कविता
मसँग मेरो इच्छा
मसँग मेरो निर्णय
मसँग मेरो अस्तित्व
मसँग मेरो बोली
मसँग मेरो पाइला
मसँग मेरो स्वतन्त्रता
खोस्न खोज्ने तिमी
मलाई सिफारिशको कागजमा
सीमित गर्न खोज्ने तिमी
अधिकारलाई मेरो निचोरेर
कुण्ठित गर्न खोज्ने तिमी
के थियो तिमीसँग सिफारिश
त्यो कोखमा नौ महिना रजाइँ गर्ने?
के थियो तिमीसँग सिफारिश
आमाको स्तनमा लात हान्दै दुध चुस्ने?
र के थियो तिमीसँग सिफारिश
मेरो अस्मितामाथि गिद्धे नजर हाल्ने?
जाऊ लिएर आऊ आफैं सिफारिश
म होइन दानव म हुँ मानव भनेर,
जाऊ लिएर आऊ आफैं सिफारिश
म पनि समाजमा अटाऊँ भनेर,
पहिले लिएर आऊ आफैं सिफारिश
नत्र म जस्ता कालीले गर्नेछन् वध
तिम्रो त्यो कायर छातीमा टेकेर
नत्र म जस्ता कालीले गर्नेछन् वध
तिम्रो त्यो अहँले उठेको शिर छेदेर ।