यो बाटोमा हिँड्ने म, अनि यही बाटोमा कुद्ने ऊ। फरक त ऊ पनि थियो मभन्दा, अनि म पनि थिएँ ऊभन्दा।
ऊ सहरको ऐसले फुलेको, म गाउँको सन्तुष्टिमा फुलेको। म 'फुल्नु' र ऊ 'फुल्नु'मा पनि फरक थियो।
उसको सहर पस्ने निधो गरेँ एकदिन। मन त थिएन तर मनलाई सम्झाएँ एकदिन। पत्तो थिएन, यही बुझाएको मनले त्यहाँ पुग्दा मलाई नै प्रश्न गर्ने हो कि? 'सुनमा घुन लाग्दैन' भन्ने सायद मेरो मनले पनि बुझेथ्यो क्यारे! म घुन थिएँ अनि उसको सहर सुनको।
पाइला पनि मनकै सुन्दैछन् कि के हो? अब बिना मन र पाइला म कहाँ जानू? जबर्जस्ती घिसारेँ पाइला, लतारेँ मन। अन्तत: पुग्न त पुगियो तर थाहा त थियो नै- न त्यो मेरो सहर, न त्यहाँ सारथी कोही।
हिँड्दै गएँ, सोच्दै गएँ- मानव कोही त भेटिएला। आज लाग्दैथ्यो आफ्नै मनलाई पिरोलेजस्तो। खोइ! कोइ मानव नै भेटिएन।
आँखाले भेटिनसक्नु भूमि थियो, अंगालोमा नओगटिने दुई हात दुई पाउ जडित मानवरुपी खोइ को थिए? मलाई मेरो गाउँले त अर्कै अर्थ बुझाएछ मानवको। सुनेको, मानवमा मानवता हुन्छ रे! नयाँ व्यक्तिको आगमनमा सारा जग स्वागतका बाजामा मग्न नाच्छन् रे! मायालु अंगालोको न्यानो आभाषमा स्वतन्त्र र सुरक्षित महशुस गराउँछन् रे!
'ए नानी आऊ न, बस बा..., घर सानो छ यो बुढी आमाको, तर तिम्रो तिर्खा मेट्न घ्याम्पोमा पँधेरोको चिसो पानी छ, हाँडीमा हिजो भुटेको ठेट्ना मकै छ अनि त्यो तल्लो गह्रामा फलेका ठूला भट्मास छन्। पेट भरेर खाऊ, बुढी आमाले भोकै पठाइन् नभन्नू नि।'
'किन भन्थेँ, आमा!'
'आउँदै गर्नु है, बा।'
'हुन्छ आमा।'- यस्तो सुनिन्छ भन्थे।
खै! न कोही बोल्छन्, न कसैले सुन्छन् यहाँ। यो त अर्कै सहर छिरेछु म- धनको तर बिना मनको सहर, सुनको तर बिना गुनको सहर। यो उसको घुसैघुसको सहर। यो त पैसावालको सहर रैछ। मैले आत्मियता खोजें तर आत्मियता खोसिएको ठाउँ रैछ।
साथी होइन, यहाँ हात्ती बिक्ने रहेछ। मकै खोजेँ मैले र त भोकै भएँ। एउटा हात्तीमा बर्गर र पिज्जा ख्वाउने रहेछन्। अर्को हात्तीमा कलमा पेलेको होइन, मेसिनले पेलेको उनको भाषामा मिनरल वाटर पाइँदो रहेछ। चाहनाको संसार होइन, बाहनामा चलेको संसार रहेछ यो।
पर पुगें, पछाडि फर्की हेर्न मन लाग्यो। त्यो सहर फेरि हेर्न रहर थिएन, तर खोइ! अन्तिम दृश्यमा आँखा ओसिला बन्न पुगे। मेरो कुरा सुनेर सबै दंग पर्थे अरे, त्यही पनि आफ्नै ठट्यौली आँसुको रहस्य बुझ्न मन लाग्यो।
अब कहिल्यै नफर्किने सहर हेर्ने अन्तिम रहर मनले अपत्यारित तरिकाले पत्यायो या सकेन पत्तै लागेन। मनले नअप्नाइसकेको या भनौं अप्नाउन नसकेको त्यो सहरले पनि मेरा नयन भिजाएछन्।
म एकटक हेरेको हेर्यै भएछु, आँखाबाट निरन्तर पानी बहेछन्, चल्दै गरेका पाइला रोकिएछन्, अनि मलाई यो बिना आत्मियताको सहरले पनि रोक्न सक्ने भएछ।
रोकिएका पाइला अनि थामिएको मनलाई सम्झाई फेरी आफ्नै गाउँ फर्किएँ। पलभरमा सहरको चमकले अल्मलिएको म पक्कै थिइनँ। मेरो ठाउँले मलाई स्नेह सिकाएछ। बल्ल बुझ्यो मनले- सहरको चकाचौंधभन्दा त्यही गाउँकै फुस्रो धुलो बेस।