चार दाजुभाइ र दुई दिदीबहिनी सहित छ जना छम्ल्याहा जन्मेका थियौँ हामी। बाले आमालाई आमा बनाउनुभयो अनि कता बेपत्ता हुनु भयो। न आमाले चिन्नुहुन्छ न हामीले।
मान्छेहरु आउँथे, भाले हो कि पोथी ओल्टाई पल्टाई गर्थे। भाले भएकै कारण म एउटा परिवारबाट अपनाइएँ र धन्न भुस्याहा हुनबाट जोगिएँ। गृह प्रवेशसँगै मेरो नामाकरण भयो टाइगर। नाममै भएपनि म कुकुरबाट बाघ भएँ।
कतै नचाहरी बसेकै ठाउँमा दूध बिस्कुट, ओहो! झन्डै रोइनँ। नामले टाइगर भएपनि जति बल गर्दापनि गर्जन कहिल्यै सकिनँ, भुकेँ मात्र। गाईभैँसीको दूधले आमाको कमि महशुस हुन दिएन तर दाँत तिखारिँदै जाँदा मासुको तिर्सना बढ्न थाल्यो।
छाँगाबाट तब खसे झैँ भयो जब थाहा पाएँ, मलाई अपनाउने परिवार शाकाहारी रहेछन्! लाग्यो, सधैँ दूध नै खानु छ भने नाम पाडो वा बाच्छो नराखेर किन टाइगर राख्या होला?
दिन बित्दै गए, समय पहिले झैँ रहेन। प्लेटमा दिइने बिस्कुट अब हावामा उडाएर दिइन्थ्यो अनि मैले हावामै क्याप्प पारेर खानुपर्थ्यो। घरमा नौलो मान्छे आउँदा मन होस् नहोस्, जोडले भुक्नुपर्थ्यो।
बिहान निन्द्रा लागेर सुत्न मन भएपनि मालिकसँगै उठेर मर्निङ वाक जानुपर्थ्यो। उनको मधुमेह र रक्तचाप घटाउन उनीभन्दा अघि अघि म दौडिनु पर्थ्यो। रोग सर्ला भनेर अरु कुकुर साथीसंगीसँगको सामिप्यता बन्देज थियो।
घरमै भएको आधुनिक सुविधायुक्त शौचालयका बाबजुद दिसापिसाबले च्याप्दा, कराउँदा कराउँदा बाहिर लगेर अरुको घरको पर्खाल वा खुल्लामा शौच गराइन्थ्यो।
कहिलेकाहीँ त मेरा पुलिस अनुसन्धान शाखामा भएका मेरा समुदायकालाई भेटेर गुनासो गरौँ कि नलागेको पनि हैन तर फेरि मन सधैँ दह्रो नै बनाएँ।
घरमा कसैले मस्ति गरे 'कुकुर मोज छ' भन्थे। खै! के मोज देखे कुन्नि। कोही अलिक उच्छृंखल भए कार्तिके कुकुरजस्तो भन्थे हामीलाई। केको पात्रो केको महिना कुन असोज, कुन कार्तिक?
कसैलाई पाचन नभए कुकुरलाई घ्यू के पच्थ्यो रे, आफै त चाडबाड हेरी खटाई खटाई खान्छन्, मैले कहिले पाउनु र पचाउनु? बदनाम मात्रै। बिग्रेकोलाई गाली गर्दा कुकुरको पुच्छर रे! कहाँको कुरा कहाँ ल्याएर मेरो पुच्छरलाई दोस।
तर, जे भएपनि मलाई हाइसञ्चै छ। न मालिकजस्तो हातमुख जोड्न जोतिनु पर्याछ, न परिवारको खिटपिट। प्रशंसा पनि छ 'बफादार' भनेर तर लाग्छ म मालिकप्रति बफादार हो कि मालिक मप्रति।
सायद म बिक्रीमा छु अनि आज मलाई कोही हेर्न आएको छ। सुन्दा र सुँघ्दा मेरो मोलमोलाई भएझैँ लाग्दैछ। हाम्रो पनि मान्छेले आफ्नै झैँ वर्ण, जात छुट्याएका रहेछन् र त्यसैअनुरुपको भाउ हुने रहेछ तर आफ्नो मूल्य जति नै भएपनि के फरक पर्छ र? न त त्यो पैसा आफूले पाइन्छ न त पाएपनि पैसामा हड्डि नै हुन्छ।
मलाई जन्म नदिए पनि कर्म दिने घर हो यो। छोड्न फिटिक्कै मन छैन तर एउटा झिनो आशा यो पनि छ कि, नयाँ घरमा मांशाहारी पर्छ कि! कसरी निष्ठुरी भएर छोड्न सक्छु म यो घर, अहँ! सक्दिनँ तर मेरो बसमा केही नै छैन।
तर म जान सक्दिनँ, मेरो बफादारिताले दिँदैन। मेरो समुदायको बफादारिताको पहिचान अब मेरो काँधमा छ, मैले त्यो कायम राख्नुपर्छ। आखिर म कुकुर हो, मान्छे होर धोका दिन?