सगरमाथा शिरमा
बुद्ध मनमा राखी
घर छाडी हिँडेको
उसको
केही बिकेन यहाँ
न सीप
न सर्टिफिकेट
न त नेपाली भएको प्रमाण नै
बिक्यो त केबल
हरियो पासपोर्ट।
तब
एक थान खुसी खोज्न
सानो झोलामा
सपनाका ठूला भारी बोकी
गलामा रातो खादा
निधारमा रातो टीका लगाई
उडेको ऊ
ढल्यो मरुभूमिमा
खहरे भेलमा
मुढो ढलेसरी
अनि
चुँडिए सपना
सुख अनि हाँसोको।
आयो एयरपोर्टमा
चुँडिएका सपना लिएर
चारपाटे रातो बाकस
तर
सबै रंगहीन बनेर
सेलायो उसको
बाबाको जुत्ता फर्ने सपना
आमाको फाटेको चोली फेर्ने
साहुबाट बन्धकी लिएको
घरबास फर्काउने
जल्दै गरेको मृत शरीरसँगै
धुवाँमा हराए उसका
खुला आँखाले देखेका सपना।
बुढेसकालको सहारा
अस्तायो मरुभूमिमा
अब चाउरिएका गालामा
हराउने छ हाँसो
टाँसिनेछ भित्तामा फोटो
लाग्नेछ फूलमाला
अनि
मनमा गहिरो पीडा लिई
बाँच्नु पर्नेछ एक्लै
भौतारिनु पर्नेछ
सम्झनामा आँसुका भेल बगाउँदै
चुँडिएका सपना लिएर।