जमिन अझै नछाड्ने कि साथी हो
टेक्ने ठाउँ फेरि फेरि चाहिएला
प्वाँख हुँदैमा कहाँ आकाशमै
रहेका छन् र चराहरु?
खै श्वास फेर्न सक्दैमा देखिएनन्
जमिनमा कहिले माछाहरु!
लौरो नबिर्सने कि संगी हो
पाइला फेरि पनि चाल्नु पर्ला।
कतै वर्षा आउँछ भन्दैमा
हिउँदमै रोपिए र टारी खेतहरु?
डढेलो लाग्दैमा पुरै कहिले रित्तिन्न
वन र जंगलहरु!
दैलो नबिर्सने कि साथीहरू
घर र आँगन फेरि फेरि कुल्चिनु
कहिले यसो कसो नपर्ला!
रोग, भोक र सुर्ता मात्रले रित्तिए र
कुनै तमाम बस्तीहरु?
असफलताको भारीले थिच्दैमा
सेरिएका छैनन् सबै मानिसहरु।
बर्को नफ्याकी हाल्ने कि दौतरीहरु
हिउँदका ठिहिरोले कापेका आतहरु
न्यानो फेरि पनि पार्नुपर्ला।
छोइछिटो गर्दैमा मैलो र फोहोर
हुन्न र वायुहरु?
पद र प्रतिष्ठाले आजसम्म बढाएको
छैन कुनै आयुहरु!
आर्यघाट नबिर्सने कि सखाहरु
चिर निद्रा एक पटक सुत्न
हामीलाई पनि अवश्य पर्ला!
बोलि कम र टाढा हुँदैमा सकिएको नै
हुन्छ र सम्बन्धहरु?
ईश्वरको आत्मा नभएको हुँदैनन्
यहाँ कुनै जीवहरु!
बाटो, घुम्ति मोड नभुल्ने कि प्रियहरु
फर्केर फेरि फेरि त्यही
गोरेटोमा आउनु त पर्ला!