म कक्षा ३ मा हुँदा'समय बलवान हुन्छ' भन्ने पढेको थिएँ। त्यतिबेला त के साँच्चै यस्तै हुन्छ भनेझै लाग्थ्यो र पुरै यो भनाइमाथि नै शंका लाग्दथ्यो।
सायद समयको खेल होला, मैले गरेको त्यो शंकालाई गलत तुल्याउन समयले मसँग एक खेल खेल्यो।
म आफ्नो मामाघरमा बसेर कक्षा १० मा पढ्दै थिएँ। त्यतिबेला म आफू भर्खर भर्खर पढाइको शिलशिलामा सहर पसेको, खासै सहरको बारेमा जानकारी पनि थिएन।
दिन बित्दै गए, बित्दै गए।
केही हप्तापछि एकजना गुरुले एउटा कार्यक्रममा जाने प्रस्ताव गर्नुभयो। मैले सो प्रस्ताव स्वीकार गरेँ र कार्यक्रममा जानका निम्ति सम्पूर्ण तयारी गरें। कार्यक्रममा सहभागिता जनाउन म लगायत अन्य तीन जना मेरा साथीहरुले बाटो ततायौँ।
कार्यक्रम स्थल पुगियो। गुरुसहित हामी हाम्रो समूहमा ५ जना थियौं। कार्यक्रममा एउटा सरकारी गाडी, एउटा प्रहरीको गाडी, नगरपालिकाको मेयरको गाडी समेत आएको देख्यौं।
कार्यक्रम स्थल बाहिर सानो फुटपाथ पनि थियो। त्यो फुटपाथमा एकजना सानो भाइ एउटी सानी केटीसँग फाटेका लुगा, बिना कुनै चप्पल बसेको थियो। उनीहरुसँग केही थिएन। सायद मैले मेरो मनको आँखा खोलिनँ होला त्यो बेला। त्यसैले मैले उसँग केही छैन भन्ने सोच राख्ने दुस्साहस गरेको थिएँ।
म त्यो सानो भाइ नजिकै गएर उसलाई नै हेरिरहेको थिएँ। मैले त्यो सानो भाइलाई नियालिरहेको मेरो गुरुले हेरिरहनु भएको रहेछ।
परबाट मलाई हेरिरहनु भएको गुरु मेरो पछाडि आइपुगिसक्नु भएछ, मैले थाहा नै पाइनँ। सायद म त्यो सानो भाइलाई नियाल्नमा भुलेको थिएँ।
गुरुले मलाई 'के भयो भाइ? किन त्यसरी निहालेको' भनेर प्रश्न गर्नुभयो। सायद म कतै भुलेको थिएँ त्यो सानो भाइलाई देखेर, मैले सो प्रश्नको जवाफ दिन सकिनँ।
भाइ झलक्क हेर्दा अलिक कमजोर देखिन्थ्यो। सायद उसले केही खान पाएको थिएन होला। उसको आँखा रसाएका थिए। त्यो देखेर मैले गुरुलाई 'गुरु, सायद यी टुहुरा होलान् है! हेर्नु न बाटोमा बस्छन्' भनेँ।
मेरो बोली सुनेर गुरु अलिक झस्किनु भयो र भन्न लाग्नुभयो, 'धत् लाटा।'
उहाँको मुखबाट यो बाहेक अरु केही शब्द निस्केन। सायद त्यो दृश्यले उहाँलाई पनि निशब्द बनाएको थियो।
उता कार्यक्रम अझै सुरु भएको थिएन। त्यही भएर पनि म त्यही भाइलाई हेरिरहेको थिएँ। त्यत्तिकैमा गुरुलाई मैले सोधेँ, 'गुरु, कार्यक्रम अझै किन सुरु भएन? किन समय लाग्यो?'
'खै, एकजना बालबालिका सम्बन्धी काम गर्ने कार्यालयको कर्मचारी आउन बाँकी छ अरे।'
मैले 'ए' भनेर अनि फेरि त्यही सानो भाइतर्फ आफ्नो आँखा पुर्याएँ।
केहीबेर पश्चात एउटा सेतो रंगको नम्बर प्लेटमा रातो अक्षरले कुँदिएको एउटा सेतो गाडी हामी भएतर्फ नै आयो र त्यही कार्यक्रम स्थलको बाहिरपट्टि रोकियो।
मलाई को रहेछ भन्ने कुराको कौतूहलता भयो। अनि मैले हत्त न पत्ता जुरुक्क उठेर गाडीभित्र यसो चियाको मात्र के थिएँ, त्यहाँको दाइले के हेरेको भाइ भनेर अलिक रुष्ट स्वभावले व्यवहार गर्नुभयो। मेरो मन खिन्न भयो। मैले जवाफ स्वरुप केही हैन बाहेक अरु केही भन्न सकिनँ।
गाडीबाट एकजना अलिक हृष्टपुष्ट दाइ बाहिर निस्किए र कार्यक्रम स्थलतर्फ लम्किए। तर उनी को थिए भन्ने कुरा मैले आँकलन गर्न सकेको थिइनँ।
केहीबेरमै भित्रबाट कार्यक्रम सुरु हुने संकेत आयो। म लगायत गुरु पनि त्यो सानो भाइलाई त्यही छाडी भित्र पस्यौं। अब कार्यक्रम सुरु हुने भयो, आजको कार्यक्रममा केही नयाँ ज्ञान पाइने भइयो भन्ने मनमा लाग्यो।
केहीबेर पश्चात कार्यक्रम सुरु भयो। उत्सुकता बढ्दै थियो। मन्तव्य कार्यक्रम सुरु भयो। यो कार्यक्रमको पहिलो भाग थियो। मन्तव्य कार्यक्रममा मेयर सापले मन्तव्य दिए। उनको मिठो बोलीले मेरो मन मोहित भइरहेको थियो।
उनले आफ्नो विचारधारा रखिसकेपछि अब अरु कसैको मन्तव्य दिने पालो आयो। त्यति बेला मेरा नयन स्टेजतिर थिएन। म त्यही सानो भाइलाई नै सम्झिरहेको थिएँ। अर्को प्रस्तोताले मन्तव्य दिन थाले।
मेरो आँखा स्टेजमा नभएपनि मेरो कण्ठले स्टेजबाट गुन्जिएको सबै स्वर सुनिरहेको थियो। स्टेजमा अहिले बाल अधिकार सम्बन्धी मन्तव्य जाँदै थियो।
मन्तव्य दिने मान्छेले भन्दै थिए 'हामीले बाल बालिकासँग सक्दो सरल र मिष्ठ भावमा बोल्नुपर्छ, उनीहरूको भावनालाई ठेस पुर्याउन हुँदैन, बालबालिका भनेको देशका भविष्य हुन्, उनीहरूलाई रुष्ट व्यवहार गर्न हुँदैन...।'
कता कता यो स्वर सुनेको छु भन्ने आभास गरेँ अनि आफ्नो नयनलाई स्टेजतर्फ लान बाध्य भएँ। ओहो! यी त त्यही अघि मलाई रुष्ट व्यवहार गर्ने दाइ पो रहेछन्।
यति भनेर केहीबेर अघि मलाई गर्नु भएको रुष्ट व्यवहार सम्झेँ अनि आफैले आफैलाई प्रश्न गरेँ, 'के साँच्चै यो दाइ बालबालिका सम्बन्धी अधिकारको ज्ञाता हुन् त?'
यसको प्रतिउत्तर मैले केही दिन सकिनँ। आफ्नो प्रश्नमा म आफै अकमक्क परेँ। यो बेलामा मेरो मनमा मस्तिष्कमा एउटा मात्र उखान खेलेको थियो, बत्ती मुनिको अन्धकार।
उनको एक एक शब्द मेरो कानमा गुन्जिरहेको थियो अनि मेरो मन भन्दै थियो, 'मन्तव्य त दाजु राम्रै दिनुहुँदो रहेछ, तर अलिकति व्यवहारिकता पनि भइदिएको भए कति गज्जब हुन्थ्यो, आहा!'
उहाँको सम्पूर्ण मन्तव्यमा मैले एउटा वाक्य सुनेँ, जुन मेरो कानमा पर्नसाथ मैले आफूलाई बाहिर फुटपाथमा भएको त्यो सानो भाइलाई भेट्न जानबाट रोक्न सकिनँ।
उनले भने, 'आजका सडक बालबालिका भोलि देश हाक्न सक्ने, सही नेतृत्व गर्न सक्ने क्षमताका हुन सक्छन्।'
म कसैलाई केही नभनी दगुरेर बाहिर आए अनि त्यो सानो भाइको आँखामा हेरेँ। त्यहाँ आशाका किरणहरू प्रष्टसँग देखिइरहेको थियो।
अब मैले त्यो सानो भाइलाई प्रश्न गर्ने हिम्मत गरेँ र भनेँ, 'बाबु, नाम के हो तिम्रो?'
उसले अलिक रुखो स्वरले झर्किएर भन्यो, 'किन चाहियो?'
तत्पश्चात मैले केही भनिनँ। मेरो गोजीमा माइजुले एउटा बिस्कुट हालिदिनु भएको थियो। सायद भान्जालाई भोक लाग्ला अनि खालान् भनेर होला।
मैले गोजीबाट त्यो बिस्कुट निकालेँ र खोलेर त्यो भाइसँग मिलेर खाने निधो गरें।
भाइले पनि अहिले अलिक रुखो बोली त्यागेर मसँग मिठो भावले सोध्यो, 'दाइ, म मेरो यो बुनुलाई पनि खान दिन्छु नि है बिस्कुट।'
मैले उसको गरेको बोलीमा मधुरता महशुस गरेको थिएँ, माया महशुस गरेको थिएँ र निस्वार्थ भाव महशुस गरेको थिएँ।
मैले 'हुन्छ' भनेर जवाफ दिएँ।
मैले खाँदा खाँदा दिक्क मानेको बिस्कुट ती सडक बालबालिकाले पाउँदा यति खुसी हुन्छन् भन्ने मैले सपनामा पनि कल्पना गरेको थिइनँ।
मैले उनीहरको त्यो मिठो मुस्कानलाई टार्न सकिनँ। उनीहरूलाई पनि भित्र कार्यक्रममा लगेँ। बाहिर पाले दाइले यिनीहरूलाई भित्र लान पाइँदैन भनेर गाली गरे।
मैले मुसुक्क हाँस्दै भनेँ, 'यस्तो कार्यक्रममा हामीलाई हैन, यी जस्ता बालबालिकालाई सहभागिता गराउन जरुरी छ।'
सायद पाले दाइले कुरा बुझे। उनले भने, 'जाऊ भाइ बहिनी जाऊ, भित्र जाऊ अनि केही नयाँ ज्ञान सिकेर आऊ है।'
यो सुनेर ती भाइ अनि उनको बहिनी दुवैजनाको खुसीको सीमा रहेन। उनीहरुको खुसी देखेर मेरो पनि खुसीको सीमा नाघेको थियो।
मैले उनीहरूलाई लगेर एउटा कुर्सीमा बसाएर कार्यक्रम मजाले सुन्न अनुरोध गरेँ। त्यति गरेर म आफू पनि आफ्नो ठाउँमा गएर बसें।
कार्यक्रमको मन्तव्य भाग समाप्त भयो। अब अर्को भाग सुरु भयो। त्यो भागमा भने एउटा सानो नाटक रहेछ। नाटकको शीर्षक थियो, 'बालबालिका: देशको भविष्य।'
मैले पछाडि फर्केर हेरेँ। ती दुई दाजु बहिनी पनि मजाले कार्यक्रमको मजा लिइरहेका थिए। संयोगवश, नाटक पनि झण्डै झण्डै ती ससाना बालबालिकाको जीवनसँग मेल खाने प्रकारको रहेछ।
सायद भावनालाई पनि यही मन्जुर थियो, ती दाजु बहिनीले समेत कार्यक्रममा सहभागिता जनाएर प्रेरित हुन्।
नाटकमा पनि ती दाजु बहिनी झैं अनाथ सडक बालबालिकाको पीडा देखाइयो। सायद आफ्नो जीवनसँग मेल खाना गएकोले होला, त्यो सानो भाइको आँखा रसाएका अनुभूति गरेँ। मैले उसको टाउको मुसार्दै भनेँ 'भाइ, हौसला राख।'
नाटकमा ऊ जस्तै सडक बालक धेरै मेहनत गरेर अघि बढेको अनि आफूले सक्ने जति काम गर्दै नडराइ निर्धक्कसँग जीवनको गोरेटोमा पाइला चालेको दृश्य पनि आयो।
यो सबै दृश्य त्यो सानो भाइले पनि हेरिरहेको थियो। अरूले सायद त्यो दृश्य हेरे मात्र होला। तर त्यो भाइले सो दृश्य मनन गर्यो अनि मलाई हवस् दादा, म हौसला राख्छु भन्दै आफ्नो आँसु पुछ्यो अनि मलाई एक बेग्लै आस्थाका साथ भन्यो, 'दाइ, म पनि केही गरेर देखाउँछु।'
सायद कार्यक्रको प्रभावले होला, उसमा यो आस्था जागेको, यो हौसला आएको।
यिनै विविध भाग सहित कार्यक्रमको अन्त्य भयो।
कार्यक्रम अन्त्य हुनासाथ मैले त्यो कारवाला दाइलाई डराए डराइ सोधें, 'दाइ, तपाईं बालबालिका सम्बन्धी कार्यालयमा हुनुहुन्छ हो?'
उनले 'हो' भने।
अनि मैले त्यो सानो भाइ र उसको बहिनीको बारेमा त्यो दाइलाई बताएँ। र भने, 'दाइ, बत्तीमुनिको अन्धकार नहोस् है।'
सायद दाइले मेरो कुरा बुझे र उहाँले मुसुक्क हाँसेर भने, 'हुन्छ भाइ, धन्यवाद।'
मलाई त्यो दाइले किन धन्यवाद भन्नु भयो कुन्नि, त्यो कुराको मैले सहजै आँकलन गर्न सकिनँ। तर अलिकपछि विचाराधीन हुँदा यतिसम्म अनुमान गरें कि सायद मैले गरेको त्यो सानो काम बापत भन्नु भएको होला।
त्यो कार्यक्रमले मलाई 'बत्तीमुनिको अन्धकार हुनुभन्दा बत्ती टाढाको उज्यालोपन नै कयौ गुणा राम्रो हुन्छ' भन्ने कुराको प्रत्याभूति दिलायो। त्यो सानो भाइलाई हौसला राख्न सिकायो।
त्यो दिन मैले कार्यक्रमबाट के सिकेँ के सिकिनँ भन्ने कुरा थाहा छैन तर म आफू यति कुरा गर्वसाथ भन्न सक्ने भएँ कि, मैले गरेको एउटा सानो सहयोगले त्यो सानो भाइमा एउटा नयाँ आस्थाको किरण जाग्यो।
केहीबेर अगाडिसम्म के खाउँ के लाउँ के गरौं भनेर बसेको त्यो सानो भाइले अब कार्यक्रम पश्चात आफू केही गर्छु भनेर अठोट गर्यो। यो छोटो अन्तरालमा यत्रो उमंग आउनु सानो कुरा हैन।
त्यो दिन मैले आफैले आफ्नो समय बलवान हुन्छ भन्ने कुरामा लागेको आशंकालाई मेटाएँ र भनेँ, 'साँच्चै, समय बलवान हुँदो रहेछ।'
अहिले त्यो भाइ अनि उनको बहिनी, दुवै आ-आफ्नै संसारमा रमाइरहेछन्। उनीहरू खुब मेहनतले पढ्छन्, अघि बढ्छन् र आफ्नो अठोटका लागि निरन्तर प्रयास गरिरहन्छन्।
कहिलेकाहीं उनीहरूलाई देख्दा मलाई आफू पनि केही गर्छु भन्ने हौसला मिल्छ। अनि मलाई देख्दा त्यो सानो भाइ भन्ने गर्दछ, 'दाइ, धन्यवाद! मलाई त्यो कार्यक्रममा लानु भएकोमा। मैले त्यो छोटो समयमा जिन्दगीको धेरै ठूलो कुरा जानें।'