म निस्फ्रिक्री भएर हिँड्दैछु,
म गल्लल हाँस्दैछु,
म मलाई मन पर्दो पोशाक लगाउँछु,
म आफ्नो अधिकारको माग गर्छु,
त्यसैले त पित्तृसत्ता झस्किँदै छ मसँग।
म मेरो गतिशीलता आफैं तय गर्छु,
म मेरो यौनिकताको कुरा गर्छु,
म मेरो शरीरमाथि आफ्नो अधिकार दाबी गर्छु,
म स्वतन्त्र भएर बाँच्न खोज्दैछु,
त्यसैले त पित्तृसत्ता डराउँदै छ मसँग।
म अन्याय विरुद्ध बोल्दैछु,
म आफ्नो पहिचानको लडाइँ लड्दैछु,
म आफ्नो छनोट, सहमति र निर्णयको कुरा गर्छु,
म अधिकार सम्पन्न भएर बाँच्न खोज्दैछु,
त्यसैले त पित्तृसत्ताले खतरा महशुस गर्दैछ मसँग।
म निर्मला, भागरथी लगायत सम्पूर्ण बलात्कार पीडितको
न्यायका लागि लड्दैछु,
म दण्डहीनता, अधिनायकवाद, र तानाशाहलाई
खबरदारी गर्दैछु,
म महिलाविरुद्ध हुने विभेद, शोषण र अन्यायको
विरुद्धमा बोल्दैछु,
म सार्वजनिक स्थलमा आएर
समानता, न्याय र मानव अधिकारको माग गर्दैछु,
त्यसैले त पित्तृसत्ता डगमगाउँदैछ मँसग।