इतिहासको पानामा
विगतलाई पल्टाइ पल्टाइ
आफू अट्ने ठाउँ खोज्दा खोज्दै
भविष्यको दौरानमा काल्पनिक
ऐसको जिन्दगी रोज्दा रोज्दै
कठै मेरो पुस्ता!
सक्किने भयो यतिमै
भूत र भविष्यको चपेटामा
वर्तमानलाई कोच्याउँदा कोच्याउँदै
बा-आमाले पुस्तक त थम्याइदिए
जसले ज्ञान अटाउन सकेन
सभ्यता र संस्कार समेट्न सकेन
संस्कारका नाममा यो समाजले
मन्दिर जान त सिकायो तर
जीवनको सही अर्थ सिकाउन सकेन
आधुनिकताको नाममा यो जमानाले
इन्टरनेट र मोबाइल त थमाइदियो
तर जिउने तरिका सम्झाउन सकेन
कठै!
यहाँ ‘म’लाई ‘म’ बन्ने कुनै अधिकार नै छैन
फेरि ‘म’लाई ‘म’ बाहेक कसैको सरोकार नि छैन
देख्दा लाग्छ
दौडिँदा दौडिँदै दौडिन बिर्सिए झैं
बिना गन्तव्यको यात्रामा निस्किए झैं
न त आफ्नोपन मरेको हो
न त अंकुराउनै नदिइएको
हरेक भिडको अंश बन्दा बन्दै
कठै मेरो पुस्ता!
सक्किने भयो यतिमै
अरुभित्र आफूलाई खोज्दा खोज्दै।
भयो अब आफूलाई
बाँच्नकै लागि मात्र नबचाऊ
हर सिद्धान्तको दास नबनाऊ
ए मेरो पुस्ता!
आफूलाई आफूभित्र खोज
जिउन सिक, सार्थकता रोज
तिमी अरुबिना पनि आफैमा केही हौ
तिमी आफू नै आफ्नो मालिक हौ।