हिँडिरहेछ
लम्किरहेछ
दौडिरहेछ
एक्काइसौँ शताब्दीको नेपाली
विचारमा शून्यता
संस्कृतिमा विचलन
भाषामा अशुद्धता बोकेर।
खाली नारा लाउँछ
घरि जय नेपाल भन्छ
घरि लाल सलाम अलाप्छ
झण्डा बोक्छ थरीथरी
क्रान्ति क्रान्ति क्रान्ति विलाप्छ।
शक्ति प्रर्दशनको प्यादा बनेर
मासुभातसँग मत साटेर
चर्को चर्को नारा लाउँछ
भाषणकै समृद्धिमा रमाउँछ
अस्ति क्रान्ति हिजो क्रान्ति
आज पनि फेरि किन चाहियो क्रान्ति?
क्रान्तिको राग अलापिरहेको
एक हुल गधाको पछाडि
भेडाको झुण्ड जस्तो बनेर
हिँडिरहेछ
लम्किरहेछ
दौडिरहेछ
एक्काइसौँ शताब्दीको नेपाली।