आफू तारे होटलमा चौरासी व्यञ्जन र रंगिन रात बनाउँछन्
हामीलाई लेलिनको ताप्केमा सिंगापुरको भात देखाउँछन्।
रारालाई पर्दाले घपक्क ढाक्छन्, प्रसान्त सागरमा जेट बताउँछन्
चाइनाको ऐना देखाउँछन् र देशलाई रुवान्डा बनाउँछन्।
माओवादको ताप्के बसाल्छन्, चीनको चिचि पकाउँछन्
आफू भष्टाचार गर्छन्, जनतालाई हावामा कर लागाउँछन्।
कहिले ल्याइदिन्छौ घरमा ग्याँसका लाइन भनी फकाउँछन्
अब हेर्नोस् न पुटिनको ताप्केमा रसियन खिर पकाउँछन्।
हलि मुहाली उनकै छ, आफ्नो मालामाल तग्दिर बनाउँछन्
हामीलाई लिस्नो सम्झिन्छन्, उनकै ठाडो शिर बनाउँछन्।
लिक्वानयुको कथा सुनाउँछन्, हामीलाई ताली बजाउन लगाउँछन्
सबै काँ काँ गर्दै कराउँछन्, कौवा कोही हैन सबै परेवा बताउँछन्।
गाउँ गाउँमा सिंहदरबार बनाउँछन्, हैन आफ्नै घरबार बनाउँछन्
अब के गर्ने खोर खोरमा कुखुरा चोर्न घोर्ले स्याल पठाउँछन्।
जनताको आधा शरीर नांगै छ, भ्रष्टले सम्पत्तिको खात बनाउँछन्
देशको ढुकुटी टाकटुक हिसाब गर्छन्, पन्ध्रदुना सात बनाउँछन्।
रक्षक नै भक्षक छन्, मदनको जवजलाई खोलामा बगाउँछन्
विपिको समाजवाद भन्छन्, मान्छे इँटाभट्टामा जिउँदै जलाउँछन्।
हामीलाई अफ्रिकी नेलसन मण्डेलाको जीवन काहानी सुनाउँछन्
आफू लेण्डुपदोर्जेको सिको गर्छन्, अब देशै उतै बिलिन गराउँछन्
सियो चोर्नेलाई अभियुक्त बनाउँछन्, सुन राखेर पितल देखाउँछन्
हामी सुकुम्बासी हो केही छैन भन्छन्, बालुवाटारमा जग्गा लेखाउँछन्।
जनतालाई खोक्रो आदर्श देखाउँछन् आफ्नो स्वार्थ लुकाउँछन्
आकाशबाट पानी परे, हामीले पारेको भनी राजनीतिको रोटी सेकाउँछन्।
बलभद्र भिमसेनको सालिक ढालेर गान्धीको जन्मदिन मनाउँछन्
राजा फालियो भन्छन्, गाउँ गाउँमा भुरे राजाले शासन चलाउँछन्।
जनतालाई सिटामोल छैन, उनीलाई खोकी लागे सिंगापुर जान्छन्
हामीलाई सुरुङमुनिबाट रेल ल्याउछौँ भनी मख्ख बनाउँछन्।
मलकाण्ड सामसुम बनाउँछन्, चुच्चे नक्सा थामथुम बनाउँछन्
ठूलाले सानालाइ संरक्षण गरेपछि सत्तरी करोड चामचुम बनाउँछन्।
उद्धमशील समाज बनाउछु भन्छन्, युवा जति खाडी पठाउँछन्
दैनिक फर्केर आउने रातो बाकस गन्छन् र कर उठाउँछन्।