यो समाज ऊ बेलुकी घर आउने समयले
उसको चरित्र चित्रण गर्छ
ऊ स्वतन्त्र भएर हाँसेको,
निस्फिक्क्री बोलेको भरमा
उसको नियत निर्धारण गर्छ
घरी उसलाई बोक्सी बनाएर
मलमुत्र खुवाइन्छ
कहिले उसले दाइजो नल्याएकोले
जिउँदै जलिनु पर्छ
कहिले कालो कोठीमा बेचिनु पर्छ
त कहिले छाउगोठमा
निस्पट्ट दिन अनि रात काट्नु पर्छ।
न त दिन्छ साथ घर परिवारले
न समाजले
न त दिन्छ राज्य अनि कानुनले
दिँदैन यहाँ साथ उसलाई कसैले
यहाँ उसले लगाउने लुगा हत्केलाले नापिन्छ
कसैले यौन प्यास मेटाउन
गरेको झुटो प्रेम प्रस्ताव
अस्वीकार गर्दा,
कहिले उसमाथि एसिड आक्रमण हुन्छ
कहिले ऊ बलात्कृत हुन्छे
ऊ रुन्छे कराउँछे नाइँ नाइँ गर्दै चिच्याउँछे
उसको नाइँ धेरैले सुन्दैन
सुन्नेले बुझ्दैन...।
अफसोस, निर्दोष उसले
अनगिन्ती पीडा भोग्नु पर्छ
तर, यहाँ त्रिशुल डामिएर छोडिएको
साढे गोरु सरि खुल्ला छ अपराधी
उसलाई न त रोक्छ कसैले
न त छेक्छ कसैले
ऊ सबैभन्दामाथि छ
किनकि ऊ नेता हो
नेताको छोरा हो
ऊ माफिया हो, माफियाको छोरा हो
उसले जे गर्दा नि छुट हुन्छ यहाँ
किनकि, उसँग अदालतलाई किन्न सक्ने पैसा छ त्यहाँ
एकल महिलाले महाभारतभन्दा ठूलो लडाइँ लड्नु पर्छ
आफ्नु अस्तित्वको लागि हर पाइला
सिङ्गो समाजसँग संघर्ष गर्नु पर्छ
यो कस्तो बिडम्बना!
ऊ आफ्नै आकृतिसँग आत्तिनु पर्छ।
आँखामा पट्टि बाँधी
हातमा तराजु थमाई
उसैलाई न्याय खोज्न लगाइन्छ
संघर्षलाई नै ऊ सारथी बनाउँछे
खेर जाँदैन उसका संघर्ष
ढिलै भए नि सत्यकै जित हुन्छ
रच्छे इतिहास उसैले
हार्दिन
जित्छे उसैले
कदापि हार्दिन
जित्छे उसैले।