'टुंग टुंग' मोबाइलको घन्टीले उनको निन्द्रा खुल्यो।
रातको १२ बजेको थियो। उनले मोबाइल हेरे 'बधाइ छ मेजर सा’प कर्नेल हुनु भएकोमा।'
उनी अर्थात्, विश्वराज। १ महिना अगाडि सैनिक बढुवाको आवेदन दिएका थिए। नतिजा आएछ, बढुवा भएछन्। अँध्यारोमा पनि उनको चेहेराको उज्यालोले कोठामा प्रकाश छर्यो।
निन्द्रा खुलिसकेको थियो। फेरि सुतेनन्। कोठामा बत्ती बाले। श्रीमती सुतिरहेकी थिइन्।
आफूले पाएको उपलब्धि हेरे। भित्तामा विभिन्न मेडल थिए। पुरस्कार प्राप्त गरेका फोटो हेर्दा हेर्दै आफ्नो विगतमा पुगे।
डोटीको विकट ठाउँमा जन्मेका थिए विश्वराज। सानैमा बुवाले संसार छाडे। आमाले एक्लो छोरोलाई ज्याला-मजदुरी गरेर जेनतेन हुर्काइन्। भाग्यको लीला पनि कस्तो! सोह्र वर्षको कलिलो उमेरमा उनकी आमाले पनि संसार छाडिन्।
गाउँमा बसेर अब उभों लाग्ने नदेखेपछि उनी काठमाडौँ छिर्ने विचार गरे। गाउँमा भएको बचेकुचेको सम्पत्ति बेचेर विश्वराज काठमाडौँ हानिए।
आठ कक्षासम्म पढेका विश्वराजले काठमाडौँको नाम किताबमा मात्र पढेका थिए। सहर नौलो लाग्यो। पढाइको लालसा मेटिएको थिएन तर पढ्ने कसरी? न खर्च छ न काम।
नौलो सडकमा भौतारिदै गर्दा एउटा होटलमा काम पाए। दिउँसो होटलको काम गर्ने, राति विभिन्न पत्रपत्रिका खोज्दै पढ्दै गर्न थाले।
होटल साहुले उनको पढ्ने इच्छा देखेर उनलाई भने- 'हेर् केटा, तँलाई पढ्ने इच्छा रहेछ। खर्च त म धान्न सक्दिनँ। सरकारी स्कुलमा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन्छन्। एकचोटि बुझेर आइज। पढ्ने समय दिन्छु, काम छोड्न पाउदैनस्।'
विश्वराजले हुन्छ भनि सरकारी स्कुल धाउन थाले। तर जहाँ गएपनि सरकारी स्कुलको छात्रवृत्तिको लागि गरिब भएको सिफारिस ल्याउन भन्यो। विश्वराजलाई गाउँ फर्किने बाटो थिएन। होटल साहुसँग कुरा गरे।
होटल साहुले भने- 'हिँड मसँग। एउटा गाविसको अध्यक्ष चिनेको छु। अलिकति पकेट खर्च माग्छ, सिफारिस बनाइदिन्छ।'
विश्वराजलाई आश्चर्य लाग्यो। देख्दा देख्दै पनि एउटा साँचो सिफारिस बनाउन पैसा लाग्ने। तैपनि उनी गए। होटल साहुले गाविस अध्यक्षको अगाडि एउटा खाम राखेर 'यो केटाको गरिब तथा जेहेन्दार विद्यार्थी भनेर सिफारिस पत्र बनाइदिनु पर्यो' भनेर भने।
विश्वराज टुलुटुलु हेर्दै थिए। खाममा कति छ, साहुले मलाई दिने पैसाबाट काट्ने पो हुन् कि, मलाई धेरै काम लगाउने पो हुन् कि भनी अनेक तर्कना गर्दै थिए। गाविस अध्यक्षले उनको हातमा पत्र थमाइदिए।
त्यो पत्र लिएर उनी सरकारी विद्यालयमा छात्रवृत्तिका साथ पढ्न थाले। होटल साहुको गुनको उनले सदुपयोग गरेर कक्षा १२ उत्तीर्ण गरे।
सधैँजसो एकदिन पत्रिका हेर्दै थिए। नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टमा भर्ना खुलेछ। विश्वराजलाई सानैदेखि देशको सेवा गर्ने इच्छा। होटल साहुसँग कुरा गरे। सहमति पाएपछि आवेदन दिए, परीक्षा पनि दिए।
नतिजा आयो, अन्तर्वार्ताको लागि उनलाई बोलायो। अन्तर्वार्तामा एकजना अलि ठूला पदका मान्छे रहेछन्। उनले भने- 'हेर बाबु, नेपाली सेनाजस्तो पदमा काम गर्न डोनेसन चाहिन्छ। तिमी कति दिन सक्छौ? जसले धेरै दिन सक्छ, ऊ नै अब्बल ठहरिन्छ।'
विश्वराज चकित भए। परीक्षा दिएको कुनै अर्थ रहेन। डोनेसन दिन सक्ने हैसियत रहेन। तैपनि उनले एक दिनको समय मागे। ती अन्तर्वार्ता लिने मान्छेले भोलिपल्ट १० बजेको समय दियो र एउटा चिट पनि दियो।
विश्वराजले चिट खोलेर हेरे- 'सबैभन्दा धेरै ५ लाख डोनेसन आएको छ' उनले कुरा बुझे। सेनामा भर्ती हुनको लागि उनलाई ५ लाखभन्दा बढी रकम चाहियो।
५ लाख! अहिलेसम्म होटलमा काम गरेको जोर जम्मा गरे। ५ हजार पनि पुगेन। निन्याउरो अनुहार लिएर होटलमा काम गर्न गए। होटल साहुले सोधे- 'के भयो?'
उनले भएभरको कुरा बेलीविस्तार लगाए। साहुले भने- 'के गर्छस् केटा, नेपाल भ्रष्टहरुको ठाउँ हो। आफैले कमाउन पनि अरुलाई पैसा दिनुपर्छ। तँलाई पढाए लेखाए तर यो होटलको आम्दानीले म तँलाई यतिखेर सहयोग गर्न सक्दिनँ।'
विश्वराजले ठिकै छ, भाग्यले ठगेको मान्छे म, के नै गर्न सकिन्छ भनेर आफ्नो चित्त बुझाए।
भोलिपल्ट बिहान होटल साहु आए। विश्वराजलाई १० लाख रुपैयाँ थमाए। अनि भने- 'आज मैले होटल बेच्देँ। तैले धेरै दुख गरेको छस्, दुखपनि पाएको छस्। अहिले आफ्नो भविष्य बनाएस्। पछि मलाई तिर्लास्।'
विश्वराजलाई भगवान् अगाडि उपस्थित भएको जस्तो भयो। साहुको खुट्टा ढोगेर भने- 'बुवा, हजुरले मलाई आफ्नो छोरोभन्दा बढी गर्नुभयो। आशीर्वाद दिनुहोस्, म हजुरको ऋण यो जुनीमा केही गरे पनि तिर्न सक्दिनँ।'
विश्वराजले सोच्दा सोच्दै बिहान भएछ। श्रीमती आइन् र भनिन्- 'आज बुवाको मुख हेर्न जाने दिन। ससुराली जाने हैन?'
विश्वराजले 'हो' भन्ने इसारामा टाउको हल्लाए र जाउँ भने। दुवै श्रीमान् श्रीमती पहिले एउटा ५ तारे होटलमा गए। श्रीमतीलाई अचम्म लाग्यो- 'बुवाको मुख हेर्ने दिन ५ तारे होटल' सोच्दै थिइन्।
एकजना बुढो मान्छे त्यहाँ देखा परे। त्यही ५ तारे होटलको मालिक रहेछन्। विश्वराज तिनको खुट्टा ढोगेर नतमस्तक भएर उभिए। ती बुढाले उनलाई अँगालो हाले अनि भने- 'तैले मेरो १० लाख खेर फालिनस्। बरु बदलामा मलाई ५ तारे होटलको मालिक बनाइस्।'
विश्वराजको श्रीमतीले यो सब देखिन्। उनले सोधिन् 'को हुन् ती बुवा?'
विश्वराजले आफ्नो विगत सबै बेलिविस्तार लगाए र भने- 'मलाई संसारमा सबैभन्दा मन नपर्ने काम हो भ्रष्टाचार तर म आज कर्नेल भएको छु किन भन्दा, त्यही भ्रष्टाचार गरेर।'