के अनुहारको चमकबाट भावको खुसी ठम्याउन सकिन्छ? बाहिरको झिलमिलले पनि मन धपक्क बाल्छ होला र? सबैकी प्रिय छु म। मलाई छुट्टै नाम दिन्छन् सबै।
संसारकी सबैभन्दा राम्री हुन्छु त्यो बेला जब मैले आफ्नो अंगालो फिंजाएकी हुन्छु। जब अंगालोबाट सन्तुष्ट हुन्छ कोही तब मेरो रुप याद हुँदैन कसैलाई। नाम त एकादेशको कथा बन्छ। काममा उपनाम थपिन्छ।
म त्यो रानी हुँ जसको साम्राज्य मात्र फैलिएको छ। म त्यो दन्त्यकथा बन्दैछु जसलाई सबैले मुखस्थ गर्ने छन्। म त्यो चर्चित पात्र हुँ जो गुप्त रहेको थिएँ, रहने छु, रहिरहने छु।
त्यो बन्द कोठा नजिकको लाग्न थाल्यो जब मेरा खुसी टाढिए। मेरो कर्म पुण्य लाग्न थाल्यो जब पेट नपाल्नु पाप भन्न थालियो।
डलियाबाट फुत्किएको माछो जस्तै हुनेवाला थिएँ। स्वतन्त्र, परिवारको जालरुपी बन्धनबाट टाढा। धेरै खुसी थिएँ। ३२ जना मध्यमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल म, फुली चौधरी। एसइईमा श्रोत केन्द्र प्रथम। नतिजा प्रकाशित भएको राति अनुहारसँगै अबिरलाई निदाउन दिएँ। आफन्तका दाँतले मासुको स्वाद लिन पाएका थिए।
'भोज्मे सक्कुजाने आइ हो! मोरिक् छाइ फस्त हुइली बाटी।'
फिल्मको प्रचारमा हिँडेको गाडीजस्तै बाबा गाउँमा प्रचार गर्दै हुनुहुन्थ्यो। आमाका हातले जाँड बनाउने भाँडामा हेरिरहेका थिए। आँखाले छोरीको सफल भविष्यको कल्पनाका तस्बिर।
कैलारी गाउँपालिकाको मेरो सानो घरका टायललाई रिटायर्मेन्ट दिनु थियो। भित्ताका प्वाल जितेर भित्र छिर्ने घामका किरणलाई जित्नु थियो। पानी पर्दा रसाउने मेरो घरको माटोलाई हौसला दिएर आँसु नझार्ने बनाउनु थियो। घरको कुनामा पलाएका ब्याम्टिलाई जंगलको बाटो देखाउनु थियो।
कपडा प्याकिङ भए। गोजी गह्रुंगो थियो। आमा-बाबाका आँखा खहरे खोला बनिसकेका थिएनन्। ढिकृ र पकौडाले पोलेथिन भरिएको थियो।
'मन लगाइके पर्ना' आमाको मुखबाट वाक्य निक्लेको थियो।
मैले टाउको मात्र हल्लाएँ। सपना पूरा गर्ने सहर थियो, धनगढी।
बसमा तीन घन्टाको बाटो। अनेकौं सपना र ढिक्रीका भारी बोकेर धनगढी हिँडेँ। बसको झ्यालमा टाउको राखेर, फिल्मको गीतमा ओठ मिलाउँदै, बाहिरको दृश्यलाई मस्तिष्कमा छाप्दै थिएँ।
झ्याल बाहिरका दृश्यलाई आफ्नो बनाउने म मात्रै थिइनँ। मेरो कुममा आफ्नो टाउको राखेर बाहिर हेर्दै टोलाइरहेकी अर्की केटी पनि थिई, रमा। मेरी असल साथी। धेरै मिल्ने, धेरै राम्री। कपालसँगै अनुहारको तनाब हटाउन बारम्बार बाहिरबाटा हावा आउँदै थियो। बस गुडिरहेको थियो। मन अन्तै उडिरहेको थियो।
फूलबारी बसपार्कले गाडीलाई स्थिर गराइदियो। मन अत्यन्तै डराएको थियो। बसबाट ओर्लिने मन नै थिएन। दुईपल्ट धनगढी आएकी थिएँ, बाबासँग सानो छँदा। अब यहीँ बस्नु थियो। गाउँको दिदी लिन आउनु भएको थियो। त्यो दिन दिदीसँगै बस्यौँ।
धनगढीको पहिलो बिहानी। नयाँ ठाउँले देख्दा मन खुसी छ तर घरको यादले कता कता आँखा रुँदैछन्। आज कोठा खोज्ने दिन। शिवनगर, क्याम्पस रोड, बुद्धचोक भित्र कोठा खोज्नु छ। हाम्रो कोठाको व्यवस्थापन गराइदिन दिदीका पैतालाले बाटो देखाउँदै छन्। ठूला ठूला घरले आँखा तल झर्न दिएकै छैनन्।
'कैसिन सुग्घर, सुग्घर लर्का बाटी, ना डिडि?'
रमा वर्तमानमा जिउन मन पराउने केटी थिई। उसलाई भविष्यको चिन्ता थिएन। उसका कपडा पनि राम्रा थिए। ठूलो मोबाइल पनि थियो। फेसबुक पनि खोलेकी थिई। त्यसैले भिडमा उसले केटालाई हेर्नु स्वभाविक थियो।
'पाहारी बोल्' दिदीले रिसाएको आवाजमा भन्नु भयो। सायद, आधुनिक हुनु भएको थियो। आफ्नो भाषा बोल्न लाज लाग्दो हो!
हामीले बुद्धचोकमा कोठा पायौँ। तीन तलाको घर। पहिलो तलाको, पहिलो कोठा हाम्रो थियो। एउटा झ्याल। बाहिरबाट एउटा ढोका, भित्रबाट अर्को। साँझसम्ममा समान भरिहाल्यौं।
चारैतिर कोलाहल थियो। सपना खोज्दै आउने धेरै थिए। माटोको नभएर सिमेन्टको कक्षाकोठा थिए। अग्ला-अग्ला, भवन। ठूला ठूला मान्छे। रमा पनि दंग परेकी थिई। जिन्सको पाइन्ट र टिसर्टमा हिरोइनभन्दा कम देखिएकी थिइन।
मैले पनि राम्रै लुगा लगाएकी थिएँ। रमाले पक्कै मूल्यांकन गरी होलि। म्यानेजमेन्ट पढेर बैंकमा जागिर खानु थियो। पहिलो दिन अन्तिम बेन्चमा बस्यौं। केटाकेटी एउटै बेन्चमा बसेका थिए। अनौठो लाग्दै थियो।
हाम्रो बेन्चमा पनि दुईजना केटाहरू आए। छेउमा केटाहरु त्यसपछि रमा, म भित्ताको छेउमा। रमा मुसुमुसु हाँस्दै थिई। केटाहरु ऊसँग बोलिहाले। ऊ पनि बोल्न थाली। मलाई अनौठो लाग्दै थियो। चुप लागेर बसेकी थिएँ। एकैछिनमा बिदा भयो। हामी बस्ने कोठाको बाटो नछुटिउन्जेलसम्म केटाहरु हामीसँगै थिए।
'मलाई सारले रिक्वेस्ट पठायो' रमा कोठामा कराउँदै थिई।
'को सार?'
'हाम्रो छेउमा बसेको केटा।'
ऊ फुर्किएकी थिई। त्यो रात दुई बजेसम्म रमाका आँखाले मोबाइल हेरिरहेका थिए। उनीहरु कलेजमा पनि नजिकिन थालेका थिए।
'ऊ राम्रो केटा लाग्दैन मलाई!' म उसलाई भन्ने गर्थें तर मेरो कुरामा ध्यान दिन्न थिई।
उसले उद्देश्य बिर्सिएकी थिई। सपनालाई ताला मारेकी थिई। दिउँसो घुम्न जान्थी, साँझ आएर कथा सुनाउँथी। दिनहरु तीव्र गतिमा कट्दै थिए।
'सारलाई धेरै प्रेम गर्छु' ऊ भन्ने गर्थी। उसैको मात्र कुरा गर्थी। पहिलो परीक्षाको चार विषयमा तारा लागेका थिए तर उसको बुद्धिमा अझैपनि घाम उदाएको थिएन। सारको कोठामा पढ्न जाने गर्थी।
'पढ्छु' शब्दले ऊ झुटलाई लुकाउन खोज्थी। म हँसिलो अनुहारले ऊ तिर हेरेर पत्याएको अभिनय गर्थें। धेरैपल्ट सम्झाएको थिएँ। ऊ मेरो प्रिय थिई, नराम्रो काम नगर्न आग्रह गर्थें। ऊ सारको प्रेममा अन्धी भएकी थिई।
घरबाट ल्याएको पैसा सिध्याउन कस्सिएकी थिई। ऊसँग पैसा सकिएको थियो। सारसँग पनि झगडा परेको थियो। उनीहरुबीच बोलचाल बन्द भएको थियो। रमाका पैतालाले कलेजसम्मको बाटो बिर्सिएका थिए। घरमा फोन गरेर पैसा माग्ने हिम्मत थिएन।
कोठाको खर्च म पुर्याउँथें तर उसको फजुल खर्च गर्ने बानी बसेको थियो। दुई/तीन सय रुपैयाँ हुने उसको सिमकार्ड भोकाएको थियो। हप्तामा एक जोडी कपडा माग्ने उसको शरीर जिल्ल परेको थियो। बागमतिको मो:मोको स्वाद जिब्रोले बिर्सिसकेको थियो।
उसको मोबाइलमा पुनः फोन आउन थाले, नचिनेको मान्छेको। ऊ बोल्न थाली। मोबाइलमा रिचार्ज हुन थाल्यो। सारलाई देखाउनकै निमित्त होला अरु केटासँग नजिक हुन थाली तर अरु केटाहरु पनि सारका साथी थिए। आफ्ना चाहना पूरा गर्न पाएकोमा खुसी थिई।
पार्क, जाखौर तालको बाटो उसका लागि नौलो थिएन। धेरै पटक म आफ्नै कोठा छोडेर छतमा बस्नु पर्थ्यो। उसको सानै उमेरमा नाम चलेको थियो। उसका गोजी भरिन थालेका थिए। व्यापारी भएकी ती शरीर बेचेर।
रातिको आठ बजेको थियो।
'फुली, बाहिर जाउँ न!' मोबाइलमा आँखा लगाउँदै रमा बोली।
'किन?'
'एउटा केटा बोलाउँदै छ।'
'तँ जा! म जान्न त्यस्तो ठाउँमा।'
'तँ नास्ता खाएर बस्नु, म भेटेर आइहाल्छु' ऊ कर गर्न थाली। उसको जिद्दीपनको अगाडि मेरो 'जान्न' शब्द टिक्न पाएन। हामी बसपार्कको होटलमा गयौं। म बाहिर बसिरहें, ऊ माथि तिर गई।
केही समयपछि रक्सीको नशासँगै तल आई। उसलाई सकुशल कोठामा पुर्याउनु मेरो दायित्व थियो। साथी थिई ऊ, सबैभन्दा मिल्ने। उसका गोडामा तागत थिएन। बाटोमा हल्ला गर्दै हिँडिरहेकी थिई। मलाई धेरै डर लागेको थियो।
प्रहरीले बारम्बार 'हल्ला नगर' भन्दा पनि उसले टेरिन। अन्त्यमा म र रमा दुवैलाई प्रहरीले जिप्रका ल्यायो। रमा नशामा थिई। उसलाई केही मतलब थिएन। प्रहरीको पाउ परेँ, माफी मागें तर मेरो बिलौना ब्यर्थ गयो।
भोलिको दिन सम्झेर म जोडजोडले रुँदै थिएँ। च्यानल गेट भित्र पाँच वटा कोठा थिए। छेउ तिरको कोठामा महिला सेल। चार वटा सेलका पुरुषले हामीलाई नराम्रो धारणाले हेरिरहेका थिए। रमा उनीहरुसँग पनि बोलिरहेकी थिई।
म रुँदै बसेकी थिएँ। चारैतिर गुनगुनाहट थियो। हामीलाई सबैले खराब केटी भन्दै थिए। मेरो नाम 'फुली' थियो तर यहाँ फुलीको अर्कै अर्थ लगाएका थिए। कसुर बिनै कलंकित हुँदै थिएँ। गल्ती कसको थियो सोच्नै सकेकी थिइनँ। धनगढीको, मेरो, रमाको, केटाहरुको?
गल्ती रमाका थुप्रै चाहनाहरुको थियो। जो, रमाको गरिबी देखेर नआउनु पर्थ्यो।
गल्ती पुरुषहरूको थियो। जसले आमाको योनिबाट जन्मिएर, स्तन चुसी हुर्किएर महिलाको तिनै अंगमा गिद्धे नजर लगाएका थिए।
गल्ती रमाको बाबा-आमाको थियो। जसले दिनको मात्रै एघार घन्टा काम गरेर कम बाली भित्र्याए, रमालाई थोरै पैसा पठाए।
गल्ती मेरो पनि थियो। रमाको बाबालाई उसको अवस्थाको बारेमा जानकारी दिनु पर्थ्यो, उसको जिद्दीपनलाई हल्का रुपमा नलिनु पर्थ्यो।
गल्ती धनगढीको थियो। जसले रमाजस्ती गाउँकी केटीलाई आधुनिक नहुँदा पाखेको उपनाम दियो। र सबैभन्दा ठूलो गल्ती रमाको थियो। जसले बाबालाई सुख दिन पढ्नु पर्थ्यो, सपनालाई गोरेटो देखाउनु पर्थ्यो, आफ्नो गरिबी सम्झिएर मेहनत गर्नु पर्थ्यो, गिद्धे नजर भएका केटाहरुलाई सम्झाउन पर्थ्यो, असल काम गरेर नाम प्रख्यात पार्नु पर्थ्यो।
म र रमा जस्ता किशोरी पहिले पनि थिए, अहिले पनि छन्। सबैकुरा मनन नगरेसम्म जन्मिरहने छन्।
लेखिरहेको कपिमा पूर्णबिरामसँगै आँखाका पानीले सिंचाइ गरेर लेख्न बन्द गरें। सायद, एक बजेको हुँदो हो। हाम्रो सेलका सबै महिला सुतिरहेका थिए। बाबा-आमाको आँखाको आँसु हेर्ने क्षमता थिएन मसँग।
केटासँग बोल्न पनि डराउने केटी म। नराम्रो मुद्दामा मुछिएकी थिएँ। बाहिर झुण्डाएको बत्तीले सरियाको डन्डाको छायासँगै मध्यम उज्यालो छरेको थियो। लुकाएर राखेको चक्कुले हातको नशा काट्दैछु। माया लाग्दैछ रेटिएका नशाको। याद आउँदैछ परिवारको। सपनाको संसार देख्न नपाइकन बिलिन हुँदैछ संसार।
विस्तारै विस्तारै विस्तारै...