छोराले राम्रोसँग पढ्छ भनेर बाले पहिलो पटक चिमचिमे घडी किनिदिए।
बा बिदामा आएको समयमा केही किनिदिने गर्थे। मेरो बिन्तिपत्र आमाकहाँ जान्थ्यो।
आमाको सिफारिसबाट बाले सामान किनिदिन्थे। बासँग बोल्ने मेरो सामर्थ्य नै आउँदैनथ्यो।
हुन त घरमा दाइ अनि दिदीले पनि बासँग बोल्ने आँट गर्दैनथे। वर्षमा औंसीपूर्णिमा पाहुना आएझैं आउने भएर हो कि सायद बा भने पछि चार कोस टाढा थियौं हामी।
बा हामीलाई माया गर्थे।
हामीलाई अनचिनारु झैं लाग्थ्यो बा। सामान किन्न पाइने भएर होला बा समय समयमा घर आइरहे हुन्थ्यो झैं लाग्थ्यो।
बाको मायाभन्दा सामानको माया हुन्थ्यो। बा सधैं घरबाहिर हुन्थे जागिरमा। जब बा भनेर भर्खर भर्खर चिन्न लागेको हुन्थें।
अलिअलि माया लाग्न थालेको हुन्थ्यो। बा पनि आफ्नै मान्छे हुन् भन्ने आभास हुन लागेको हुन्थ्यो। तब बा हामीलाई छाडेर फर्कने समय आइसक्थ्यो। बा देशको सेवा गर्न जान्थे। हाम्रो सेवा आमाले गर्थिन्।
आमाले कक्षा चार पास भएपछि चिमचिमे घडी किनिदिने वाचा गरेकी थिइन्।
चार कक्षा पास गरेपछि चिमचिमे घडी पनि लाउन पाएँ। मलाई चिमचिमे घडी लाउने साह्रै रहर बढेको थियो। जब सुमनले चिमचिमे घडी लाएर स्कुलमा आएको थियो। उसको बाले मेलाबाट किनिदिएको रे।
सुमन ठूलो व्यापारीको छोरा थियो। उसको बाले चिमचिमे घडी किन्नु कुनै ठूलो कुरो थिएन।
हामीलाई त अवसर अनि पर्व कुर्नुपर्थ्यो कुनै सामान किन्न।
एउटा सिपाहीको जागिरले छ जनाको परिवार धान्नुपर्थ्यो।
कहिलेकाहीँ केही कुराको माग राख्यो भने आमा यस्तै भन्थिन्।
तर मेरो बाल मस्तिष्कले समेट्न सक्दैनथ्यो कि सुमनले किन्न सक्ने सबै कुरा मैले किन्न सक्दिनँ भनेर। त्यसैले होला सायद आमाले मलाई खुसी राख्नै भए पनि अवसर कुराउँथिन्।
कहिले परीक्षाको नतिजा त कहिले दसैं तिहार। सायद आमाले छोरालाई दुखी बनाउन चाहँदैनथिइन् र चाहेर पनि सबै इच्छा पूरा गर्न पनि सक्दैनथिइन्। त्यसैले चाडपर्वहरू विकल्पहरू बनेर आउथे मेरा रहरहरू पूरा गर्न।
बिचरा आमाको मन, सक्दो गर्थिन् आफ्नो तर्फबाट।
मेरो लागि अर्को बम्पर अफर आयो। आमाले कक्षा आठको जिल्ला स्तरीय परीक्षामा फर्स्ट डिभिजनमा पास भए साइकल र सेकेन्ड डिभिजनमा पास भए टेवल घडी किनिदिने वाचा गरिन्।
साइकल चढ्ने सपना बोकेर पढ्नमा विशेष मेहनत गरेँ।
परीक्षामा पास भएर राम्रो नम्बर लिनुभन्दा नि नयाँ साइकल किनेर रहर पूरा गर्नुथियो।
घरमा पनि बिस्तारै काम थोरै पढाइ धेरै गर्न थालेँ। घरमा दाइ अनि दिदी पनि मेरो त्यो जोस जाँगर देखेर छक्कै पर्थे।
कहिलेकाहीँ दाइ र दिदी जिस्काउँथे,कान्छा साइकल हामीलाई पनि चलाउनदिनु है भनेर।
उनीहरूले यसो भन्दा मलाई नपत्याएको हो कि साँच्चै भन्दैछन् गाह्रो हुन्थ्यो ठम्याउन।
मेरो ऊर्जा बढेको थियो यसमा दुई मत नै थिएन। म योभन्दा अगाडि यस्तो मेहनत नगर्ने मान्छे थिएँ।
पढाइमा कमजोर पनि थिइनँ र एक्सिलेन्ट पनि थिइनँ। अक्सर स्कुलमा कुटाइ नखानेमा म पनि पर्थेँ।
कक्षा सातमा पढ्ने बेला सात वटा महादेशको नाम भन्न नसकेर सामाजिक शिक्षकले रामधुलाइ पिटाइ मैले नि भेटेको थिएँ।
बढो गज्जबको कुरा प्रबिन बस्नेत भन्ने साथीबाहेक अरू सबैले पिटाइ खाएका थिए। नरुने त कोही थिएनन्। आधा केटीहरू त डाकै छोडेर रोएका थिए।
आँसु त हाम्रो नि झर्यो। कुनै जमाना थियो पिटाइपूर्ण सिकाइमा विश्वास गर्ने।
कुरा कक्षा आठको थियो। एकातिर कुरा जिल्ला स्तरीय परीक्षाको थियो भने अर्कोतिर कुरा साइकलको थियो। त्यो पनि फर्स्ट डिभिजनमा पास गर्नुपर्ने। त्यति सजिलो थिएन।
मेरो लागि ठूलो चुनौती थियो। सायद फुटबल खेलाडीलाई आफ्नो म्याचको माया हुन्छ। पर्वत आरोहीलाई ट्रेकिङको माया हुन्छ। कवि र गजलकारलाई शब्दको माया हुन्छ। मलाई साइकलको माया थियो जुन हातै परेको थिएन। कहिलेकाहीँ सुमनसँग साइकल सिक्न गएको पनि देख्न थाले सपनामा। मलाई साइकलको 'भूत' चढेछ।
फुटबल भनेपछि खाना पनि बिर्सने म। फुटबल पनि खेल्न बिस्तारै कम गर्दै थिएँ। स्कुलबाट आएपछि गाउँका सबै साथीहरू फुटबल खेल्न जाने गर्थ्यौ।
सबैले पैसा उठाएर किनेको बल हप्ता नहुँदै पन्चट हुन्थ्यो। पन्चट टाल्न घोराही बजार पुग्नुपर्थ्यो।
‘अहिले मेरो साइकल भएको भए सरर घोराही पुगेर आइहाल्थें’, अन्यासै मन यस्तै सोचेर फुर्किन्थ्यो।
सुमनले पनि पढ्न छोड्यो। कहिलेकाहीँ स्कुल जाने आउने बेला साइकल चलाउने मौका त्यो पनि गुम्यो।
स्कुलबाट छुट्टी भएर घर पुग्ने प्रतिस्पर्धा हुन्थ्यो हामी दाइभाइ अनि दिदीको। घर जो पहिला पुग्यो उसैले बासी भात खाइहाल्ने ढिलो आउने रित्तै।
नास्ता बनाउन कसैलाई जाँगर नचल्ने। बिचरा आमा सधैं कामधन्दामा व्यस्त। हामी आउँदा आमा कहिले ग्वाला त कहिले खेतमा गाईभैंसीलाई घाँस काट्न गएकी हुन्थिन्।
कहिलेकाहीँ यस्तो सोच्थ्यो मेरो बाल मस्तिष्क,साइकल भएको भए सबैभन्दा छिटो घर आएर बासी भात मैले खान पाउँथेँ।
कहिलेकाहीँ त बासी भात खानैका लागि पनि अन्तिम घण्टीमा सर नआएको भए हेड सरसँग कुनै बहाना गरेर घर आइन्थ्यो।
बढो गजब यो हुन्थ्यो कि घरमा बासी भात धेरै भएको दिन कसैलाई भोक लाग्दैन्थ्यो हामीलाई। जुन दिन थोरै हुन्थ्यो सबैलाई भोक लागेको हुन्थ्यो।
जिल्ला स्तरीय परीक्षाको टाइम टेबल पनि आयो। अब साथीहरूसँगको भेटघाट पनि अन्तिम हुँदै थियो। मैले पढ्ने स्कुल कक्षाआठ सम्ममात्र थियो।
आठ पास भएपछि माध्यमिक विद्यालय पढ्नको लागि आफ्नो आफ्नो तरिकाले छुटिने समय आउँदै थियो।
यति लामो समयसम्म सँगै पढेको साथीहरूको माया आफ्नै दाइभाइ अनि दिदिबहिनीको जस्तो लाग्थ्यो। तर छुट्टिनु त छँदै थियो।
सबै छुट्टिनु अघि अन्तिम वनभोज कार्यक्रम राख्नुभयो हाम्रो क्लास टिचरले। सबैले रु ५० उठाउने। आफूले खाने भाँडाकुँडा घरबाटै लग्नुपर्ने थियो।
वनभोज मिति र स्थान तय भयो।
माघ १० गते शनिबार। छहरा,मसिना ठाउँ।
सबैजना स्कुलमै भेला भएर वनभोज गयौं। वनभोज साह्रै रमाइलो भयो। अब धेरै साथीहरूसँग छुट्टिनु पर्ने नमज्जा सबैजना स्कुलमै भेला भएर वनभोज गयौं। वनभोज साह्रै रमाइलो भयो। अब धेरै साथीहरूसँग छुट्टिनपर्ने नमज्जा पनि थियो एकातिर। सम्झनाको लागि धेरै फोटाहरु पनि खिच्यौं। साँझपख स्कुलमै आएर सबैजना आफ्नो आफ्नो घरतिर लाग्यौं।
परीक्षाको मिति पनि आयो। परीक्षा राम्रै भयो। जिल्ला स्तरीय परीक्षा कपि चेक बाहिर हुन्छ रे ! मनमा अलिअलि डर पनि थियो। क्लासमा बेलाबेलामा राम्रोसँग पढ्नु कपि बाहिर चेक हुन्छ भनेर भन्नुहुन्थ्यो सर।
आफ्नो तर्फबाट राम्रो गरेको जस्तो लाग्थ्यो। घरमा आएर प्रश्न पत्र हेरेर आफूले हल गरेको जोड्ने बेला सबै विषय फर्स्ट डिभिजनमा पास हुन्छु झैं लाग्थ्यो। परीक्षा सकियो। एक महिनापछि रिजल्ट आउने जानकारी गराउनुभयो सरले।
परीक्षा सकिएको दिन ठूलो युद्ध जितेको सिपाहीझैं लाग्यो। सगरमाथा चढेको आरोहीझैं लाग्यो। वर्ल्डकप जितेको खेलाडीझैं लाग्यो। पिंजडाबाट मुक्त मैना झैं। कता उडौं, कता उडौंझैं लाग्यो। जे जस्तो भए पनि जानु त उही घर थियो।
मन व्यग्र थियो रिजल्टको प्रतीक्षामा।
कहिले त्यो एक महिना आउला भनेर। मलाई त्यो एक महिना अरू महिनाभन्दा बढो लामो लाग्दैथियो। म सपना देख्दै थिएँ। साइकल आउने हो कि घडी।
कतै दुबै पो नआउने हो। परीक्षा न हो। जे नि हुन सक्छ। मनमा यस्तै कौतुहलतापूर्ण बन्यो त्यो महिना।
कयौं रात सपना देख्थें। कयौं दिनमै पनि कल्पिन्थेँ साइकल सम्झेर। कसैले साइकल चलाएको देखेपछि म आफ्नो सपनाको साइकलमा पुगिहाल्थेँ। सपनामै कति पटक साइकलबाट लड्थेँ। रिजल्टको दिन पनि आयो।
नुहाउन अल्छि मान्ने म बिहानै नुहाएँ त्यो दिन।
कसैले नदेख्ने गरी दुबो टिपेर सर्टको पकेटमा राखेँ। स्कुल जाने बेलामा आमालाई पनि ढोगेँ। आमा पनि अचम्म परिन्।
टीका लगाएर पैसा पाएपछि मात्र ढोग्ने मान्छे साह्रै ज्ञानी भएछ भनेर।
‘ल ल जा फर्स्ट भएर आएस्’,आमाले भनिन्।
मलाई त्यो नै आशीर्वाद झैं लाग्यो। थोरै भात खाएँ । भोक थियो तर खानै रुचेन। सायद खानाको भन्दा साइकलको भोक धेरै भएर होला। म स्कुल कुदेँ। स्कुल पुग्दा भीड थियो।
धेरैले रिजल्ट हेरिसकेका रहेछन्।
‘ओइ खिमु त पास भएछस् फर्स्ट डिभिजनमा’,मोहनले भन्यो।
‘होर!म हौसिएँ तर आफ्नै आँखाले नहेरी मानेन मनले। भीडमा म पनि कोचिएँ। साँच्चै रहेछ। पास भएको रहेछु फर्स्ट डिभिजनमा। हर्षको सिमा रहेन। कुदेँ घरमा।
सबैभन्दा पहिले सुनाउनु थियो आमालाई। घरमा पुग्दा आमा घाँस काट्न गएकी रहेछिन्। खेतमै पुगेँ। आफू पास त्यो पनि फर्स्ट डिभिजन भएको खबर सुनाएँ।
आमा पनि साह्रै खुसी भइन् ।
‘ल अब तेरो बालाई खबर पठाउँछु। घर आउन भन्छु कि साइकल किन्ने पैसा पठाउन भन्छु’,आमाले थपिन्।
आमाको घाँस भारी मैले नै बोकेँ। आमा छोरा घर आयौं। म बा र साइकलको दुबैको प्रतीक्षा गरेर बसेँ।