अझै पनि भन्छौ समस्या छोटो भोटोमा छ
तिम्ले गिद्दे आँखा गाड्ने स्तन र पिडुलामा छ!
अझै पनि भन्छौ, समय गलत थियो
गल्ती तरुनीले एक्लै बेटाइममा हिँड्नुमा छ!
अझै पनि भन्छौ बाहिर हिंसकको भिड छ, भित्रै बस
तिमी लुटिनु, च्यातिनु, धकलिनु, जलाइनु
सबैमा दोषी उही छे जो प्रतिकार गर्दा गर्दै हार्छे
कोट्याई कोट्याई खोतलिन्छ,
खोजिन्छ कि ऊ चुकेकी कहाँ छे!
अझै पनि
तिम्रो छोरो बलात्कारी हुनुमा
भाइ, भतिजो, भान्जा वा छिमेकी हिंसक हुनुमा
उसको हिम्मत बढ्दै जानुमा
एकपछि अर्को काण्ड गर्न
कति नहच्किनुमा
तिम्रो कति दोस छैन?
तिमीलाई कहींकतै आत्मग्लानीले पोल्दैन?
तिम्रो किशोर छोरालाई कहिल्यै सिकायौ?
प्रेम गर्नु, स्त्रीको सम्मान गर्नु
सम्पत्ति सम्झेर कहिल्यै
आफूखुसी नगर्नु,
उनका आँखामा हेर्नु
प्रेम नदेखे शरीर छुँदै नछुनु
मन जित्नु, शरीर उनी आफै सुम्पनेछिन् कुर्नु!
कहिल्यै सम्झायौ तिम्रो भतिजलाई?
हिजो जो तिमीमा आफूलाई समर्पित गर्थी
जरुरी छैन कि ऊ सधैँलाई तिम्री दासी बनी।
कहिल्यै रोक्यौ तिम्रो भान्जालाई?
जब उनी भन्दैछिन् कि पर जाऊ म तिम्री हुन्न।
प्रतिशोध साँधेर तेजाब नबोक,
बाटो ढुकेर चक्कु नतेर्साऊ,
भिरमा भेटेर नघचेड,
एकान्तमा कुरेर मासु नलुछ
किनकि प्रेममा पहिला मनसँग मन मिल्छ
शरीर पाउनु नपाउनु सबै मिथ्या बन्छ।
कहिल्यै सिकायौ किशोरी छोरीलाई?
तिमी कमजोर छैनौ, एक्लै हिँड्न केको दकस?
तिमी आफै सक्षम छौ, वैशाखी खोज्न केको बहस!
कहिल्यै हिम्मत दियौ भतिजीलाई?
बिहे गरेको लोग्नेले हातपात गरे
कुनै पनि दिन ऊ हिंसक महशुस भए
कुनै पनि कुरामा अन्याय भए
संसारका सबैले तिम्रो साथ छोडे
सिधैँ यहीँ आउनु,
तिमी चढेर मेला हेर्ने मेरो काँध
तिम्रो लागी उस्तै रहनेछ
तिमी लड्दा समाउने मेरा हात
न बुढ्यौलीले न रोगले नै काँप्नेछन्।
छोरालाई आत्मानुशासन सिकाउन भुल्यौ
छोरीलाई अपरिचित बाटो हिँड्न रोक्यौ!
अझै पनि भन्छौ, छोरी उज्यालैमा घर आउनु
मिल्छ भने दुलही, घर पायककै जागिर खानु
लोग्ने रिझाउनु, सानो तिनो थप्पड माया सम्झनु
लुगा लाउँदा अलि ख्याल गर्नु!
ब्वाँसाहरु बाटैभरि छन् बचेर हिँड्नु।
भेटिने समाजका रोगीलाई मारेर के हुन्छ यहाँ
जब रोग भित्र भित्रै जीवित रहन्छ?
जबसम्म तिमी अनि हामी जिम्मेवार हुन्नौं
एकाधलाई थुनेर अपराध कहाँ रोकिन्छ?