त्यो आभा
बिहान क्षितिज नखुल्दै
मेरो आँखामा खुल्छ।
मध्य रातसम्म
परेलीमा झुल्छ।
त्यो मुस्कान
मेरो हृदयमा आउँछ।
त्यो आवाज
मेरो कानमा गुञ्जन्छ।
अनि सियोले झैँ चस्स घोच्छ।
मुटुमा बिझाउँछ।
थाहा छैन त्यो यादले,
कहिलेसम्म सताउँछ?
कहिलेसम्म रुहाउँछ?
कहिलेसम्म बेचैन बनाउँछ?
खै! कहाँ अल्झियो यो मन?
किन बहकियो?
सम्हाल्ने भगिरथ प्रयत्न,
हुन्छ आफैमा बिफल।
कहिलेसम्म निदहरु लुट्ने हो?
कहिलेसम्म यादहरुले चुट्ने हो?
फिक्का बनेका सपना।
तीता बनेका यादगारपल,
छाल झैँ उर्लेर आउँछ।
किनारमा तड्पाउँछ।
फेरि आँसुमा डुबाउँछ।
सम्झन्छु, झस्कन्छु र तरंगीत हुन्छु
मन मतिष्क सिरिंग हुन्छ
त्यो मृदुभाषी वचन
पासो भइदियो
लुटुपुटु गर्दै मोहित पार्ने
त्यो भावभंगीले
घायल बनाइदियो।
तृष्णा तृप्ती नभएर हो
वा धैर्यता रहेन?
त्यो आभा दूर भएर गयो।
यता झझल्कोले सताइ रह्यो
भक्कानो छुटी रह्यो।
छुट्याउन अझै कठिन भो
सपना हो या विपना?
त्यो आभा!
छाया हो या माया हो?
त्यो आभा
फेरि, बिहान क्षितिज नखुल्दै
मेरो आँखामा खुल्छ।
मध्य रातसम्म
परेलीमा झुल्छ।
अनि खुसी लुटेर
पीडामा तड्पाउँछ।