तिमी सास फेर्न आशको त्यान्द्रो समाऊ
ती पर बसी तिमीलाई टुलुटुलु हेरिरहन्छन्
तिमी पीडाले रन्थन्निउ अनि कराऊ
ती आँखाहरु ट्वाल्ल नै भैरहन्छन्
तिमी मनको बह रगतमै बगाऊ
ऊ आफूलाई नपरुन्जेल हेरेरै स्वाद लिन्छ
ती विद्वान् रमितेहरुलाई समाजमै सजाऊ
आफूलाई प्यास नलागुन्जेल ती पानी पोखिरहन्छन्।
जिउँदै छन् थुप्रै ती जवानहरु
जो सपना पगालेर जिम्मेवारी ठड्याउँछन्
पिउँदै छन् थुप्रै ती प्यासीहरु
जो जीवनको अर्थ केही घुट्कीमा देख्छन्
सिउदै छन् केही शिल्पकारहरु
जो बनाउँछु भन्दै हातमा घन उचाल्छन्
पक्कै रुनेछन् ती सबै रमितेहरु
जो हात बाँधेर अरुमा खोट खुट्याउँछन्
मानवको समाजमा मानवता भेटिन्छ
यहाँ त दानवपन खै! कहाँबाट बर्सिएछ
सास मार्ने हतियार त किनेर पाइन्छ
आश मार्ने हतियार कसले बनाएछ खै!
जब सपनाहरु निसास्सिएर मात्तिन्छ
तब अनेक रंगका विचार जन्मिन्छ
अनि जब मुख भएको समाज रमितेमै रमाउँछ
तब ज्युँदा मानिसको भीड नै यहाँ जिउँदो चिहान बन्छ।