मेरो टोलमा
धेरै मान्छे छन्
ती धेरै मान्छेका धेरै देउता पनि छन्
लस्करै ठिंग उभिएका
मन्दिर, मस्जिद, गुम्बा र चर्चमा
ती देउताहरु कैद छन्
निरीह कैद देउताहरु
चुपचाप छन्।
कैद गरिएका देउताहरु
न जुरुक्क उठेर बोल्छन्
न खुरुक्क बाहिर भाग्छन्
नभेटेर उनीहरु एक अर्कामा
क्रिस्चियन र मुसलमान भन्दै न झगडा गर्छन्
न त मर्छन्, न त मार्छन्
न हिन्दू न क्रिस्चियन भन्दै धर्म परिवर्तन गराउँछन्
जहाँ जहाँ कैद छन्
निरीह देउताहरु
त्यही त्यही चुपचाप रहन्छन्।
देउताहरु
जताततै बिक्रीमा छन्
आजकल बिक्री झन् बढेको छ
बिक्रेताबीच उछिन पाछिन छ
आपसमा मारामार छ
निरीह देउताहरू
केही बोल्दैनन्
जसले जहाँ बेच्छ
त्यही चुपचाप बिक्री भैदिन्छन्।
देउताहरू
शान्ति र युद्द के हो?
केही जान्दैनन्
देउताकै नाममा
ठूला नरसंहार हुन्छन्
रगतका खोलो बग्छन्
निरीह देउताहरू बोल्दैनन्
टुलु टुलु चुपचाप हेरिरहन्छन्।
देउताहरू
धर्म र अधर्म के हो?
केही जान्दैनन्
नैतिकता र सदाचार पाठ सिकाउने
लामा, पूजारी, मुल्लाह र पादरी
भक्त बालिका र महिलासँग
आशीर्वादको नाटक रच्दै
जबर्जस्ती यौनको भोक मेटाउँछन्
निरीह देउताहरू केही भन्दैनन्
चुपचाप हेरेर बस्छन्।
अस्मिता लुटिएर
कयौं निर्मला र भागरथी मारिँदा
बेखर देउता
यौन पिपासु राक्षसबाट
मन्दिरमै बलात्कृत सम्झनाको
आफ्नै हातको त्रिशुल खोसेर
विभत्स हत्या हुँदा
अलिकति पनि पीडा भावसहित
एक थोपा आँसु झार्दैनन्
बरु टुलुटुलु हेरेर बस्छन्
निरीह देवता।