आमाले सधैँ छोरो सम्झिन्छिन्,
किनकि आमाको छोरो अरब गएको छ,
आज गाउँदेखि सहर आएकी छिन् आमा,
फ्याट्ट ग्याँसको चुलोमा आगो देख्छिन्,
अनि आमाले सम्झिन्छिन गाउँको अँगेनो,
जहाँ फोक्सो फुल्ने गरी फुकेर आगो बाल्थिन्
अनि सम्झँदै छिन् तिनै दिन आज,
धुवाँको मुस्लोसँगै जाउलो पाक्थ्यो घरमा,
तर आज सास बढेछ आमाको दमले,
अनि नजिकै आएर भन्दैछिन् बुहारीले,
आमा श्वास किन बढेको?
यस्तै प्रश्नभित्र एउटा उत्तर लुकेको छ,
किनकि आमाको छोरो अरब गएको छ।
सहर भित्रको डेरीमा दूध भण्डार छ,
त्यही भाडोको दूधलाई हेर्दै छिन् सहरमा आमा,
अनि गाउँकै गाई गोठमा आफ्नो मन पुर्याउछिन्,
अब फेरि एकपटक त्यही छोरो सम्झिन्छिन्,
किनकि आमाको छोरो अरब गएको छ।
हाट बजारमा राम्रै सपिङ देख्छिन् आमा,
भान्सामा हरियो नै पाकेको छ,
तर गाउँको करेसाबारी बाँझो छ भन्छिन् आमा,
किनकि आमाको छोरा अरब गएको छ।
मिठो मसिनो पनि सहरमा पाकेकै छ,
होटल रेष्टुरेन्टमै सबै रमाएकै छन्,
आमा भने फेरि घरगाउँकै खेतबारीको कुरा गर्छिन्,
किनकि आमाको छोरो अरब गएको छ।
आजभोलि फोनमै गर्छन् सबैले भेटघाट,
को आफ्नो को पराई चिन्दिनन् यहाँ,
अनि दुई पाइलाको बाटोमा पनि साधनमा हिड्छन्,
आमाले भने फेरि पनि गाउँकै चौतारो सम्झिन्छिन्,
किनकि आमाको छोरो अरब गएको छ।
आजभोलि घरमै मिटर रिडिङ धारा छन्,
आमा घरकै पानी धारामा स्नान गर्न पाएकी छिन्,
तर पनि फेरि ढुंगे धारा पँधेरोलाई याद गर्छिन्,
किनकि आमाको छोरो अरब गएको छ,
त्यसैले आमा सहरमा, मन भने गाउँमा,
अनि फेरि सम्झिन्छिन् आमा त्यही अरबे छोरो।