अदालतमा सम्बन्ध विच्छेदका लागि हस्ताक्षर र औंठा छाप लगाएको मसी सुक्न नपाउँदै झोलामा तिम्रो बुवाले हजार-हजारका थानहरु गनेर राख्दै गर्दा तिमीले ‘त्यत्रो पैसा झोलामा अट्छ’ भनी बुवासँग राखेको जिज्ञासा सुनेर म स्तब्ध भएको थिएँ।
बौद्धिक विकास नभएको अस्पतालले दिएको कागजी खोस्टो बाहेक हाम्रो कानुनतः तिमी सम्पत्तिको हिस्सेदार थियौ।
माघी बिहे सफल व्यवसायी भिनाजुकी भाउजूकी बहिनी पर्ने तिमीसँग अग्नीको ७ फेरो लगाएर जोडेको पवित्र नाता तोड्नु मेरो विवशता थियो।
युद्ध हारेको सिपाही जस्तै मेरा सपना उजाड बनाएर तिमी जाँदै गर्दा तिम्रा अन्तिम शब्द सुनेर बैवाहिक नाता सम्बन्धबाट दायित्वरहीत तवरले अलग भई मुक्ति पाएकोमा भने म खुसी भएको थिएँ।
हाम्रो सम्बन्ध विच्छेदको पहिलो वर्ष गाँठ नपुग्दै तिमीले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठायौ। तिम्रो रिक्वेस्ट आएसँगै तिम्रो अनुहार सम्झिएर दया लागे पनि रिक्वेस्ट आउँदा मलाई आगोको रापले पोलेभन्दा बिजुलीको करेन्टले दिने झट्का लागेको महशुस गरेँ तर तिम्रो रिक्वेस्ट पुनः एसेप्ट गर्ने आँट भने आएन ममा, मलाई माफ गर!
भनिन्छ, समयको एक एक पलले जीवनको आरोह अवरोहमा कहाँ निर के कोरेको हुन्छ, थाहा हुँदैन समयले कतिबेला कोल्टे फेर्छ? कुनैबेला अदालतमै जागिर गर्ने दिन तर आज आफ्नै मुद्दाका लागि भौतारी रहेको थिएँ म।
मुद्दा हालेको भनेर तिम्रा नमिठा र तिता गाली सुन्नु बाहेक तिम्रो र मेरो झगडा भने कहिल्यै भएन। आफन्तले फलाना तेरो भाग्य नै त्यस्तो रहेछ भन्दा मैले 'हामीले सबै कुरा विश्वास गरेर गल्ती गरेका हौं, अहिले भाग्यलाई दोष दिन मिल्छ?' भन्नु बाहेक मसँग कुनै जवाफ नै हुन्थेन।
तिमी केही सुध्रिहाल्छेऊ कि भनेर रक्सीको मुखै गन्हाउने ठर्राले मुख कुल्ला गरी म त जड्याहा हुने भएँ। जड्याहा तिमी नसुध्रिए म यस्तै हो भनेर करिब १०-१२ दिन नाटक पनि गर्न भ्याएको थिएँ मैले।
फलानाले मागेकी केटी यस्ती र उस्ती भन्ने आरोप आफूलाई पनि लाग्ने भएकाले तिमीप्रति भिनाजु धेरै सकारात्मक हुनुहुन्थ्यो। भिनाजुले मागेकी केटी भएकाले सुरुमा म तिम्रा क्रियाकलापहरु भिनाजुलाई सुनाउथेँ।
भिनाजुले ‘तिमीहरु नै त्यस्तै हौ, केटी ठिक छे’ भन्ने आरोपसम्म लगाउनु भयो हाम्रो घर-परिवारलाई। यसरी हामीलाई आरोप लगाउनु हुने भिनाजुलाई अन्ततः तिम्रा अनगिन्ती गल्तीले सम्बन्ध विच्छेद नै अन्तिम विकल्प भएको भन्दै मुद्दा हाल्न सल्लाह दिन बाध्य बनायो।
हाम्रो सम्बन्ध विच्छेद हुनु तिम्रो मात्र गल्ती होइन, तिम्रा बुवा-आमा र आफन्तीको पनि दोष हो। बौद्धिक विकास नभएकी विचरीलाई सबै कुरा झूठो बोलेर बिहे गराइदिनु तिम्रा लागि पनि ठूलो अन्याय भएको थियो।
तिमीले बुवा-आमाले मलाई ‘तैले घर गरेर खान्नेस्’ भन्नु हुन्थ्यो भनेर सुनाउँदा मलाई तिमीप्रति करुणा पलाउँथ्यो। ‘झुटो नबोलेको भए त हाम्रो बिहे नै हुन्थेन’ भनी तिमीले दिने उत्तरको मसँग कुनै जवाफ नै हुन्थेन।
टेबलको घर्राबाट क्याननको ११ सय ‘डी’ मोडेलको क्यामेरा झिकेर तिमीलाई फोटो खिच्न सिकाउन मात्र के खोजेको थिएँ, तिमी त क्यामेरा देखेर बाघले शिकारका लागि मृगलाई झम्टिन लागेझै गरी मसित डराएकी थियौ। तिमीलाई विस्तारै केही कामहरु सिकाउन मैले धेरै प्रयास गरेँ तर तिमी ‘म गर्न नै सक्दिनँ, म के गरुँ?’ भन्ने जवाफ दिन्थ्यौ।
पुरुष प्रधान समाजमा मर्द रुनु हुँदैन भनिए पनि तिम्रा अघि मेरा आँखा कति रसाए। तर मैले कसैलाई मैले दुख पाएँ, म बर्बाद भएँ भनेर कहिल्यै गुनासो गरिनँ। म आफूलाई कहिल्यै कमजोर ठानिनँ र म रोएर आँसु देखाइनँ, म देखाउँन पनि चाहिनँ र चाहँदिनँ।
मेरा आसु जति आए पनि मैले तिमीलाई जसरी पनि सुर्धाछु भनेर गरेका वाचा अन्ततः बालुवामा पानी खनाए जस्तै विलिन भएर गए। तिमीलाई बिहे गर्न जाँदा बाटोमा मैले सुन्दर भविष्यको कल्पना गरेको थिएँ।
मेजर इंगलिस पढ्दै गरेकी केटी बिहेपछि हाम्रो नयाँ घर बन्नेछ र घरमा अफिस। अफिसको घुम्ने कुर्चीमा तिमी बसेको हेर्ने र रंगीन कारमा सरर गुड्ने मेरा सपना उर्फ!
बुढेसकालमा जन्मिएको जेठो छोरो, बुवाको स्वार्गारोहण भैसकेकोले आमालाई हामीले बनाएको नयाँ घरमा दुख कस्तो हो भन्ने अनुभव नै गर्न नदिएर राख्ने छौँ यस्तै-यस्तै कुराको कल्पना...।
आमाको बिहे १४ वर्षको कलिलो उमेरमा भएको रे! बिहे हुँदा बुवा ४८ वर्षको हुनुहुन्थ्यो। विसं २०२८ सालमा बालिका र मेरो बुवाको बिहे कसरी भए होला? यस्तै यस्तै मनमा आफैसँगै गन्थन गर्दै भिनाजुसँग कारमा हामी हुइँकिदै दाङको तुल्सीपुर पुगेका थियौँ।
म अफिसको काममा व्यस्त थिएँ, घरबाट बहिनीले फोन गरेर भाउजू हिड्नु भयो भनेपछि तिमीलाई खोज्न म जंगल-जंगल चहारेँ। तिम्रा बुवालाई जानकारी गराउन फोन गरेँ तर उल्टै बुवाले मलाई नानाथरी गाली गर्नुभयो। मेरो र उनको झगडा भएकै थिएन, उनी त एक्कासी घर छाडेर हिँडिछिन्। मोबाइलमा फोन गर्न खोज्यो मोबाइल स्वीच अफ।
तिमीलाई के भएको हो भनेर सोध्दा सानोमा सामान्य बिरामी बाहेक केही भएको होइन भन्ने तिम्रो बुवा-आमा उपचारका लागि बुटवल, भैरहवा र काठमाडौं आउनुहोस् भनेर आग्रह गर्दा पनि आउनु भएन।
तिमीलाई उपचारका लागि अस्पतालहरु लैजाँदै गर्दा तिमी सधैं सुध्रिन्छु मात्र भन्दा मलाई झसंग काठमाडौं टिचिङ अस्पतालका डाक्टरले भनेको कुराले झस्काउने गर्दथ्यो ‘सर, हजुर जस्तो मान्छे कसरी फस्नु भएको?’
म एकछिन रोकिएर नाजवाफ हुँदै विश्वास मात्र भन्थेँ। आखिर कसैलाई विश्वास गर्नु पर्थ्यो, के विश्वास गर्नु नै भुल र मेरो गल्ती थियो भन्ने मैले पत्तै पाइनँ।