कविता
बुढो कुसुम ढल्यो रे कसैले सुनायो
मैले त्यही कुसुमको फेद सम्झेँ
जहाँ मैले मेरो स्वर्णीम बालापन बिताएको थिएँ
अतीतका यादहरु मानसपटलमा ताजै छन्।
त्यही कुसुम जस्ले बुढो भएर पनि सबैलाई शीतल छहारी दिन्थ्यो
पानी पर्दा ओत लाग्ने आढ दिन्थ्यो
आफू जीर्ण थियो तर हाम्रो लागि फुल्ने र फल्ने रहर गर्थ्यो
गुच्चा खेल्ने र गट्टी खेल्ने सौम्य र शीतल ठाउँ दिन्थ्यो
आज बुढो कुसुम ढल्दा मन खिन्न भएको छ।
त्यही बुढो कुसुम जस्ले समानता धैर्यताको
पाठ सिकाएको थियो सबैलाई
फेदैमा कसैले आगो लगाउँदा पनि
हाँसी हाँसी सहन्थ्यो
पिर व्यथा लुकाएर हाँसिरहन्थ्यो
हरेक हिउदँको शीतलहर अनि भदौको प्रचण्ड गर्मीमा
तर पनि दु:ख कहिले देखाएन।
हामीले बालापनमा गरेका भन्न मिल्ने नमिल्ने
सबै गलत र सही कुराको साक्षी थियो
खोलामा पौडी खेल्दा र माछा मार्दाको साक्षी,
चरा मार्दा र शिकार खेल्दाको साक्षी
जंगलका फलफूल खाँदाको साक्षी
जंगल थर्किनेगरी गीत गाउँदाको साक्षी।
बुढो कुसुमले एकैदिन स्यालले
पाँचवटा बाख्रा खाएको पनि देखेको थियो
तिलविक्रम काकाले खेतको निगरानी गरेको पनि देखेको थियो
कट्टेल बाले पिठ्यूमा सेउला बोकेको पनि देखेको थियो
चारै तिर आँखा डुलाएर हेर्दा यस्ले
भोला दाइको बाँसघारी सुविदार बाको खेत
गाउँको चौतारो भुँडे गोरुको धाबी
सबैथोक देख्थ्यो।
बुढो कुसमसँग जोडिएका अनगिन्ती यादहरू छन्
गुच्चा खेल्दाका साथीहरु
गोठालो गर्दाका दौतरीहरु
सम्झन्छु ती दिनहरू कति रमाइला थिए
त्यो बालापन कति रमाइलो थियो
न केहीको चिन्ता न केहीको पिर
खालि खुसी अनि रमाइलो मात्र।
त्यो बुढो कुसुमलाई सम्झिँदा लाग्छ
समय कति निष्ठुरी बनिदिएछ
बुढो कुसुम ढल्यो
वन मासियो
गाईवस्तु पाल्ने अनि गोठालो जाने
जमाना छैन रे
आवश्यकता बढ्यो
मानिसहरु सुविधाभोगी भए
अनि विस्तारै गाउँमा दु:ख प्रवेश गर्यो।
अहिले त गाउँमा सबैथोक छ तर पनि दुख छ रे
हिजो पैसा नहुँदा नि खुसी थियो
आज पैसा छ तर पनि खुसी हराएको छ रे
बुढो कुसुम ढलेसँगै सबै सबै फेरिएको छ रे गाउँमा।
कम्तिया चउरमा घाँस काट्न जाने चलन इतिहास भयो रे
भैँसी गोठालो गर्न १६ नम्बरको बाँध
अनि तीन टोलिया र मुर्तासम्म जाने
चलन हरायो रे
हप्तादिने झरी पर्न अनि खोलामा बाढी
आउन पनि छोड्यो रे
देउले च्याउ पट्टे च्याउ पलाउन छाड्यो
अनि खोलाखालीमा निगुरो पलाउन छाड्यो रे
बुढो कुसुम ढलेपछि।