प्रिय तिमी बिदाइ भएर जाने दिन, घाम उदाएर झलमल्ल भइसक्दा पनि मनको कुनामा चुक घोप्टिए जस्तै लाग्छ। जताततै अध्यारो, जहितही अन्धकार।
मनै अध्यारो भएपछि हजार सूर्य उदाए पनि उज्यालो नहुने रहेछ। मनको ञलाई उज्यालो बनाइदिने तिमी थियौ, तिम्रै बिदाइ गर्दा मेरो मनको हालत कस्तो भयो होला?
जिल्ला प्रशासन कार्यालय, सल्यानको हाताभित्र कृषि विकास कार्यालयको गाडीले कुरिरहेको छ, त्यही गाडीमा पठाउँदैछु तिमीलाई नेपालगञ्जसम्मको लागि। जहाँबाट उड्नेछौ तिमी राजधानी सहर।
तिमी तयार भएर बसेकी छौ, आफ्ना सबै सामान मिलाएर। ढोकाको छेउमा रातो सुटकेस राजधानी हिड्नलाई तयार भएर बसेको जस्तै लाग्छ। किताब सहितको तिम्रो झोलाले राजधानीको लागि साइत तय गरेर बसेको छ, बिहानैदेखि।
हाते ब्याग पनि उस्तै अवस्थामा छ, लाग्छ ती सबै तिमीसँगै जान हतारिएका छन्। तर म, अहँ! तिमीलाई बिदाइ गर्नै सक्दिनँ। तिम्रो साथ खोजिरहन्छु।
बिहानै उठेर तिमीले बनाएको खाना तिमीसँगै खान्छु। डेक्चीभरि अघिल्लो दिन बनाएको मासु छोपिएर राखिएको छ, साइतको बेला भन्दै तिमी खाँदिनौ। तिमीले नखाए मलाई मात्र के रुच्थ्यो? म पनि खादिनँ।
गाडीले हर्न बजाउँछ। तिमी निस्कदै गर्दा तिम्रा सबै सामानहरु गाडीमा राखिदिन्छु। कृषि विकास कार्यालयका तीन जना साथीहरु त्यही गाडीमा बसिरहेका छन्, आ-आफ्ना घर जानको लागि, गाडीको अगाडिको सिट खाली राखिएको छ, तिम्रो लागि।
क्वाटरको दैलोबाट जब तिमी निस्कियौ, मन सम्हालिनै सकेन। तिम्रो मायाले थिचेजस्तै लाग्यो, आँखाले तिमीलाई खोज्न थाले, पाइलाले तिमीलाई नै पछ्याउन थाले।
मष्तिष्कले तुरुन्तै निर्णय गर्यो तिमीलाई नेपालगञ्जसम्म पर्याएर फर्कने। हतार हतार गरी कपडा फेरेँ मैले। मायाले किनिदिएको लेदरको ज्याकेट लगाएँ, पाइन्ट लगाएँ अनि पछ्याए तिमीलाई नै।
गाडी गुड्न तर्खर गर्दैगर्दा तिमीसँगै गाडीमा बसेँ म, झ्यालको छेउमा बस्यौ तिमी। खलंगाको डाँडोबाट हुइकियो गाडी सुर्खेतको लागि।
चैत्र महिनाको उराठ लाग्दो समय, विश्वभर फैलिएको कोरोना महामारीको त्रासले सुरु हुनै आटेको एसइईको परीक्षा रोकिएको थियो। परीक्षा सँगसँगै अरु क्रियाकलाप पनि रोकिदै थिए, सुस्त बन्दै थियो अर्थतन्त्र, त्राहीमाम बन्दै थियो समाज, सुरक्षित हुने उपाय खोज्दै थियो मुलुक।
लकडाउन बन्यो सबैभन्दा सुरक्षित उपाय। चैत्रको दोस्रो हप्तादेखि मुलुकभर लक डाउन सुरु हुँदै गर्दा हाम्रो लभ डाउन भएन र त काठमाडौँबाट पहिलो पटक क्षमताभन्दा दोब्बर बढी यात्रु राखेको नाइट बसमा गुम्सिदै, पिल्सिदै, तर्सिदै आइपुग्यौ तिमी सल्यानसम्म, मेरो समिपमा। तिम्रो आगमनले मेरा दिन सहज बन्दै गए र त पत्तै भएन, झन्डै नौ महिना बितेको।
खलंगा आसपासका कुनै पनि ठाँउ बाँकी भएनन्, नौ महिनाको अवधिमा। लुहापिङ नजिकै रहेको जंगल भयो हाम्रो डेटिङस्पट। जंगलको पूर्वपट्टिको सीतापाइलामा श्रीनगर बजार हेर्दै माया साट्यौँ हामीले।
जोर पिपलको चौतारीमा बसेर शारदा नदीका फाँट हेर्दै सध्याकालीन समय बिताउनुको मजा बेग्लै थियो। ठूल्धाराभन्दा माथि एकान्तमा रहेको ढिस्कुलोमा चाउचाउ खाँदै तिम्रो काखमा ढल्केर आकाश नियाल्दाको अनुभव अवर्णनीय थियो।
देउराली पुस्तकालयभन्दा भित्रको गल्लीमा लगाइएको पर्खालमा बसेर माया, प्रेम र जीन्दगीका कुरा गर्दाको अनुभूति अविष्मरणीय बन्यो। बडाखोलादेखि साहुटोलसम्मका गल्ली, हिमदृश्य पार्कदखि जैतपानीको स्याउ बगैँचा, डाँडागाँउदेखि ठन्डी सडक म्मका बस्तीहरु निकै रमाइला लाग्थे, जब तिमी साथमा हुन्थ्यौ।
साँझपख खलंगा बजार घुमेर फर्कदा नेपाल टेलिकमको छेउको उकालोमा सुस्ताउँदै खैराबाङ, मार्के, मदाना, दुल्धारा पोखरा, सिमखर्क अनि जैतपानीसम्म चम्किएका तारा जस्ता लाग्ने बत्तीहरु हेर्दा भूस्वर्गमा बसेको आभास दिन्थे।
तलपट्टि तारा जस्तै चम्किएका बत्तीहरु अनि आकाशमा उदाएको जूनले मोहनी लाउँथे हामीलाई। हाम्रो मायाको साक्षी बन्थे ती सबै सबै, लाग्थ्यो हाम्रो माया देखेर ती अझै चम्किएका छन्।
सुर्खेत पुग्दा झन्डै बाह्र बजेको थियो। साथी जयले आफ्नो घरमा मिठो खाना सहित आतिथ्यता प्रदान गर्छन्। उनकै घरको छेउमा रहेको बुलबुले ताल देखाउँछन् र बिदाइ गछन् हामीलाई। सल्यानबाट आएका सबै साथीहरु आ-आफ्नो थलोमा पुगिसकेका थिए, गाडीमा तिमी, म र गाडी चालक कमल मात्र थियौँ।
पहिलो पटक सुर्खेत पुगेकी तिमीलाई सुर्खेत घुमाउने रहर थियो। नेपालगञ्जबाट पाँच बजेको फ्लाइट थियो तिम्रो, धेरै समय थिएन तिमीसँग, तै पनि सुर्खेत घुमाउँछु तिमीलाई।
बुलबुले ताल, काक्रे विहार अनि देउती बज्यैसम्म हतारिदै पुग्छौँ हामी, हाम्रो मायाका साक्षी बन्छन् ती ठाँउ पनि। जिन्दगीका यादगार क्षण बन्छन् मन्दिरमा गरिएका दर्शन, मागेका बरदान अनि आशीर्वादहरु।
बर्दिया राष्ट्रिय निकुञ्जको जंगल प्रवेश गर्दा सायद तिमी थाकिसकेकी थियौँ, मेरो काँधमा शिर राखेर ढल्कन खोज्छ्यौ। म हात समाउँछु तिम्रो र काँध दिन्छु तिमीलाई, साथ दिन्छु तिमीलाई। मेरो काँधले जिन्दगीका हरेक यात्रामा तिमीलाई साथ दिइराखून्, कहिल्यै नथाकून् यस्तै सोच्छु म, तिमी निदाउछ्यौ, म भाग्यमानी ठान्छु आफूलाई।
गाडी गुडिरहेको थियो नेपालगञ्जतिर। कोहलपुर नजिकिँदै गर्दा लाग्थ्यो, तिमी टाढिदै छौँ, एक्लो बनाउँदै छौँ। कोहलपुर पुग्दा हल्का कुहिरो लागेको थियो। नेपालगञ्जको मौसमको संकेत गथ्यो त्यसले। भिजिविलिटी कम थियो, जहाज नउड्न सक्थ्यो। जहाज नउडे एकछिन, एकदिन भएपनि तिमीसँगै बस्नै पाउँथें म।
राँझा एयरपोर्ट पुग्दा बोर्डिङ टाइम सुरु भइसकेको थियो। मानिसहरु हतारिएका थिए बोर्डिङ पास लिन। लाइनमा बसेका थिए, सबैजना। तिम्रो सामानको सुरक्षा चाजँ गराएर लाइनमा बसेँ म पनि। तिमी छेउमा उभियौँ। काउन्टरबाट लिएको बोर्डिङ पास तिम्रो हातमा थमाउँदै गर्दा मेरा हात काँपिरहेका थिए, तिमीले पत्तै पाइनौँ।
फ्लाइट टाइम सुरु भइसकेको थियो। मानिसहरु भित्र प्रवेश गर्दै थिए। मन चाहन्थ्यो तिमीसँगै बसिराखूँ तर मनले चाहँदैमा नहुने रहेछ, व्यवहारले थिच्ने रहेछ, समयले जित्ने रहेछ। तिमी भित्री गेटतर्फ प्रवेश गर्दै गर्दा अंगालो हाल्छु तिमीलाई र बिदाइका हात हल्लाउँछु। तिमी एयरपोर्ट भित्र प्रवेश गर्दै गर्दा एयरपोर्टबाट बाहिरिन्छु म, भारी मन सहित।
कमलले कुरिरहेको थियो एयरपोर्ट बाहिर। गाडीमा बस्छु र तिम्रो अनुपस्थिति महशुस गर्छु। सल्यानबाट राँझासम्म आउँदा तिमीसँगै बसेको सिट खाली देख्दा आफै रित्तिन्छु। तिमी नहुँदाको नियास्रो अनुभव गर्छु र आँखा बन्द गर्छु। बन्द आँखा रसाउँछन्, मरुभूमिमा शीत परेजस्तै गरी।
म मान्छे उस्तै, तिमीलाई बिदाइ गर्दै गर्दा शुभयात्रा भन्नै बिर्सिछु। यात्रा शुभ रहोस् भन्ने कामना गर्छु, चिसो असाध्यै बढेको छ, ख्याल गर्नु भन्छु, मुटुभरिको माया सहितको म्यासेज पठाउँछु। म्यासेज सेन्ट हुँदै गर्दा मुटु नै सेन्ट भयो कि जस्तो लाग्छ, छाती च्वास्स दुख्छ।
'छोटो छ जिन्दगी, फोटो खिचेर राख
छिट्टै फर्कि आउँछु म, छिट्टै फर्कि आउँछु म
मुटु थिचेर राखेर'
गाडीमा यही गित बज्दै गर्दा सुर्खेत घुम्दाका तस्बिरहरु हेर्न थाल्छु। तस्बिरहरु तस्बिर जस्ता लाग्दैनन्, तिमी जस्तै लाग्छन्। मृगतुष्णाले छपक्क छोपेछ, आँखा अगाडि तिमी नै आएर मुस्कुरायौ।
बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सुनसान छ, गाडी एक तमासले गुडिरहेको छ। 'कान्छीको केश फिजारिएछ' भन्ने गीत घन्किरहँदा तिम्रो यादले झनै सताउँछ। तिमी नहुँदा निकुञ्ज पनि उराठ उराठ लाग्छ। फोन गर्छु तिमीलाई। जहाज उड्न आँटेको जानकारी गराउछ्यौ तिमी। ढुक्क हुन्छु म। घरमा पुगेपछि जानकारी गराउनु भन्दै फोन काट्छु।
झन्डै नौ बजे सिमखर्क ब्यारेक आइपुग्दा खलंगा बजार झलमल्ल देखिन्छ। जैतपानीबाट ओरालो झर्दै गर्दा तिम्रो यादले उकालो चढ्छ। हामीले माया साटेका धेरै ठाँउ देखिन्छन्।
साहुटोल अनि देउराली पुस्तकालय भित्रको गल्ली, बडाखोलाका वस्ती उस्तै छन्। हिमदृश्य पार्कले उस्तै गरी नियाली रहेको छ तिमी र म बसेको ठाँउलाई। सबै सबै उस्तै छ, उस्तै लाग्छ, फरक त म मात्र भएको छु। तिम्रो यादमा न हाँस्न सकेको छु, न त मुस्कुराउन।
साढे नौ बजे कोठा छिर्छु। कोठा पूरै अध्यारो छ, कोठा, कोठा जस्तो लाग्दैन। तिमी नभएको कोठा के कोठा हुन्थ्यो? तिमीले बनाएको मासुको बास्ना कोठाभरि छरिएको छ तर खाना त के हेर्नै मन लाग्दैन।
भित्री कोठाको ढोकाको छेउमा तिमी र म बस्ने दुईवटा कुर्सी छन्, उस्तैगरी मिलाएर राखिएका। दुई वटा सोफा छन् एकअर्कातिर फर्किएका। कोठाको उत्तर पूर्व कुनामा ठूलो खाट छ, त्यही खाटमा डङ्रङ्ग पल्टन्छु, चारैतिर हेर्छु, भित्ता बाहेक केही देख्दिनँ।
बत्ती निभाउँछु, सुत्ने प्रयास गर्छु तर निद्रै लाग्दैन। दायाँ कोल्टे फर्कन्छु, बायाँ कोल्टे फर्कन्छु तर आँखा झिमिक्क हुँदैनन्।
मध्यरात हुँदै गर्दा तिम्रो यादले झन् सताउँछ। तिमीसँग घुमेका पलहरु सम्झन्छु। तिम्रो बिदाइ गर्दै गर्दाका क्षणहरु सम्झन्छु। तिनै यादहरुले निदाउनै दिदैनन्। मोबाइल हातमा लिन्छु, युट्युव खोल्छु र पटक पटक सुन्छु, सुनिरहन्छु, अरुणा लामालाई।
एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ,
आँसु त्यसै झरिदिन्छ।