गणतन्त्र ल्याउन
तिमीसँगै मैले नि ढुंगो हानेकै हो
गोली हाने हान भनेर छाती तानेकै हो
तर तिम्रो ढुंग्रो भाग्यमानी
राजधानीको ढुंगो
मिडियाको दृष्टिमा पर्यो
चर्चाको शिखरमा चड्यो
म बबुरो ढुंगा हान्दै गर्दा
पुलिसको बुटमुनि कैयौँ पटक कुल्चिएको हुँला
भुइँमान्छे र दुर्गम बस्ती नदेख्ने मिडियाका आँखा
मेरो ढुंगा देखेनन् होला
तर मिडियाले मेरो ढुंगा नदेख्दैमा
मैले लडाइँ लडेको कुरा नलेख्दैमा
गणतन्त्र तिमीले मात्र ल्याएको हुन्छ र?
नियतीले गर्दा
तिमीलाई शासक र मलाई रैती
तिमीलाई वाचाल र मलाई निर्धो बनायो
तर तिमी शासक हुँदा
पात्र फेरिए प्रवृत्ति फेरिएन
भाषा फेरिए शैली फेरिएन
भाषण फेरिए दुख कम भएनन्
यति हुँदासम्म नखुलेको चेत
बिर्ता सम्झदै मनपरि गरिरहँदा
संविधान संस्कृतिको बर्खिलाप गर्दै
प्रजातान्त्रिक संस्थालाई मरणासन्न बनाउँदै
कुशासन थुपार्दै गर्दा
जनताको धैर्यताको परीक्षा कहिलेसम्म लिन्छौ
ताई न तुईको तिम्रो चुरीफुरीले
गणतन्त्र संकटमा छ
दम्भ नगर्दा हुन्छ
तिम्रो अकर्मण्यताको कारण
तिम्रो असक्षमताको परिणाम
मुलुक भोग्दै छ
मैले पनि रगत बगाएर ल्याएको गणतन्त्र
बिरामी पर्दैछ।