पत्रकारः नमस्कार, ठूलो मान्छेज्यू।
ठूलो मान्छे: नमस्कार, पत्रकारज्यू। आरामै हुनुहुन्छ ?
पत्रकार : आरामै छु तर पूर्णरूपमा होइन।
ठूमा : किन नि ?
प : कोरोनाको बेलामा पनि नारा र जुलुस।
ठूमा : ए, त्यो त जीवन्त लोकतान्त्रिक देशमा भइरहन्छ नि।
प : तपाईंले गर्दा त हो नि।
ठूमा : मैले त देशको लागि ,जनताको लागि ,विकासको लागि, समृद्धिको लागि त्यसो गरेको हो।
प : हुँदा छँदैको सभालाई ठहरै पारेपछि समृद्धि आउँछ र ?
ठूमा : आउँछ नि। यो त पानीजहाजमा सलल आउँछ, रेलमा छुकछुक गर्दै आउँछ। यो मेरो बायाँ हातको खेल हो। त्यो निम्छरो सभाले ल्याउने हो र?
प: सबै प्रश्नहरू कुर्सी जस्ता आरामदायी र यति जस्ता मनमोहक अनि ओमनी जस्ता स्वादिला छैनन्। मेरो जागिर त जाँदैन होला नि ? म कुहेको फल पो हुन्छु कि ?
ठूमा : (हाँस्दै) त्यस्तो हुँदैन। तपाईं पनि आँ गर्दा अलंकार बुझ्नु हुँदोरहेछ। मैले कुकुरलाई ताकेर ढुकुरलाई हानेको होइन।
प: तपाईं सीधा र प्रष्ट कुरा गर्ने मान्छे त होइन भन्छन् नि ?
ठूमा: कहिलेकाहीँ परिस्थिति बुझेर सीधा वा बांगा कुरा गर्न जानिएन भने यत्रो मेहेनत र खुराफातले कमाएको कुर्सी जोगाउन सकिँदैन।
प: भनेपछि, मुखमा रामराम बगलीमा छुरा ?
ठूमाः उखान मिलाउने काम मेरो हो। खासमा मैले जानेकै यत्ति हो। तपाईंको काम प्रश्न सोध्ने हो। जस्तोसुकै प्रतिगमनकारी प्रश्न सोधे पनि एकपल्टलाई म तपाईंलाई माफ दिन्छु। आखिर तपाईं मजस्ता बिछट्टै सिपालु राजनीतिज्ञ ठूलो मान्छेको अन्तर्वार्ता लिनआउनुभएको छ। मेरो राम्रो राम्रो लेखेर छाप्नुभयो र जनताले मन पराए भने अनि मैले फेरि चुनाव जितें भने कालेकाले मिलेर खाऊँ भाले गरूँला नि, हुन्न र ?
प: मुख त हाम्रो पनि हुन्छ। तर तपाईंले चुनाव गराउनु हुन्छ ?
ठूमा: भन्नलाई त चुनाव गराउँछु नै भन्ने हो तर सत्य कुरा के हो भने चुनाव गराउने मेरो मनसाय र उद्देश्य माखाको पित्त जति पनि छैन।
प: भनेपछि शतप्रतिशत झूटको खेती? फेरि ताजा जनादेशमा जाने भनेर तपाईंले बानेश्वरको त्यो ठूलो भवनलाई गल्र्यामगुर्लुम ढालेको होइन?
ठूमा: आफैं हार्ने चुनाव गराउने म गिरिजाप्रसाद हो र ?चुनावमा जाने भनेर मैले जनता र नेतालाई उल्लु बनाएँ। कार्यकर्तालाई खुसी बनाउन र आफ्नो कुर्सी बचाउन मौकामा चौका हानेको त चौका दाउ नै आयो।
प : गुन्द्रीमुनि बिजुलीको तार राखी तपाईंले हानेको पासालाई फर्काउने काम गर्ने महेश, विष्णुजस्ता ईश्वर अनि सुवासले ढकमक्क जुवाखालमा भानु सूर्यबहादुर ज्ञवालीहरू तैनाथ भएपछि चौका दाउ त आउने नै भयो नि। गाई भए गरोस, भाइ भए भरोस। महेश, विष्णु , रामजस्ता प्रदीप्त र सुवाससित ईश्वरहरूले तपाईंको घैंटोमा घाम लगाई न्यानो दिन्छन् भने, गर्मीमा बादलबाट झमझम पानी पारी शीतलता दिन्छन्। तपाईंको त दुइटै हातमा लड्डु।
ठूमा : एउटा लड्डु तपाईंलाई दिऊँ त ?
प : पर्दैन। म तेत्रो लड्डु पचाउने नेता होइन वाइड बडीको फलाम, नेपाल ट्रष्टको माटो, कोरोना रोकथामको सामग्री, सेक्युरिटी प्रेस, जे पनि पचाउने।
ठूमा : लंगडाको देशमा खुट्टा खोच्याउन जानिएन भने त टिक्न सकिँदैन। त्यसै गरी,यत्रो गह्रौ कुर्सीलाई काबुमा राख्न जे खाए पनि पचाउन सक्नुपर्छ।
प : त्यो त हो। तर त्यत्रो डरलाग्दो सभालाई मारेपछि तपाईंलाई कानुनदेखि डर लागेन ? छरछिमेकी र समाजदेखि डर लागेन ?
ठूमा : काठमाडौंकै दक्षिणतिरका छिमेकीहरूले मलाई झोंक चलाएपछि मैले उनीहरूलाई खानु न पिउनु, पुर्पुरोमा चिनु दिएँ र मैले चाहिं आफ्नै तालुमा आलु फलाएँ । उनीहरूको आन्द्राभुँडी नै देखेको म उनीहरूदेखि डराइनँ। उत्तरतिरको छिमेकी त लाछी, लालची र भुद्दु पनि छ। त्यस्ताका आसेपासेहरू ऊभन्दा तलकै छन्। गु र गोबर नै छुट्याउन नसक्ने। जयबहादुर नामको एउटा ललिपप हड्डीजस्तो यसो फालिदिएको थिएँ, अहिले नपुंसक जस्तो यता न उता भन्दै चुनावमा जान तयार भएको बुझ्नु भएन?
प : मर्ममै प्रहार गर्नुभएछ। यस्तो कलामा तपाईं सिपालु हुनुहुन्छ। तपाईँकै दलका अलि शालीन र भद्र भनेर चिनिएका सुने र प्रज्ञलाई मर्ममा यसरी हान्नुभयो कि उनीहरू आफ्नो मान्छेत्व र पुरूषत्वलाई सिसडोलको डंगुरमा फुत्तफालेर दासत्वको दलदलमा चुर्लुम्मै भासिए। अब मान्छे भएर कसरी बौरिएलान् र विचराहरू, कठै। त्यति सारो त नगरेको भए हुन्थ्यो। अरूहरूको त झन् कुरै नगरौं। अनि कानुनदेखि चाहिँ डर लागेन?
ठूमा : (हाहा) कानुनबहादुरहरू त मेरै खोकिलाका मान्छे हुन्। तिनीहरूलाई दीपक बालीबाली सपना देख्न मैले नै सिकाएको हो। दायाँबायाँ गर्ने कुचेष्टा गरे भने म तिनीहरूको तेज गिराइदिन्छु। उनीहरू समुद्रमा बसेर गोहीसँग शत्रुता मोल्दैनन्।
प : निर्वाचन आयोग पनि छ।
ठूमा : तपाईं जस्तो चतुर पत्रकारले त्यहाँ को को छन् , कसकसलाई कसले कहाँ,कहाँ पुर्याएको भन्ने त बुझ्नुपर्ने।
प : सबभन्दा शक्तिशाली समाजलाई चाहिँ कसरी थपथपाउनु हुन्छ ?
ठूमा : यो समाज हाम्रो लागि जंघार तर्यो, लौरो बिर्सियो हो। सर नपरुन्जेल कोरीको पनि पाउ मोल्नु पर्छ। जनता नामको यो समाज अत्यन्तै कायर र विभाजित छ। असंगठित पनि छ। फेरि त्यो मतदाता भन्ने जमात त भोलेबाबा जस्तो ससानो चाकरीमा नै खुसी भइहाल्छ। बाँचुन्जेल म आफू चुनाव गराउँदिनँ र अरूलाई पनि मौका दिन्नँ। त्यसो भएपछि ती फोहोरी, दुर्गन्धित गरिब जमातलाई वाक्कदिक्क लाग्ने गरी हात जोड्नु पनि पर्दैन ।
प :तपाईं त अत्यन्तै धूर्त र छली हुनुहुँदो रहेछ। भोट माग्दा जनता जनार्दन भन्ने अनि चुनाव जितेपछि काम लाग्यो भाँडो,आफल तेरो ठाँडो गर्ने, हैन त ?
ठूमा :राजनीतिमा ताक परे तिवारी नत्र गोतामे भइएन भने टिकीराख्न कठिन हुन्छ अहिले बादलराज भट्ट, प्रभुकुमार माझीजस्ता आया राम गया रामहरूलाई स्थान दिएँ त , कथाको विशेष मागअनुसार।
प : अनि भोलिपल्ट कुर्कुच्चाले हानेर उपेन्द्र नै बनाइदिने त होला नि ?
ठूमा : तपाईं पनि अलि छिटो बोल्नु हुँदोरहेछ। लेख्नमा चाहिँ यति छिटो नगर्नुहोला।
प : अब अर्को प्रश्न ठूलो मान्छेज्यू , तपाईंले सभाको हत्या गर्दा आफूभन्दा ठूली मान्छेको अनुमोदन चाहिन्छ भन्ने चाहिँ बुझ्नु भयो तर त्यसमा किटानी आधारको लागि धारा राख्न चाहिँ भुल्नुभएछ। त्यो कसरी ?
ठूमा : भुलेर होइन। ठ्याक्क फिट हुने धारा जति खोजे पनि मैले भेटिनँ। मेरा अनुभवी प्लमरहरूलाई पनि खोज्न लगाएँ। उनीहरूले पनि भेटेनन्। कसैले काहीँ पनि नभेटेपछि मैले धाराबिना नै पठाएको हो। काम भैहाल्यो। तर त्यो धारा त कहीँ पनि छैन रहेछ।
प : अझ ठूली मान्छेले त बाजले परेवालाई झम्टेझैं स्वीकृति दिइहाल्नुभयो। तर उहाँले त त्यो धारा भेट्नुभएछ नि ?
ठूमा : त्यो पनि ठ्याक्कै फिट हुने धारा हैन। आकारमा कुनै सानो, कुनै ठूलो खोजेर जबर्जस्ती फिट गरिएको मात्रै हो।
प : अरूले कुरा बुझे भने अप्ठ्यारो पर्दैन ?
ठूमा : पर्दैन। कि हस्तिनापुरको रजाइँ, कि चपरीमुनिको बास। बिरालोले मुसो खेलाएझैं म मान्छेलाई दास बनाउन सिपालु छु।
प : त्यो त हो। त्यसमा पनि राम, महेश, विष्णु (जस्ता) ईश्वरहरू दाइना भएपछि कसैको केही लाग्दैन,हो ?
ठूमा : उनीहरूलाई पनि घरिघरि पानी ट्यांकी मै लगेर सम्धीहरू र सालाहरूलाई धूप लगाउन अर्याउनु पर्छ।
प : अब अर्को प्रश्न तपाईंले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा किन पुनःनियुक्त दिनुभएन?जनताले उज्यालो पाऊन्, अलिकति सुखानुभूति गरून् भन्ने लाग्दैन?
ठूमा : जनताको माया लाग्दैन मलाई। मलाई कुलंगार भन्ने ती मोराहरूको माया गर्ने कुरै छैन। मेरो सानो कर्मचारी चाहिँ कुलमान हुने, अनि म चाहिँ कुलको अपमान हुने कुरा म त सहन सक्दिनँ। फेरि, सालो केटोले दिदीमार्फत् रोइकराइ गर्यो।
प : तपाईंको एउटा सालोलाई त जनताले घाँस खुवाए नि ?
ठूमा : के लछारपाटो लाए त ? तेत्रो ठूलो कुर्सीमा अहिले पनि उही छ। कुलमानलाई त्यो ठाउँमा फेरि नल्याउँदा जनता गुडुडू सडकमा आउँछन् भनेको होइन? खोई त ? नेपाली जनताको कायर र दास मानसिकता मैले बुझेको छु।
प : सामाजिक सन्जालमा त निकै विरोध भयो नि।
ठूमा : त्यो छोरी कुटेर बुहारी तर्साउने तरिकामात्रै हो। म बुहारी हो र ?त्यो त पन्चायती व्यवस्थामा राजालाई सिरकभित्रबाट लोपारे जस्तै हो। मेरो रौं पनि हल्लेन।
प : ठूलो मान्छेज्यू, तपाईंलाई विदेशीको पनि धाप मिलेको छ भन्छन् नि ?
ठूमा : यत्रो नमिलेको धारालाई जोडजाड गरी पानी आइराख्ने बनाउन कुनै न कुनै छिमेकीको साथ त चाहिहाल्छ नि।
प : त्यही छिमेकीले तपाईंलाई उचालेर सगरमाथा पुर्याएपछि सगरमाथा नै गायब पार्दियो भने तपाईं कहाँ जानुहुन्छ ?
ठूमा : देखाजायगा।
प : कानुनबहादुरहरू पनि केही नभन्ने, तपाईंले पनि चुनाव नगराएपछि के हुन्छ देशको स्थिति ?
ठूमा : केही हुँदैन ।आकाश खस्दैन। म सत्ताको मह चाटिरहन्छु, कार्यकर्तालाई कुहेको चामल दिन्छु बासमती चामल भनेर। उनीहरू त्यसलाई बासमती चामल नै ठानेर स्वाद मानीमानी खाएर मेरै गुनगान गाउँछन् , बस्छन् , तास खेल्छन्। अनि मैले बोलाएको बेला उर्लेर सडकमा र चउरमा ठेलमठेल गरेर आइहाल्छन्,त्यतिखेर मासुभात खान पाइहाल्छन्। अरू झारपात कराएर मेरो रौं पनि हल्लिँदैन। काग कराउँदै गर्छ, पीना सुकिरहन्छ। कुकुर भुकिरहन्छ , हात्ती लम्किरहन्छ।
प : तपाईंले राज्यसंयन्त्रका पुर्जाहरू चलाउने सबै मेकानिकहरूलाई यन्त्र नै बनाउनभएको छ – हाडमासुको स्वास फेर्ने रोबोट। तर नभएको र फिट नभएको धारा जोडेको कुराले चाहिँ तपाईंको सपनाको महललाई गल्र्यामगुर्लुम ढाल्दैन?
ठूमा : साँच्चै भन्दा – त्यो खतरा चाहिँ छ। मेरा प्लमरहरू पनि त्यति धेरै चतुर रहेनछन्। अँ साँच्ची, तपाईं त बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाएको पत्रकार, घाटघाटको पानी पिएको पत्रकार। कुण्ड कुण्डपानी, मुण्ड मुण्ड बुद्धि भन्छन्। तपाईंसंग यसको कुनै उपाय छ कि ?
प : मैले दिएको सल्लाह अचूक भयो भने मलाई के दिनुहुन्छ ?
ठूमा : कुरै नगर्नुस्। मसँग नेपाल ट्रष्टको थुप्रै जग्गा अहिले पनि छ। सानो सानो वाइड बडी त कुन ठूलो कुरा भयो र ? धेरै देशमा राजदूत पद खाली छ। संवैधानिक आयोगहरूमा थुप्रै खाली ठाउँ मसँग सुरक्षित छन्। सेक्युरिटी प्रेस र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि तपाईंलाई दिन सक्छु म। सहायक, राज्यमन्त्री हुँदै मन्त्री पद पनि मसँग छ। अझै पनि चित्त बुझेन भने मुख्यमन्त्री वा प्रदेश प्रमुख पनि दिन सक्छु म। सात पुस्ता बसीबसी खानपुग्ने सम्पत्ति पनि थपिदिन्छु। ल फुराउनु त काइदाको आइडिया।
प : ध्यान दिएर सुन्नु है त। तपाईंले खोजेको धारा नभएको सबै ठेलीलाई आफ्ना झोलेहरूलाई भनेर झोलामा हाली सिसडोलमा लगेर जलाइदिनुस् र त्यसको ठाउँमा तपाईंलाई चाहिने धारा हालेको लाखौं लाख ठेली छापेर देशभरि फिँजाइदिनुस्। तपाईंका सबै कानुनबहादुरहरूको हातमा नयाँ ठेली पुर्याइदिनुस्। मरूभूमिमा पानी भेटेको बटुवा जस्तो उनीहरू मखलेल हुन्छन् र तपाईं जस्ता साक्षात देवतालाई जदौ गर्दै तपाईंकै पक्षमा उतिखेरै निर्णय सुनाइहाल्छन्। घरघरमा भएका ठेलीहरू आफ्ना गुण्डाबहादुरहरू लगाई खोस्न पनि सकिन्छ। अलिअलि बँचेका ठेलीहरू त अल्पमतमा पर्छन् लोकतन्त्रमा बहुमतको जित भइहाल्छ। तपाईंको स्वभाव, रुचि र महत्वाकांक्षाअनुसारको सल्लाह दिएको छु। सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने। कस्तो लाग्यो त मेरो सल्लाह, ठूलो मान्छेज्यू ?
ठूमा : गजब छ। ल तपाईंलाई बिदा दिएँ। म यो योजनालाई फत्ते गर्न हिँडिहालें। भोलि, पर्सि मैले तपाईंलाई बिर्सें भने अचम्म नमान्नुहोला।