आशा छ
त्योभन्दा धेरै असन्तुष्टी छ।
तर पनि,
अभिव्यक्तिका लागि आँत छैन।
मनतातो जिन्दगी जिएको म बबुरो
म कसरी नागरिक?
दल नामका पिठाधीशहरुको पूजा गर्छु
श्रद्धाले होइन
लोभले,
आशाले,
स्वार्थले,
मनभित्र रुवाबासी छ।
तर पनि,
प्रतिरोध र आलोचना गर्ने आँट छैन।
म आशे, पिलन्धरे, विवेकशून्य निरीह प्राणी।
म कसरी नागरिक?
म फलानो पाटीको रिजर्व मान्छे
यो ठिक कि ऊ ठिक भन्नै परेन।
केवल मेरै मात्र ठिक।
मेरो आलोचनात्मक चेतपाटी सदस्यतासँगै बन्धकी राखेको छु।
म त जिन्दावाद, मुर्दावादको लस्कर हुँ।
म त केवल फास फेर्ने डमी हुँ।
न मेरो आफ्नै आवाज छ,
न मेरो आफ्नै विवेक छ,
न मेरो आफ्नै भावना छ,
म कसरी नागरिक?