बालकै उमेरमा विवाह बन्धनमा बाधिएको म, वैवाहिक जीवनका केही खुट्किलाहरु अर्धांगिनीसँग बिताउन नपाउँदै हस्याङ फस्याङ मुग्लान हाकिनु पर्यो। त्यो रहर थिएन, बाध्यता थियो।
उमेर मात्र २१, अनि घरको एक्लो सहारा। ती वृद्ध अवस्थाका बा-आमाका फुटेका हत्केला, चिरिएका पैतला र चाउरी परेका गालाहरुले मलाई संघर्ष गर्नु नै छ भनेर यसै पनि बालक बेलादेखि सिकाइसकेको थियो।
त्यहीमाथि टाउकोमा अर्को जिम्मेवारी, कसैकी फूल जस्ती छोरीको सुख र खुसी मेरो काँधमा अनि मेरो भरोसामा थियो। म उस्लाई बर्खाको मौसममा माटोले लिपेको भित्ता र तप तप चुहिने खरका छानोमुनि बुहारी बनाएर भित्राउने मन त थिएन। तर बुढा बा-आमाका बुहारी हेर्ने मन, नातीनातिना खेलाउने रहरहरुले मलाई कहीँ कतै मजबुर बनाएको थियो।
बिहे गरेको केही दिनमै उस्लाई मेरा बा-आमाको सेवामा लाग्नु है भनेर एक्लै गाउँ छोडेर, मुग्लान छिरेको थिएँ। घरबाटो छेउको बडरको रुखमुनि बसेर टुलुटुलु मलाई हेर्दै, हल्लाउँदै गरेका हात र रसाएका आँखाहरुले मलाई भित्रैबाट खिन्न बनाएको थियो।
जति जे अवस्था आए नि एउटै अठोट मनमा बसिदियो, एउटा पक्की घर बनाउन छ मेरी उनीलाई धेरै सुख दिनु छ। आमा-बालाई धेरै खुसी बनाउनु छ। बस् यही कुरा दिमागमा फन्फन्ती एकोहोरो रोटी जसरी घुमिरहेको थियो।
त्यो बैँसमा मलाई मेरै घर छेउका साथीका जस्तै राम्रा राम्रा लाएर, खाएर, बाइकमा घुरुरुरुर घुम्ने रहर नभएको कहाँ हो र? तर उस्का घरका छत र हाम्रा खरका छानामा आकाश-जमिनको फरक थियो।
त्यसैले सब रहर छेउ लाएर, होमिएँ म खाडी मुलुक। पैसा र सुखका प्रलोभनमा। यो पैसा भन्ने चिज बोटमा फल्छ भन्नी भ्रमले थिचेको म नव-जवानलाई तातो बालुवामाथि, खाली पैताला र खाडीका तापक्रमले पोलिएका तालु सही नसक्नु भएको थियो तर परिस्थितिको गह्रुंगो चपेटाले चेपेको म त्यो हलुका मान्दै सहँदै आएको थिएँ।
रिङ्गिट र डलरको भाउबीचका भिन्नताले घर छेउको अमेरिका पस्नलाई प्रवेशाज्ञाको छाप हानेको राहदानी हातमै बोकेको साथी रामेसँग मैले अब शिर झुकाउन बाध्य हुने भएँ भन्नी मनमा हीनताबोध पनि थियो।
पहिलेदेखि गरिबीको मजाक उडाउने उस्ले, बिहेकै दिन मलाई कानमा खुसुक्क 'यस्ती राम्री श्रीमतीलाई माटोको घरमै थला पार्ने भैस्' भन्दै उपहासका हाँसो हाँस्दै दिएका तिता तानाहरुले मलाई पटक पटक झकझकाइ रहन्थ्यो। त्यसैले नि मैले केही गर्नु छ भन्ने मनमै लाग्थ्यो।
आफन्तका होच्याउने र हेप्ने प्रवृत्तिले गर्दा बा-आमाले वर्षौंदेखि दाजुभाइ, माइत र इस्टमित्रबाट दूरी बनाएर बस्न थालेको मैले कहाँ सजिलै बिर्सिन सक्थेँ र? गरिबीमा आफ्नै आफ्नाहरु आँखा अगाडि पराइ भएको देखिँदो रहेछ।
यो संसार पैसामय रहेछ भन्नी कुरा मैले त्यो दिन बुझेको थिएँ जुन दिन आमालाई ओखती नदिए आर्यघाटमा पुग्न सक्ने अवस्था आउने कुरा बुझ्दा बुझ्दै पनि मलाई आफ्नै काकाले 'बुढी भैसकिन् तेरी आमा बाबू, अब सास गएछ भने नि तलाई नै सजिलो हुन्छ, ऋणको भार तिर नलाग् बरु भनेको मान्' भनेर दुई चार शब्द सित्तैमा सुझावमा दिएका थिए।
हो, त्यो निशुल्क सल्लाह मेरो मानसपटलमा कहिल्यै नमेटिने गरी छापिएको थियो। जति जे मनमा छापिएका छन्, ती सब कुरालाई मेट्नलाई खल्ती रित्तो भएर सकिँदैन भन्ने ज्ञान त्यो सानै उमेरमा रहेपनि आइसकेको थियो।
त्यसैले होला म खाडीमै पसिना काटिरहेको थिएँ तर श्रम र मेहनत जति भएपनि, त्यही त हो खान बस्न लाउन खर्च गर्दा गर्दै, गाउँ पठाउनलाई निकै कम मात्र बच्थ्यो। त्यति पैसाले मेरा जहानले के ऋण तिरे होलान्? के खाए होलान्?
के लाए होलान्? भन्ने पिरले मैले एक छाक खानानै बन्द गरेर पेट बाँधी बाँधी अल्लि पैसा जोगाएर पठाउने गरेको थिएँ। म पर्देशीएको केही समयमै श्रीमती दुईजीउकी भएको खबर आयो। म खुसी हुनु कि दुखी, म अन्योलमा परेको थिएँ तर बा-आमा निकै खुसी थिए।
हरेक पटकका फोनमा नाति हेरेर मर्ने मन छ भन्दै सुनाउँदा, झस्किन्थेँ। नातिनी जन्मी भने के होला? यो प्रश्न तुरुन्त खडा गरिदिन्थ्यो। नभन्दै जेष्ठ महिनामा छोरो जन्मेको खबर आयो।
एउटा तस्बिर हेरेर चित्त बुझाउदै बस्नु पर्ने त्यतिबेलाको मेरो अवस्थामा छोरालाई काखमा लिएर स्पर्श गर्ने मन थियो तर भाग्यको खेलले के के गर्यो गर्यो, चित्त बुझाउन बाहेक अर्को विकल्प नै थिएन।
कामकै सिलसिलामा ६ वर्षसम्म अर्काको देशमा अल्झिएको म, मलाई पाउरोटीमा रात काट्नु सामान्य थियो, बिरामी हुँदा आफ्ना निधारमा आफै पट्टि लाउने बानी परेको थियो। खुट्टामा चोट लाग्दा हातले घिस्रने साहास जुटाइसकेको थिएँ।
आमाले छोरोलाई आफ्नो पेटका दुई भाग जोडेर भएपनि मेरो पेट भरेको ज्यान भएर होला, सहन सक्ने भएको थिएँ र यो ६ वर्षमा पहिलो पटक आफ्नो देश र आफ्नो घर जान पाउने भएको थिएँ।
अब त घर जाने यो दसैंमा भन्दै हरेक दिन रात बुर्कुसी मार्दै मिलाएका मेरा काम अनि समयले म आफै निकै उत्सुक भएको थिएँ। जम्मा ४ महिना नि बाँकी छैन घर जानलाई, मेरो छोरो कत्रो भयो होला, बा-आमाका कस्ता भए होलान, अनि श्रीमतीलाई यत्रो समयपछि भेट्दै छु, कस्ती भइन् होला?
हो, यही कुराहरु सोच्दा सोच्दै मन चंगा जस्तै भएको थियो। अकास्मात् एकदिन काम गर्दा गर्दै घामले ढलेको म, एकैचोटि तीन दिनपछि अस्पतालका बिस्तारामा बिउझिएँ, आँखा खुल्नी बित्तिकै मन पिरोलियो।
आमा, बा र श्रीमतीलाई यदि म मरिहालेँ भने खबर पठाउने कसरी? छेउमा बसेको नेपाली साथीलाई श्रीमतीको नम्बर घरको ठेगाना दिएँ। मलाई मेरै जीवनको कुनै भरोसा थिएन। कति दिन बिस्तारामा बस्नु पर्ने हो, केही थाहा थिएन।
छेउको साथीले एउटा किड्नी फेल भयो रे तिम्रो र अर्कोमा पनि समस्या छ भन्दै थियो। सुन्नी बित्तिकै जुरुक्क उठेर मरेपनि आफ्नै देशको माटोमाथि र परिवारका आँखा अगाडि मर्छु भनेर हिड्न खोज्दा 'तुरुन्त तपाईं निस्किन मिल्दैन' भनेर मलाई त्यही रोकिदिए। श्रीमतीका बारम्बार आएका फोनका घन्टीले म त्यो फोन उठाउँ कि नउठाउँ बनाएको थियो। मनमा कुरा खेलिरहेको थियो।
४८ सालदेखि ५४ सालसम्म यो ६ वर्षमा २ हजार १ सय ९० औँ दिनसम्म खाडीमा लत्तिदा पनि प्रत्येक वर्ष साल फेरिए, त्यो भूत र वर्तमान बीचको काल फेरिए तर हाम्रो परिस्थितिको हाल इत्ति पनि फेरिएन। मनमा यही कुराले हानिरहेको थियो।
अर्को कुराले मन खड्किएको थियो, वर्षौँ पहिले दसैंमा खड्खडे खेल्दा साथीले बुर्जा रोज्दा र इँटा मैले रोज्दा गोट्टीमा पानले बाजि मारिदिएको थियो। त्यो साथीले पलभरमा मलाई छोडेर खाल नै फेरेको झैँ प्रियाले मेरो माया त फेर्दिनन् होला, यो सोचेर एक्लै भुन्भुनिएको थिएँ।
तर यी सब मनगणन्ते कुरामा लागेर आफैलाई पीडा दिनु उचित छैन भन्दै पुनः आफैलाई सम्झाउँदै, त्यही फोनको घण्टी तिर आँखा अनि मन ठोकिन्थे। उठाउँ र नउठाउँ भएका मेरा मन अनि फोनका हरियो बटन छुन हक्कानिएका यी औँलाहरु बीच चलेको द्वन्दमा यो मनले निर्विरोध जितेको थियो।
मेरो भरोसा बाचेका ४ ज्यानलाई मेरै जीवनको कुनै भरोसा छैन है अब भनेर भन्न सक्ने आँट ममा कति पनि थिएन। मेरा सास गैहाल्यो भने कसरी जीवन चलाउने हुन् मेरी प्रियाले र बुढा बा-आमाले। म अत्तालिएको थिएँ। बा-आमाको दागबत्ती दिने मै हुँ एक्लो छोरो भन्दै हुर्केको म, तर मेरै दागबत्ती बाल्दिने दिन टाढा छैन जस्तो भान भैरहेको थियो।
छोरोको अनुहार देख्न नपाउँदै एक सन्तान चिनो छोडेर मेरी श्रीमतीलाई सेता पहिरन उपहार स्वरुप दिएर संसारबाट बिदा लिनुपर्ने पो हो कि भनेर यो गह यसै भरिएको थियो। पैसा साथमा कति पनि थिएन, अस्पतालमा पैसा नतिरी निक्लिन दिँदैन थियो। घरमा भनेर नि कुनै समाधान देख्दिनथेँ।
अर्काको मुलुकमा कस्का भरोसामा ऋण माग्न जानू म? मैले केही बाटो देखेकै थिइनँ। र अस्पतालमै भगवान भरोसा दिन काटिरहेको थिएँ। छेउको साथी नि दुई दिन कुरेर लाग्यो आफ्नै बाटो, अनि मेरो काम गर्ने ठाउँको साहु फर्किएर आउँदै आएन।
आओस् पनि कसरी, मसँग भविष्यमा काम लिउँला भन्नी नि थिएन र अब मेरो लागि खर्च गरेर प्रतिफलमा केही पाउने नदेखेपछि उताबाट मेरो लागि कुनै सहयोग नै आएन।। घर जान जोगाएका अलिअलि रकम त थिए तर त्यसले के पो हुने, रोजाइ र विकल्प यही थिए। बाकसमा लास जान्छ कि खाममा चिठी या फोनमा बिन्ती।
अलिअलि पैसाले नपुग्ने रोग लागेपछि मैले बाकसमा लास नै जाओस् सोचेको थिएँ। जन्मिन नपाउँदै छोरोका काँधमा बाका लाससँगै लाखौंको ऋण बोकाइदिने मन मलाई थिएन। तर भाग्यले कता डोहोराउँछ भन्नी थाहा नै भएन र रुमलिरहेको छु आफै आफै अर्काको सहरमा...।