आफ्नो प्रगति अरुलाई सुनाउनु मानिसको सबैभन्दा मनपर्ने कुरो हो, सायद। पल्लाघरे काका मेरा बालाई दिनहुँ सुनाउने गर्छन्।
रातभरिको त्यो सोचाइ, त्यो मेरो अठोटलाई सिरानी छेउमा राखेर बल्लतल्ल निदाएको म आज पनि निद्रा खुल्यो त्यहीँ पल्लाघरे काकाको 'मेरो छोरो त...' भन्ने वाक्यले गर्दा।
उठेर ओछ्यानमा बस्दै मोबाइल चलाइरहँदा घण्टी बज्यो म्यानपावरबाट।
'दिपेन्द्र जी, हजुरको भिसा लाग्यो। भोलि नै काठमाडौ आउनु होला।'
'अनि टिकट कहिलेको नि हजुर?'
मेरो प्रश्नको 'तीन दिनपछि' भन्ने उत्तर दिँदै फोन काटियो।
सागर पल्लाघरे रामे काकाको छोरो। उमेरमा मभन्दा दुई महिना मात्र जेठो भए पनि पढाइमा मभन्दा अगाडि। ऊ एमबिबिएसमा नाम निकालेर काठमाडौँ बसेर पढ्दै छ। सबै कुरामा एकै भएपनि सागर र म पढाइमा भने एक हुन सकेनौँ।
काका धनी भनौँ कि बुझेका, सागरलाई आठसम्म बोर्डिङमा पढाएपछि पढ्न सजिलो हुन्छ भनेर आठमा मैले पढ्ने सरकारी स्कुलमा भर्ना गर्दिएका थिए। एउटै थालमा खाएर हुर्केका हामी पढ्ने ठाउँ पनि एउटै हुँदा खुसी को कति थियौँ, त्यो त्यति बेला हामीलाई पनि थाहा थिएन।
कक्षामा उत्कृष्ट तीनमा पर्ने म, १० सम्म पुग्दा सबैले साइन्स नै पढ्नु पर्छ भन्ने सल्लाह दिने मान्छेहरु कयौँ भेटिए। काठमाडौँ बसाल्नु है भनी बालाई सम्झाउनेहरु पनि थोरै थिएनन्।
सपनाको सहर काठमाडौँ, मलाई सपना देख्न सिकायो। बा सुर्ती छाड्नु पर्छ है अब भन्दा 'तँ डाक्टर बनेर मेरो उपचार गरिहाल्छस् नि' भन्दै मलाई गाडी चढाएको याद अनि आमाले बालाई नभन्नु है भनी त्यो चोलीबाट निकाली दिएको हजारको नोटले ममा छुट्टै किसिमको उर्जा प्रदान गरिरहेको थियो।
तर बा, राजधानी त अजिबको रहेछ। सुरुमा सपना देखाउने यो सहरले बाध्यतामा बाच्न सिकाउन थाल्यो। मेरो मेहनतलाई अपुग भन्न थाल्यो। कहाँ हुँदा रहेछन् र रामे सागर जस्ता साथी, कहाँ हुदा रहेछन् र बाबु बाबु भन्दै सिकाउने ती गुरु।
कक्षा ११ को अन्तिम परीक्षाको रिजल्टले सायद मेरो जिन्दगीको बाटोमा घुम्ती ल्यायो।
कक्षा १२ को परीक्षापछि म भौतारिँदै थिए। मध्यम वर्गीय परिवार त्यसमा नि एक्लो छोरो। परिवारको जिम्मेवारी आफै उठाउनु पर्ने, निकै गाह्रो हुन्छ त्यहाँ आफ्नो बारे सोच्न, आफ्ना इच्छा पूरा गर्न। सायद म जस्ता कयौँ छोराहरुलाई थाहा हुँदैन मैले कमाउने कि पढ्ने!
विद्यार्थी न हुँ एक मन पढ्न सोचिहाल्छ। लागेँ म पनि २ महिना तयारी कक्षा पढी नाम निकालेर भेटेनरी पढ्ने तयारीमा तर समयमा ११ को पुनः परीक्षाको रिजल्ट आएन। भर्ना हुन पाइनँ, सपना सपना नै रह्यो।
'बा, भोलि नै हिड्नु पर्ने भयो म पर काकीको घरसम्म पुगेर आउँछु है' भनी हिड्दा आमा मलाई टुलुटुलु हेर्दै हुनुहुन्थ्यो। जानु पर्ने खासै काम त थिएन तर हिजो अमृतले खबर पुराउन भनी म्यासेज गरेको र हिँड्नुभन्दा पहिले भेटौँ भनेर मात्र।
काकी गोठतिर नै हुनुपर्छ भन्ने सोचेर म सिधैँ गोठ पुगेँ। भैंसीको गोबर फाल्दै गर्दा मलाई देखि केही अचम्म मान्नु भयो। अलिक अलमलिए जस्तो गर्दै काकीले भन्नु भयो- 'अस्तिको साता फोन गर्दा 'धेरै पैसा कमाएर आउछु अनि बल्ल न्याय किन्न सकिन्छ, अनि बल्ल मेरी बहिनीले न्याय पाउछे' भन्दै थियो बाबु तेरो साथीले।'
यति भनि नसक्दै उहाँको आँखा आँसुले टम्म परिसकेका थिए। दाइ दाइ भन्दै मलाई सताउने बहिनी बलात्कारपछि मारिएको नि आज छ महिना पुग्न लागेछ। खै न्याय त गरिबका लागि हैन कि क्या हो!
बेलुका सुत्ने बेला आमाले नजिकै आएर भन्नु भयो 'बाबु पर्सी जाँदा हुँदैन?'
मुस्कुराउँदै भनेँ मैले 'छिटै गएर टन्न कमाएर पठाउँछु अनि बल्ल तिजमा त्यो धितो राखेको गहना ल्याई नाच्न जान पाउनु हुन्छ नि त आमा।
आखिर जे गरे पनि समाजले हेर्ने त पैसा नै हो। यहाँ धन नै बिक्ने रैछ। तपाईंलाई औषधि पनि मेरो पढाइले किन्न सक्ने हैन, त्यही पैसा नै त हो चाहिने।'
बिहान हिड्ने तयारी गरिरहेको म खै किन मनमा शान्ति थिएन। गाडी छिट्टै आउने भएकाले म झोला ठिक्क पार्नमै व्यस्त थिएँ, आमा छोरोलाई भोको पेट नपठाउने भन्दै भान्सामा।
खाना खाइसकेपछि पारि डाँडाबाट गाडीको आवाज आयो। अब त हिँड्ने बेला भयो, आमाका आँखा झन् झन् भरिँदै थिए। बाले सम्झाउँदै हुनु हुन्थ्यो। टीका लगाइसक्दासम्म आमा खै कतिसम्म रुनु भयो तर मेरो आँखाबाट आँसु झरेन।
बाले दुई वर्ष पहिले ११ मा फेल भएर म रुँदा भन्नु भएको थियो 'छोरो भएर रुनु हुँदैन।' हेर्नु त, छोरो त रुनै बिर्सिएछ नि बा!