सोच्दैछु म, मिल्ने भए के गर्थें होला?
मिल्ने भए
आजभन्दा २९ वर्ष अगाडिको दुनियाँमा पुग्थेँ
जहाँ म भर्खरै यो धर्तीमा पाइला टेक्ने तयारी गर्दै थिएँ
उसैगरी दिन्थेँ मेरी आमालाई प्रसव पीडा
जुन मैले पहिले पनि दिएको थिएँ
उसैगरी चिच्याउँथें धर्तीमा पाइला टेक्ने बित्तिकै
आमाको न्यानो काख खोज्दै
उसैगरी लुट्पुटिने थिएँ उनको काखमा
जसै म पहिले लुट्पुटिने गर्थें
मात्रै मान्ने थिइनँ त
उनको त्यो काख छोड्न
उनीबाट टाढा जान
सोच्ने पक्कै पनि थिइनँ
उनका ती आँसुका धारा केवल
मलाई देखाउनकै निम्ति हुन् भनेर।
मिल्ने भए,
मेरै उमेरका साथी जस्तै
म पनि खेल्थेँ गट्टा ढ्याक र
लुकामारी उफ्रँदै रमाउँदै
कहिले बेसीमा पौडी खेल्दै
कहिले ऐसेलुको झाङमा लुक्दै
कहिले बा र आमाको गाली खाँदै त
कहिले पिटाइ खाँदै
गर्थें ती सबै उपद्रो
जुन मैले कहिले गर्नै सकिनँ
जो म ज्ञानी थिएँ सबैकी, प्यारी थिएँ सबैकी
थिएन त केबल साहस मनमा
ती सबै कुराको विरोध गर्न
बोलीभन्दा प्रिय त आँसु नै थियो जो।
मिल्ने भए
खेल्ने थिइनँ ती
बाभन्दा बढी उमेरका मान्छेको काखमा
जस्ले मलाई उन्का दुई खुट्टा बीचका
खेलौना खेलाउन लगाउँथे
कहिले नुहाउने बाहनामा त
कहिले तेल लगाउने बाहनामा
चलाउँथे मेरो गोप्य अंग दुख्ने गरी
थाहा थिएन किन चलाउँथे त्यसरी
थाहा थियो त उनको धम्की
यदि यो कुरा मेरो बा-आमाले थाहा पाए
बिदा हुन्छन् यो धर्तीबाट र हुनेछु म एक्लै।
मिल्ने भए
विश्वास गर्ने थिइनँ यी सबै कुराको
भन्ने थिएँ मेरी आमालाई
आमा हरेक परिस्थितिलाई चुपचाप स्वीकार गर्नु
कुनै कुराको विरोध धेरै नगर्नु
म ज्ञानी भएर होइन
ती विरोध गर्दा म जित्न सक्छु भन्ने
आत्मविश्वास नभएर हो
यदि मैले हारे पनि
तिम्रो लागि म छु भन्ने मान्छे
हुन्छ जस्तो नलागेर हो
म ज्ञानी होइन र कहिले थिइनँ पनि
थिएँ त केबल आफ्ना आफ्नैबाट लुटिएकी
बोली आउनै नसक्नेगरी थिचिएकी
एक अबोध बालिका।