कविता
ताबुकको सिरानीले कक्राएको गर्धन
सिधा समेत बनाउन नपाई
जोतिइरहेछ ऊ रात्रिको अन्तिम प्रहरदेखि नै
एकोहोरो, एकनास, चेतनाशून्य यन्त्र जस्तै।
सुपरभाइजरको लातसँगै
झस्केर ब्युझेको
अहिलेसम्म सोध्न पाएको छैन घरमा
सन्चो, बिसन्चो, आपत विपद
अन्यौलमा छ, राति देखेको
त्यो भयानक सपनाको फल के हुने हो?
पहिरोले लगेर बाँकी रहेको
त्यो पाखोबारी धितो राखेर
ऋणको भारी र सपनाको कुम्लो बोकी
पैसा फल्ने सहर तिर उडेथ्यो ऊ।
हो,
सपनाको कुम्लो
विधवा आमालाई सुख दिने सपना
सपना स्वास्नीको मुहारमा खुसी देख्ने
सन्तानको उज्वल भविष्यको सपना
अभाव रहित जीवन जिउने सपना
यी र यस्तै कैँयन सपनाहरु।
बिडम्बना,
मरुभूमिको यो तातो भट्टीमा
पोलिइरहेका छन् उसका सपना
उसकै पसिनाका प्रत्येक थोपामा बगिरहेछन्
अनि बिलाइरहेछन् बालुवामा खसेर।
यहाँ त ऊ,
एकाबिहानैदेखि धर्ती फाट्ला झैं गरी लागेको घाममुनि
मध्यान्न बस्छ टुक्रुक्क
अनि खोल्छ पोको
राति खाँदा बचाएर राखेको तरकारी
खुबुसको प्याकेट
अनि उम्लेझैं गरी तातेको पानी,
निल्न बाध्य छ ऊ
फलामको चिउरा झैं कठोर ती प्रत्येक गाँसहरुलाई
बाँच्नै पर्ने बाध्यताबीच।
तर,
तर बाँच्ने ग्यारेन्टी पनि कहाँ र यहाँ
जहाँ हरेक दिन कयौं उनीहरु
फर्कन त फर्कन्छन् आफ्नो देश
तर आफैंले थाहा नपाउने गरी
निष्प्राण, निर्जीव, अचल
बाकस भित्र बन्द भएर।
(नोटः ताबुक- खाडीमा घर बनाउन प्रयोग गरिने सिमेन्टबाट बनेको इँटा
खुबुस- एक प्रकारको अरबी रोटी, जो १ रियालमा १० वटासम्म किन्न पाइन्छ।)