साथी,
आज खुबै आउँदै छ तिम्रो याद,
तिमीसँग गरेका हरेक बात,
तिमीसँग व्यतित हरेक साथ,
तिम्रो सामु देखाएका हरेक आँट,
साथी आज खुबै याद आउँदै छ,
तिमीसँग मिलाएका हरेक काँध।
के तिमीलाई स्मरण छ,
स्कुलको सेतो सर्टमा
तिम्रो अनि मेरो मित्रताको रंग भरेको?
के तिमीलाई याद छ,
टिफिन टाइमको आधा घन्टामै
जिन्दगी भरको मस्ती गरेको?
के तिमीलाई याद छ?
तिमी अनि म 'बेन्चमा को छेउमा बस्ने' भन्दै लडेको?
के तिमीलाई याद छ,
गणितका ती कठिन फर्मूला सँगसँगै पढेको?
एकदिन सर नआउँदा समेत
'खुसीले' रमाइलो गरेको?
के अझ तिमीलाई याद छ,
स्कुलको चमेनागृहबाट खाजा नखाएर
स्कुलको नियम तोडेको,
'अब त भोलिबाट जसरी नि पढ्छु' भन्दै
आफूलाई वाचामा मोडेको,
'यसै उसै हुने फेल नै हो' भन्दै
एक हप्ता म्याथ क्लास छोडेको?
साथी के तिमीलाई याद छ,
पहिलो पटक जिन्दगीको सपना
यो हो भनी, साथीसाथीमा मीत जोडेको,
सरहरुको अनेकौँ जिस्काउने नाम राख्दिँदै
क्लासमा अनेकौँ याद छोडेको?
साथी के तिमीलाई याद छ,
तिमी स्कुलको प्राङ्गणमा नराम्ररी लडेको,
अरुको साइकल चोरी चोरी तिमीलाई मैले घरसम्म छोडेको?
साथी के तिमीलाई याद छ,
एलएचएस इज इक्वेल टु आरएचएस प्रमाणित गरेको
खुसियालीमा १५ दिन किताबै नछोएको,
सर्टमा कालो धब्बा देखिँदा बाहेक अरुबेला सर्ट नै नधोएको,
सरले लठ्ठीले बेस्सरी हान्दा पनि 'बेइज्जत हुन्छ'
भन्ने डरमा आँसु आउँदा समेत नरोएको?
के तिमीलाई याद छ,
क्यान्टिनमा उधारो खाएपछि उता पाइलै नटेकेको,
मेरो अप्रेसन हुँदा त्यत्रो एक महिना तिमीसँग नभेटेको,
प्रिन्सिपलले लौरो लिएर स्कुलभरि लेखेटेको?
साथी के तिमीलाई याद छ
'पिटाइ खाइन्छ भन्ने डरमा ३ महिनासम्म
प्रिन्सिपलको अगाडि नै नटेकेको,
सामाजिक टिचरले जाडोको बेला चौरमा दिनभर पढाएको,
मैले कविता भन्ने अनि तिमीले गित गाएको,
तिमीले पहिलो प्रेमिका अनि मैले भाउजू भन्ने अवसर पाएको?
साथी के तिमीलाई याद छ,
तिमीले हुन नसकेकी भाउजूसँग
अनेकन वाचा कसम खाएको,
सरले चक्कर थाहा पाएपछि प्रिन्सिपलको अफिससम्म धाएको,
२/४ लठ्ठी खाएपनि आउँदा भने मुस्कानसँगै आएको?
साथी के तिमीलाई याद छ,
तिमी कक्षा १० को बिदाइ कार्यक्रममा स्कुलभरि छाएको,
सधैँ गाली गर्ने सरले समेत तिमीसामु भावुक भई आएको,
अनि तिमीले 'आजै त हो खाने दिन' भन्दै मासु थपी थपी खाएको?
तर साथी, आज यो परिवेश कस्तो हुन थाल्यो,
आफ्नै साथीलाई भेट्न समेत समय अपुग हुन थाल्यो,
यो जिन्दगी पैसा अनि सुखको पछि भाग्न थाल्यो,
वास्तवमै रमाएका पलसमेत सपनी लाग्न थाल्यो,
मस्तिष्कले अनेकन चिन्ता
अनि सोच यो मनमा हाल्न थाल्यो,
ती चिन्ताविहीन, खुसियाली अनि रमाइला दिन,
खै साथी, किन? आजको दिनको लागि
'यादमात्र हुन्' भनी यो मस्तिष्कले पाल्यो।
खै कहाँ, आज हाम्रो मित्रताको गहिराइ
अनि प्रेम नफर्किने गरी भाग्यो!
साथी, खै कहाँ आज हाम्रो मित्रता
अनि प्रेम नफर्किने गरी भाग्यो!