पढ्यौ होला सयौँ उपन्यास
हजारौँ कविता अनि
लाखौँ प्रेरक भनाइहरु
के भेट्यौ त तिमीले
तिम्रो जीवनदर्शन?
हेर्यौ होला सयौँ
चलदृश्य
सुन्यौ होला हजारौँ
संगीत लक्ष्यका
के
भेट्यौ त तिमीले
तिम्रो जीवनको लक्ष्य?
अहँ!
पक्कै भेटेनौ होला
किनकि
सायद तिमीले
कहिले कोशिश
गरेनौ तिम्रो आदर्श
तिम्रो प्रेरणा
पितालाई पढ्ने
पढ्ने नै हो भने
त्यो
महान् पुरुषलाई पढ
जो सन्तानका
खुसीका लागि
हरक्षण हारिरहन्छ
पढ्न नै चाहान्छौ भने
पिताका फुटेका कुर्कुचा
फाटेको जुत्ता
गलेका गोडालाई पढ
जो तिम्रा लागि
सयौँ गोरेटो
पार गर्दै गर्दा
फाटेका छन्
गलेका छन्
पढ्न नै इच्छुक छौ भने
पिताको चाउरिएको
अनुहारलाई पढ
जहाँ दौडिएका छन्
नैराश्यताका बोझहरु
र पनि
पिता तिमीलाई
हरक्षण खुसी देखाउँछन्
हेर्न नै चाहन्छौ भने
पिताको खुइलिएको
तालु हेर
जो
तिम्रा लागि सयौँ बोझहरु
थाम्दा थाम्दै खुइलिएको छ
हेर्न नै चाहन्छौ भने पिताका
फुटेका हातहरु हेर
जो तिम्रा लागि खिइयाउँदा
खिइयाउँदै फुटेका छन्
सुन्नु नै मन छ भने पिताको
अन्तरमनको द्वन्द सुन
जहाँ छुपेका छन्
लाखौँ संघर्षका कथा
भेट्नु नै मन छ भने
जीवनको लक्ष्य
बुझ्नु नै मन छ भने
जीवनको दर्शन
त्यो महानग्रन्थ
त्यो आर्दश
पितालाई पढ
जो तिमीसँगै
सदा खुला किताब सरि छ।