन्तिम महिनामा पनि उनी काममा धाउने गर्छिन्। प्रशस्त आरामको कमी र धेरैजसो दिनभरि उभिएर काम गर्नुपर्दा उनलाई धेरै गाह्रो हुने गथ्र्यो।
उनका परिवारले सरला दोस्रो पटक गर्भवती भएको कुरा थाहा पाउँदैनन्। पेटमा छोरी भएका कारणले उनीहरूले यसबारे घरमा कसैलाई भनेका पनि थिएनन्।
दोस्रो छोरीको जन्मपछि एकाएक खबर गाउँभरि पुग्छ। कतिपयले सहानुभूति देखाउँछन् त कतिले भाग्यलाई धिकार्छन्। करिब एक वर्षमात्रै बितेको हुँदो हो। उनका परिवारबाट फेरि बच्चा जन्माउन दबाव सुरू हुन्छ। घरको ‘चिराग’ एउटा छोरा नै चाहिन्छ हैन भने तिम्रा श्रीमानको लागि केटी हेरिसकेका छौं भन्ने आवाजहरू ज्वारभाटाजस्तै उठ्न थाल्छन्।
उनी आफूलाई बच्चा जन्माउने ‘मेसिन’ जस्तै ठान्छिन्।
केही सीप नलागेपछि कमजोर शरीससँगै उनी तेस्रो पटक गर्भवती हुन्छिन्। गाउँदेखि सहर, घरदेखि माइतसम्मका सबै देवीदेउताहरूलाई उनले छोरा जन्मियोस् भन्दै पैसा, बोका आदि भाकल राख्छिन्। मन्दिरहरू धाउँछिन्, पूजापाठ गर्छिन्।
दुई महिना पुगेपछि उनी श्रीमानलाई नभनि गर्भजाँच गराउन जान्छिन्। आफ्नो पालो कुर्दासम्म उनका हातखुट्टा लल्याकलुलुक भइसकेका हुन्छन्। यदि फेरि पनि पेटमा छोरी रहिछे भने के गर्ने होला ? यही सोचेरै हैरान हुन्छिन्।
गर्भ जाँच गराउने ठाउँमा कसैका हँसिला अनुहार त कसैका आँखामा आँसु देखेर उनी झनै अत्तालिन्छिन्।
आँखामा आँसु हुनेहरूको अवस्था पनि आफ्नो जस्तै होला भन्ठान्छिन्। निरास देखिनेहरूसँग बोल्न खोज्छिन्। आफ्ना मनका विरह पोख्न खोज्छिन्। तर त्यहाँ चिनेको कोही पनि हुँदैन। चुप लागेर कुनामा बसी सबैलाई नियालिरहन्छिन्।
त्यहाँ आउने जति सबैलाई भगवानले एउटा छोरा दिँदा उनको के नै हानी हुन्थ्यो र ? उनी मनमनै सोच्छिन्। पहिलो पटकमै छोरा जन्माउने महिलाहरू कति भाग्यमानी हुन्छन् होला भनि उनी सोच्छिन्।
आफ्नो पालो आउँदा उनी सबैकुरा बिर्सेर भगवानको नाम मात्र मनमा लिएर आँखा चिम्लेर पल्टेकी हुन्छिन्।
जब डाक्टरले गर्भमा छोरा रहेको बताउँछन्, उनको खुसीको सीमा नै हुँदैन। यो सुनेर खुसीले सरलाका आँखाबाट आँसुका धारा बग्न थाल्छन्। उनले संसारका सबै खुसी आफ्नै पोल्टामा आएजस्तै ठान्छिन्।
शरीर फूल जस्तै हलुका भएको अनुभव गर्छिन्।
उनी कतिखेर घर पुगिन् पत्तै हुँदैन। हतार-हतार यो कुरा श्रीमानलाई सुनाउँछिन्। उनका श्रीमान खुसी भए/नभएको पनि उनलाई मतलब हुँदैन। छोरा पाउने चुनौतीमा आफू पास भएको ठान्छिन्।
आफ्नो लागिभन्दा पनि अरूको लागि उनले छोरा पाइदिन लागेकी हुन्छिन्।
वर्षौं पहिलेको आफ्नै परिवार, समाजसँगको छोरा पाउने लडाँइ जितेको भए पनि अहिले आएर कोरोना भाइरसको महामारीका कारण वर्षौंदेखि दु:ख सुख गर्दै खाएको जागिर, कारखाना बन्द भएकोले गुमाउनु पर्दा भने उनी विछिप्त हुन्छिन्।