रत्नपार्क जस्तै भीडभाड देखिने एयरपोटहरू पनि आजभोलि मसानघाट जस्तै सुनसान देखिन्छन्।
सानो हुँदा जति ट्याक्टर चढ्दा आन्नद आउथ्यो, आज त्यति आन्नद पनि मिल्दैन ती ठूला ठूला जहाजहरूमा आकाशमाथि उड्दा पनि।
सायद यही त फरक छ , रहर अनि बाध्यतमा।
मानवको एकछत्र राजले पृथ्वी मात्र नभै चन्द्रमासम्म पुगिसक्दा पनि, आज एउटा ‘अदृश्य शक्ति’ कोरोना भाइरसले संसार आक्रान्त छ।
विकासले फड्को मार्दै गुड्ने कारहरू उड्ने अवस्थामा पुग्नै लागेको बेला, दुर्भायवस अवस्था यस्तो आयो कि उड्ने जहाजहरू पनि भुइँमै ठप्प हुन पुगेका छन्।
धनी अनि गरिब मुलुकहरूको विभेद छुटाउने ती राता अनि हरिया पासपोर्टहरू पनि आजभोलि महत्वहीन जस्तै भएका छन्, ७२ घण्टा अगाडिकोकोरोना (नेगेटिभ) रिपोर्टको अगाडि।
ठाउँ ठाउँमा कोरोनाको रिपोर्ट चेक गरेको देख्दा यस्तो लाग्छ कि, मान्छेले होइन भाइरसले राज गरेको छ। के कोरोनाले यसरी नै विश्व हल्लाइरहने हो त?
के मानव अस्तित्व नै संकटमा पर्ने गरी महामारी आउला त ?
सायद सुरूको अवस्थामा नै विश्वका ठूला ठूला मुलुकले चीनलाई दोष लगाउनुको सट्टा, कोरोनालाई आफ्नै समस्या सम्झी समाधानतिर लागेको भए, आज यो अवस्थामा आउने थिएन कि ?
लकडाउन ढिला सुरू गर्नु, कोरोनाको प्रारम्भिक अनुसन्धान तथा रोकथाममा कदम चाल्नुको सट्टा दोषारोपणमा लाग्नु, जस्ले गर्दा अहिलेको अवस्था आएको होइन र ?
चढेर नओर्लुन्जेलसम्म जहाजको यात्रा पूरै डरैडरमा सुत्नुपर्ने, प्रशान्त महासागरमाथि उडिरहेको जहाजमा भएका ती इमर्जेन्सी ढोकाको काम चाहिँ के होला ?
नेपाल यातायातजस्तै भीड हुने प्लेन पनि पूरै खाली खाली देखिन्छन्, ३-४ वटै सिटहरू जोडेर बिस्तारामा सुते जसरी सुत्न पाइन्छ।
तर निद्रा परे पो, सम्झियो ठूला देशका गगनचुम्बी भवनहरू, विकासको त प्रकाष्ट नै देख्न पाइन्छ।
आफ्नो मुलुकले प्रगति गरेको भन्या त त्यही भ्रष्टाचारको सूचीमा मात्रै हो। मनमा देशको अवस्था र विदेशको प्रगति, मुलुक कहिले बन्ला भन्ने पीर, देश कस्ले बनाउने ? आदि यस्तै कुराहरूबीच अन्तर्द्वन्द्व चलिरहेको बेला टुप्लुक्क एयरहोस्टेस आइपुग्छिन्।
‘एक्स्क्युज मी सर, कफी पिउनुहुन्छ ?’ – उनले सोधिन्।
पुलुक्क उनको अनुहारतिर हेरेँ, उनको अनुहार त पूरै कफीजस्तै नै रहेछ। सेतो मास्क र गाउनले उनको शरीर पूरै छोपेको थियो तर मलाई उनको वाइ-वाइ चाउचाउ जस्तो कपाल मनपर्यो। खै किन किन मलाई उनको कपालले वाइ-वाइ चाउचाउको याद दिलायो, हुन सक्छ विदेशमा पाउने भन्या त्यही एउटा चाउचाउ त हो।
मैले भनेँ-‘नाइँ , म बियर पिउने’ ।
उनले कुन भनेर सोधेपछि मैले गफलाई लम्ब्याउन चाहेँ ‘वीरेन्द्र बियर’ सोधेर।
उनले बुझ्ने कुरै थिएन, मैले मोबाइलमा फोटो देखाएँ। खिस्स हाँसेका राजा वीरेन्द्र देखिन्थे बोटलमा।
त्यसपछि मैले ‘कोरोना बियर’सोधेँ।
त्यो पनि हुने कुरै थिएन। सायद कोरोना भाइरसले बदनाम गरेर, त्यो कम्पनी पनि बन्द भयो रे। लास्टमा कफी मगाएँ, ब्ल्याक , उनको अनुहार जस्तो र उनी गइन्।
जहाजबाट झर्ने बितिकै फेरि कोरोनाको प्रश्नवाली फर्म भर्नुपर्ने रहेछ। साइडमै भएकी गोरी केटीसँग कलम मागेर फर्म भरिसकेपछि, म कोरोना जाँचको लागि अगाडि बढेँ।
विदेशमा एयारपोर्टमै कोरोना जाँच गरेर मात्र प्रवेश गर्न दिएको देख्दा, आफ्नो मुलुकमा भने एउटा रिपोर्ट पनि राम्रोसँग हेर्ने मान्छे भेटिन्नन्। हुन त, हाम्रा त पशुपतिनाथ छन्, बचाइ हाल्छन् नि!
रिपोर्ट नेगेटिभ आए २ हप्ता होमक्वारेन्टिन र पोजेटिभ आए सरकारले तोकेको होटलमा २ हप्ता क्वारेन्टिन बस्नुपर्ने रहेछ।
कोरोना जाँचको लागि नमूना दिएपछि , रिपोर्टको लागि कुर्नुपर्ने भयो। त्यही ठाउँमा अघि पेन दिएकी गोरी भेट भैहाली। कुरा गर्दै जाँदा, उनले पनि म पढ्ने विश्वविद्यालयबाट पढेकी रहिछन्। जापानिजहरू खुलेर नबोल्ने, धन्न एउटै विश्वविद्यालय भएपछि उनी केही खुलेर बोल्न थालिन्।
मैले उनलाई के पढेको भनेर सोध्दा, उनले जापानिज टोनको इङ्लिसमा बताइन्। उनको इङ्लिस टोन नबुझेपछि उनले आफ्ना दाँत देखाउँदै डेन्टल पढेको बताइन्।
उनले मलाई छोटो भेटमै जापान, जापानिजहरू कस्तो लाग्छ भनेर अन्तर्बार्ता लिन पनि छुटाइनन्। भन्न मन थियो, जापानिज त पूरै ‘लन्ठु’ लाग्छ भनेर। किनकि बोल्ने होइनन्, कोही भेटियो कि टाउको पूरै आधा निहुँराएर झुक्छन्। मानौं आधा ज्यान नै निहुँराएर सम्बोधन गरेको देख्दा त, जिन्दगीभरि जापान बसियो भने त, बुढेसकालमा सिधै ढाड दुख्ला भन्ने डर!
त्यतिकैमा मेरो कोरोनाको रिपोर्ट आयो, म २ हप्ता होमक्वारेन्टिन बस्नुपर्ने भयो।
धेरै बेरसम्म उनको रिपोर्ट नआएपछि म अध्यागमनबाट बाहिरिएँ, लगेज चेक गराउनु पर्ने भयो। लगेजमा मासु, फलफूल भए/नभएको सोध्दै गर्दा मलाई चाहिँ, सुकुटी लिएर आउन नपाएको पछुतो चाहिँ शान्त भयो।
त्यतिकैमा मोबाइलमा मेसेज आयो, हेर्दा ‘कोरोना बेबी’को रहिछ। हिजो तिम्रो फोन किन नलागेको , कहाँ थियौ र ?
मैले ‘आकाशमा’ भन्दै रिप्लाई गरेँ।
ऊ जङ्गिदै अर्को मेसेज गरी ‘किन, के खान आकाशमा गा'को नि’।
म त हिजो आकाशमै सुतेको नि! उसले थाहा पाइहाली म फर्केको। जाबो १ महिना बिदा त आउँदा जाँदा बितिहाल्यो, अर्को चोटि भेटम्ला भन्न नपाउँदै फेसबुकमा ब्लक गरिसकिछे।
धेरै बेरको पर्खाइपछि, ऊ आउने छाँट नदेखेपछि म घरतर्फ जाने निर्णय गरेँ। फेसबुक आइडी सोध्दा फेसबुक नचलाउने बताई, मैले उसले चलाउने सामाजिक सन्जाल ‘लाइन’नचलाउने, एक्काइसौं शताब्दीमा पनि संचारको कुनै माध्यम भएन उसँग जोडिन।
के उसको रिपोर्ट पोजिटिभ आयो त ?
अबको एक हप्तापछि बिहे फिक्स भाको छ, त्यही भएर घर फर्केको पनि भनेकी थिई, बिहे गर्न पाइहोलि कि नाइँ ?
कति यात्राहरू, कति योजनाहरू बीचमै अलपत्र हुन्छन्, जब यात्रा गर्न १ दिन अगाडि रिपोर्ट पोजिटिभ देखिन्छ, सायद यसको पीडा झोला बोकेर मुग्लान प्रवेश गर्न वा मुग्लानबाट घर फर्किन लागेकोलाई जति थाहा कसलाई होला र!